घाम उदाउने ठाउँको राजनैतिक कथा हो यो

घाम उदाउने ठाउँको राजनैतिक कथा हो यो

-कमल भट्टराई

नेकपा (एमाले) ताप्लेजुङको पहिलो पार्टी हो । गत चुनावमा प्रतिनिधिसभाको १ स्थानमा योगेश भट्टराई विजयी बनेका । प्रदेश सभातर्फ १ नम्बरमा एमालेका बलबहादुर साम्सोहाङ र दुई नम्बरमा माओवादीका टंक आङबुहाङले जितेका ।

एक नम्बर एमाले र नेपाली काँग्रेसको प्रतिस्पर्धात्मक क्षेत्र र दुई नम्बर एमालेको पकडका ठाउँ हुन् । २०४६ सालपछिका हरेक चुनावमा २ नम्बर क्षेत्र एमालेले जितेको छ । यसपटक माओवादीले जित्नमा पनि एमालेकै देन देखिन्छ किनकि एमाले र माओवादीको संयुक्त मोर्चा थियो ।

ताप्लेजुङका जम्मा ९ वटा स्थानीय तहमध्ये चार वटा काँग्रेसले र पाँच वटा एमालेले एक्लैले जितेको हो जबकि एमाले बाहेकका सम्पूर्ण शक्ति एकातिर थिए ।

यस्तो अवस्थामा पनि एमाले एक्लै फुङलिङ नगरपालिका, फक्ताङ्लुङ गाउँपालिका, मैवाखोला गाउँपालिका, मिक्वाखोला गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिकामा विजयी बनेको थियो । जिल्ला समन्वय समितिमा पनि एमालेको एकछत्र छ ।

स्थानीय तह,प्रदेश र केन्द्रमा समेत सत्ताको बागडोर सम्हाल्न सफल भएको एमालेसंग जनताका ईच्छा र चाहनाहरु धेरै थिए । बाटोघाटो, सडक,पुलपुलेसा,शिक्षा,स्वास्थ्य, कृषि,व्यापार आदिमा सुधारका चाहना र आशा थिए,धेरैको रोजगारीका अवसरको सपना थियो,दिनहरु बित्दै गए, सत्तासिनहरु गाडी र भत्ताको मोहमा डुब्दै गए,चुनावको दुई वर्षपछि टोल टोलका मतदातामा नैराश्यता जाग्न थाल्यो ।

यतिसम्म कि २०७६ को अन्त्यतिरदेखि त पार्टी परिवर्तन गरेर अन्यत्र बसाई सर्ने क्रम नै शुरु भयो,यही अवस्थामा कोभिड देखियो,लकडाउनको (२०७७) शुरुका दुई महिना जति दलहरु पार्टी अदलबदल चलिरहे ।

समय नेकपाका लागि प्रतिकूल बन्दै गएको थियो । एमालेलाई आर्थिक रूपमा भरथेग गर्ने बैदेशिक रोजगारका पूर्व अध्यक्ष बलबहादुर तामाङसमेत पछिल्लो समयमा काँग्रेसतिर प्रवेश गरेपछि ठूलै भुइँचालो गएको छ ।

केही जनप्रतिनिधि र पार्टीवीच पहिलेदेखि नै गहिरो मतभेद थियो । यो दिनानुदिन बढ्दै र झाँङ्ग्गिदै थियो,केन्द्रमा समेत चरम मतभेद भएका कारण जिल्लाको मतभेद पनि निकै अगाडि गएको थियो । यतिसम्म कि प्रतिनिधि छनौट सम्ममा पक्ष र विपक्षको खेल शुरु भएका थिए ।

काखा र पाखाको खेल खेलियो । जब ओली र नेपाल-खनाल खेमा खुलेआम सडकमा देखिए यता र उताका खेलाडीहरु अझ सशक्त भएर अगाडि बढे । प्रतिनिधिसभा सदस्य योगेश भट्टराई,प्रदेश सभा सदस्य बलबहादुर साम्सोहाङ नेपाल-खनाल खेमामा देखिए भने, टंक आङबुहाङ माओवादी पार्टी छोडेर एमालेको ओली खेमामा सामेल भए ।

यता फुङलिङ नगरपालिका मेयर र मैवाखोला गाउँपालिका अध्यक्ष राजन थत्लुङ ओली खेमातिर खुले । मिक्वाखोला गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका र पाथिभरा याङवरक गाउँपालिका अध्यक्षहरु पर्ख र हेरको रणनीति अपनाइ रहेछन् ।

ताप्लेजुङ एमालेका हस्ती तथा पूर्व साँसद् तिलकुमार मेन्याङबो लामो समय नेपाल खेमामा रहे पनि अहिले ओली खेमाको केन्द्रीय सदस्य र जिल्ला ईन्चार्ज बनेका छन् ।

ताप्लेजुङमा एमालेका दुई पार्टी कार्यालय सञ्चालित छन् । पुरानो कार्यालयमा गत जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ बस्छन् भने नयाँ कार्यालय खोलेर संविधानसभा सदस्य भूपेन्द्र थेवेले ओली खेमाको नेतृत्व गर्दै आएकाछन् । कुन संगठन समानान्तर हो ? भन्न गाह्रो छ ।

पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशर मेन्याङबो भन्छन्- अबका दिनमा माननीय योगेश भट्टराई र तिलकुमार मेन्याङ्बोले खेल्ने भूमिकाबाट ताप्लेजुङ एमालेको भविष्य निर्धारण हुनेछ ।

टिप्पणीहरू