बूढानीलकण्ठ यात्राका अनेक अर्थ

बूढानीलकण्ठ यात्राका अनेक अर्थ

बालुवाटारबाटै देश र पार्टीको सत्ता चलाइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज अचानक प्रमुख प्रतिपक्षी दलका नेताको दैलोमा पुग्नुभएको छ ।

प्रधानमन्त्रीको तीन वर्षे अवधिमा मुस्किलले दर्जन पटक पार्टी कार्यालय र पछिल्लो बर्ष जम्मा ४ पटक मात्र सिंहदरबार जानुभएका ओली आज एकाएक काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानिलकण्ठ पुग्नुभएको हो । प्रधानमन्त्रीको बूढानिलकण्ठ यात्रा बिश्वासको मत माग्नलाई भएको सार्वजनिक जानकारीमा आएको छ ।आगामी सोमबार संसदमा विश्वासको मत लिने तयारीमा रहनुभएका प्रधानमन्त्री ओलीले सरकारविरुद्ध गठवन्धनको नेतृत्व गरेको दलको नेतालाई भेट्न जानु कूटनीति नै हो । देउवा, प्रचण्ड, उपेन्द्र, माधवबीच निरन्तर भेटघाट भैरहेका बेला देउवाको नाडी छाम्नमा पनि आजको भेट केन्द्रित रहेको प्रष्ट भैसकेको छ ।

पार्टीकै एउटा खेमा विपक्षी गठवन्धनसँग लगातार छलफलमा रहनु,माओवादी केन्द्रले समर्थन फिर्ता लिनु र जसपाको बहुमत पक्ष सरकारविरुद्ध लाग्नुले प्रधानमन्त्री ओलीले नयाँ रणनीति खोज्दै गरेको हुनसक्ने कतिपयको बुझाइ छ ।प्रचण्ड र माधव नेपाललाई कमजोर बनाउने रणनीतिअन्तर्गत देउवासँग सम्बन्ध सुधारको प्रयास गर्न लागेको पनि कतिपयको बुझाइ थियो । अन्तिमसम्म आफ्नै लागि प्रयास गर्ने र सम्भव नहुने अवस्थामा काँग्रेसलाई समर्थन गर्ने गरी अर्को चाल चाल्ने संकेतका रुपमा पनि विपक्षीहरुले बुझेका थिए ।

‘विगत तीन वर्षको उहाँको कार्यशैली हेर्दा एकदमै अप्ठेरो नपरी त्यसरी जाने मान्छे हैन । सम्भवत: उहाँले माधव नेपाल पक्ष र जसपाबाट हार मानेको हुनपर्छ’, विपक्षी गठवन्धनका एक नेताले भने ।प्रधानमन्त्री ओलीले आगामी २७ गते संसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । काँग्रेस, माओवादी केन्द्र,एमालेको झलनाथ-माधव नेपाल पक्ष र जसपाको बहुमत खेमा ओली विरुद्ध छन् । यस्तो समीकरणमा ओलीलाई विश्वासको मत आर्जन गर्न चुनौती छ ।

ओलीलाई कुनैपनि हालतमा सत्ताच्यूत गर्ने रणनीतिका साथ देउवाकै नेतृत्वको विपक्षी गठवन्धनले छलफल घनिभूत बनाएका बेला आजको  बूढानिलकण्ठ भेटवार्तालाई चासोका साथ हेरिएको छ ।

टिप्पणीहरू