मेयर,उपमेयरका सवारी अब एम्बुलेन्स

मेयर,उपमेयरका सवारी अब एम्बुलेन्स

-ऋषि भट्टराई

कोभिड १९ का बिरामीहरुको चाप बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर बासुदेव घिमिरे र उपमेयर जागेश्वरी चौधरी चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ ।

नगरपालिकाभित्रै दिन प्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकोले मेयर र उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिएको हो ।

नगरवासीहरु उपचारका लागि अस्पताल नपुग्ने अवस्था भएपछि हामी गाडी चढेर के गर्ने ? त्यसैले हामी चढ्ने सवारी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निधो गर्यौँ-मेयर बासुदेव घिमिरेले भने । घिमिरेले लु १ झ ३६० नंं र उपप्रमुख जागेश्वरीदेवी चौधरीले ३२६ नं. को स्कोर्पियो गाडी प्रयोग गर्दै आएका थिए ।

यी दुवै गाडी आजबाट तिलोत्तमाका सर्वसाधारणको उपचारका लागि प्रयोग हुने छन् । गाडीमा सिट र अक्सिजन सिलिण्डर व्यवस्थापन भइरहेको र आजदेखि नै एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याइने प्रमुख घिमिरेले जानकारी दिए ।

दैनिक एक सयदेखि २ सय सम्म संक्रमित थपिदै गइरहेको तिलोत्तमा नगरपालिका रुपन्देहीको बुटवल उपमहानगरपछि सबैभन्दा धेरै संक्रमित भेटिएको पालिका हो ।

टिप्पणीहरू