बालिका करणी गर्ने किशोर पक्राउ

बालिका करणी गर्ने किशोर पक्राउ

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर बेलका नगरपालिका–३,विराज टोलका १८ वर्षीय किशोर हिजो दिउँसो पक्राउ परेका हुन् ।

किशोरले बालिकालाई वैशाख १६ गते चिचि र पापाकाे लाेभ देखाएर जबरजस्ती करणी गरेको खुल्न आएको छ । प्रहरीका अनुसार करणीको खबर प्राप्त हुनासाथ किशोरलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेको हो ।

उता अवैध लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट ७ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई बुधबार साँझ प्रहरीले समातेको हो ।

पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका–८ बस्ने ३५ वर्षीय दिपक वली र सोही ठाउँका ३४ वर्षीय पदम साह रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले चेक जाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरेको बताइएको छ ।

यसवीच छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका–४ स्थित सडकमा ना ५त ६००९ नम्बरको ट्याक्टरले बिहान ठक्कर दिँदा सोही नगरपालिका–१ बस्ने ६० वर्षीया मजबुन खातुनको मृत्यु भएको प्रहरीले बताएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको शिवदर्शन अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सोही ट्याक्टरको ठक्करबाट घाइते भएका स्थानीय शम्भु साहका ११ वर्षीय छोरा मुकेश साहको शिवदर्शन अस्पतालमा उपचार भइरहेकोे छ ।

यस्तै,बझाङको जयपृथ्बी नगरपालिका–१० स्थित सडकमा से २त २५९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार कैलाली चुरे गाउँपालिका–६ का १८ वर्षीय पुरन सांउदको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै पाल्पाको रम्भा गाउँपालिका–३, पिपलडाँडास्थित सडकमा बुधबार साँझ लु ३ त ६८९९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खस्दा ट्याक्टरका सह–चालक बग्नासकाली गाउँपालिका–६, दर्पुक बस्ने २४ वर्षीय जीवन न्यौपानेको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार रम्भा गाउँपालिका–३ बस्ने ४० वर्षीय हरि बस्याललाई उपचारको लागि तानसेन लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार तीनैजना ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको र थप अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणीहरू