ओली सरकारलाई महन्थको मत नचाहिने

ओली सरकारलाई महन्थको मत नचाहिने

प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई विश्वासको मत प्रदान गर्न आग्रह गर्दै प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुग्नुभयो । तर आफ्नै दलभित्रका सांसदको टुंगो नभएको बेला आफ्नो सरकारलाई राम्रैसँग सहयोग गर्दै आएको जसपा अध्यक्ष महन्थ ठाकुरसँग पछिल्लोपटक मुखै फोरेर सहयोग नमागेको रहस्योद्घाटन भएको छ। ।

त्यसो त आफ्नै पार्टीको संसदीय दलमा आफ्नो पक्षमा कति जना सांसद पुर्याउन सकिन्छ भन्नेबारे अहिलेसम्म विस्तृत रुपमा कुरा नभएको जसपा स्रोतले बताएको छ । अति निकटस्थहरूसँग ठाकुुरले प्रधानमन्त्रीलाई विश्वासको मत दिनै नपर्ने अवस्था आउन लागेकोले निश्चिन्त भएर बस्न आग्रह गर्नुभएको छ ।

एकातिर प्रधानमन्त्रीले विश्वासको मतनिम्ति ठाकुरको सहयोग नमाग्नुभएको र अर्कोतिर ठाकुरले विश्वासको मत दिनै नपर्ने भनेर ढुक्कसँग व्यक्त गर्नुभएको धारणाले उहाँहरूबीच कस्तो सहमति र संवाद भएको थियो भन्ने आँकलन गर्न सकिन्छ ।

प्रधानमन्त्री ओली र उहाँका अति निकटस्थहरू भने गत साता लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अपनाउनुभएको रोडम्यापलाई अवलम्बन गर्ने पक्षमा भएको बताइन्छ । राजनीति आफू अनुकूल नभएमा पोखरेलले झैँ पहिले राजीनामा दिने त्यसपछि तत्काल ठूलो दलको नाताले पुनः प्रधानमन्त्री हुने या बिश्वासको मत फेल भएमा बजेट र नीति तथा कार्यक्रम ल्याउने,नयाँ सरकार बन्न एक महिना लाग्छ,त्यो बन्न नदिएर ठूलो दलको हैसियतले चुनाव हान्ने योजना पहिलो विकल्पमा राखिएको छ ।

तर,पटक पटक प्रधानमन्त्रीसँग एक्लै र सामूहिक भेटघाट गर्दै आउनुभएका ठाकुरले जसपाका पूर्व राजपा पक्षधरहरुसँग देउवा ओलीसँग लपक्कै मिलेको निश्कर्ष सुनाउनुभएको बताइन्छ । ठाकुरको निश्कर्ष छ ‘उहाँहरूबीच अर्ली चुनावको सहमति भएको गन्ध आउँछ ।’
अहिलेको राजनीतिमा प्रमुख भूमिका जसपाको नभएर ओली र देउवाको रहेको पनि मधेशवादी नेताहरूले बताएका छन् । उनीहरूले भने ‘अरु जति उफ्रिए पनि प्रधानमन्त्रीलाई ठूलै ठाउँको आशिर्वाद छ ।’

हामी विश्वासको मत दिँदैनौंू जसपाका ठाकुर निकट एक जना सांसदले बताए । अध्यक्षको भनाई उद्धृत गर्दै भने ‘माधव नेपालहरूको मत पाउने अवस्थामा मात्रै प्रधानमन्त्रीले बहुमतको सरकार चलाउन हाम्रो मत माग्ने हो । अन्यथा,ओलीलाई हिजोसम्म पनि माधव नेपालहरू पार्टीबाट बाहिरिउन् भन्ने नै छ ।’

प्रधानमन्त्रीसँग पटक पटकको भेटले जसपा नेताहरू उहाँ अब एकै पटक संविधानको धारा ७६ ९३० अन्तर्गत सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बन्ने सुरमा भएको देखाउँछ । त्यसपछि आवश्यकताअनुसार धारा परिवर्तन गर्दै अघि बढ्ने चाहना हो । अन्तत्वगत्वा उहाँ निर्वाचनमा नै जाने योजनामा रहेको हुनुहुन्छ ।

ती नेताले भने ‘विश्वासको मत सिरियस्ली नमागेको हुँदा हामीहरू पनि दिने पक्षमा छैनौं । आफ्नै दलको अवस्थाबारे प्रष्ट पार्दै उनी भन्छन् ‘जसपाभित्र जति झगडा देखिए पनि उहाँ दल विभाजन गरेर ओलीलाई जोगाउन जाने कुनै सम्भावना छैन । आफ्ना महत्वपूर्ण माग पूरा गराउन बेलाबखत चोचोमोचो मिलाउनुलाई अन्यथा भन्न मिल्दैन ।’

टिप्पणीहरू