सबै मेयर,उपमेयर यसैगरी अघि सर्लान् ?

सबै मेयर,उपमेयर यसैगरी अघि सर्लान् ?

-नरेश के.सी.

कोरोना महामारीमा स्थानीय जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै रुपन्देहीका दुई नगरपालिकाले उदाहरणीय कार्य थालेका छन् ।

जिल्लाको सिध्दार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाले कार्यालय प्रमुख र उपप्रमुख चढ्ने सवारी साधनलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालेका हुन् ।

सिध्दार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीले प्रयोग गर्ने लु १ झ ५२१ नम्बरको कार यतिबेला नगरका बिरामी बोक्न दौडिरहेको छ । प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले भन्नुभयो, “नगर प्रमुख चढ्ने सवारी साधनलाई कोरोना संक्रमितको सेवाकोलागि तयार गरेर,बिरामी बोक्न पठाएका छौं । ”

मरासिनीले भन्नुभयो,“घरमै बसेकामध्ये कसैलाई स्वास्थ्य समस्या भयो,अफ्ठयारो महसुस भएमा तत्काल खबर गरे गाडी तत्काल पठाउँछौं । बिरामीको स्वास्थ्य अवस्था हेरेर आइसोलेशन वा अस्पताल लैजाने काम हुनेछ । ”

सुविधासम्पन्न सहरको रुपमा परिचित भैरहवामा दैनिक पचासौं एम्बुलेन्स सञ्चालन हुने भएता पनि चाहिएको समयमा उपलब्ध नभएपछि नगरले आवश्यक्तालाई मध्यनजर गर्दै उक्त कार्यको थालनी गरेको हो ।

नगरमा दुई दिनअगाडि यस्तै घटना घट्यो । ९ नम्बर वडाध्यक्ष शेषकान्त भन्डारीलाई श्वास प्रश्वासमा समस्या भयो । परिवारले अस्पतालसम्म जानकोलागि धेरै ठाउँमा सम्पर्क गरे तर गाडी पाईएन । दर्जनौँ एम्बुलेन्स चालकलाई सम्पर्क गरे कसैले आउन मानेनन् । केहि सीप नलागेपछि नगर प्रमुख अधिकारी आफै वडाध्यक्षलाई लिन उनको घर पुगे । र,वडाध्यक्ष भन्डारीलाई भीम अस्पताल पुराए । वडाध्यक्ष भन्डारीको भीम अस्पतालको कोभिड वार्डमा उपचार भईरहेको छ ।

वडा अध्यक्षले समेत एम्बुलेन्स सेवा नपाएपछि नगर प्रमुख अधिकारीले सर्वसाधारणले झनै सास्ती ब्यहोरेको महसुस गरी तत्काल आफू चढ्ने गाडीलाई कोभिड बिरामी बोक्नेगरी प्रयोग गर्ने योजना बनाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएका थिए । सोहि योजनाअनुसार हिजो बिहीबारदेखि नगर प्रमुखको गाडी एम्बुलेन्सको रुपमा प्रयोग हुन थालेको हो ।

नगरपालिकाले गाडीको चालककोलागि खाईपाई आएको सेवा सुविधामा अतिरिक्त विशेष व्यवस्था पनि गरेको छ । प्रमुख प्रशासकीय अधिकृत मरासिनीले भन्नुभयो, “बस्ने व्यवस्था अलग गरेका छौं । हरेक दिन स्वास्थ्य चेकजाच गर्ने ,स्वास्थ्य मापदन्डअनुसार स्वास्थ्य सामग्री उपलब्ध गराउने पनि व्यवस्था गरेका छौं । हरेक पन्ध्र दिनमा सवारी चालकको पूर्ण स्वास्थ्य अवस्था चेक जाँच गर्ने तयारी पनि गरेका छौं । ”

सिध्दार्थनगरमा दैनिक ७०(७५ जना कोरोना संक्रमित थपिइरहेका छन् । बिहीबारसम्म ८ सय बढी सक्रिय संक्रमित भइसकेका छन् । नगरले सिध्दार्थ बसपार्कमा चिकित्सकसहितको आइसोलेशन तयार गरिसकेको छ ।

यसैगरी बिहीबारदेखि नै तिलोत्तमा नगरले मेयर,उपमेयर चढ्ने गाडीलाई नगरभित्रका कोभिड बिरामी बोक्न प्रयोगमा ल्याउने घोषणा गरेको छ । मेयर बासुदेव घिमिरेले प्रयोग गर्दै आएको लु १ झ ३६० र उपमेयर जागेश्वरी चौधरीले प्रयोग गर्दै आएको लु १ झ ३२६ नम्बरको स्कोरपियो कोभिड संक्रमित बिरामी बोक्न प्रयोग गर्ने निर्ण्य भएको हो ।

तिलोत्तमा नगरका प्रवक्ता सुरेन्द्र श्रीले भन्नुभयो, “नगरका कोहि पनि बासिन्दा सवारी साधन नपाएर अस्पताल जाने अवसरबाट बञ्चित नहोऊन् भन्ने उद्धेश्यले हामीले उक्त निर्णय गरेका हौं । ”

यसै हप्ता नवलपरासीको देवचुली नगरपालिकाको दलदलेमा एक जना कोभिड संक्रमितलाई अस्पताल लैजाने एम्बुलेन्स तथा सवारी साधन नपाउँदा ट्याक्टरमा लग्दै गरेको भिडियो सामाजिक सञ्जाल र मिडियामा भाइरल भएको थियो । उक्त घटनापछि त्यहाँका स्थानीयले उक्त पालिकाका प्रमुख र उपप्रमुख चढ्ने सवारी साधन जनताको उपयोगमा नआएको भन्दै चर्को विरोध समेत गरेका थिए । देवचुलीमा झैं देशैभर विभिन्न संघसंस्थाले सन्चालन गर्दै आएका एम्बुलेन्सहरुले कोभिड संक्रमित बिरामी बोक्न आनाकानी गर्न थालेपछि रुपन्देहीका दुई नगरपालिकाले सारेको उक्त योजना प्रभावकारी हुने देखिएको छ ।

टिप्पणीहरू