स्वास्थ्यकर्मीको भएन उद्धार,हेलिकोप्टर जान मौसम खराब

स्वास्थ्यकर्मीको भएन उद्धार,हेलिकोप्टर जान मौसम खराब

तीन दिनदेखि डोल्पाको उत्तरी क्षेत्र डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धोमा सिकिस्त बिरामी परेका चारजना कर्मचारीको अझै उद्धार हुन सकेको छैन ।

बिरामीले थला परेका स्वास्थ्य संयोजक सुरेन्द्र बिक,प्राविधिक खेमराज सिंह,प्राविधिक माधव पुन र तिन्जे स्वास्थ्य चौकी प्रमुख दिक्पाल रोकायको उद्धार हुन नसकेको बताइएको छ ।

हिँडेर दुनै पुग्ने अवस्था नभएकाले हेलिकोप्टरबाट उद्धारकालागि मंगलबारदेखि पहल गरिए पनि मौसममा आएको खराबीले काठमाण्डौबाट हेलिकोप्टर आउन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंगेनीले जानकारी दिनुभएको छ ।

कार्यालयको कामको सिलसिलामा बैशाख ४ गते उपल्लो डोल्पा हिँडेका बिरामी कर्मचारीहरू रुखाखोकी,ज्वरो आउने,शरिर दुख्ने र सास फेर्न गाह्रोहुने समस्याले सिकिस्त भएको पंज्ञानीको भनाई छ ।

उहाँका अनुसार गाउँपालिकाकै खर्चमा हेलिकोप्टर झिकाउन निरन्तर लागिरहे पनि मौसमले साथ नदिएकाले मान्छे र घोडामा बोकाएर भएपनि जतिसक्दो दुनै नजिक झार्ने प्रयास भइरहेको छ ।

पंगेनीले स्वास्थ्य संयोजक विकको अवस्था अत्यन्त जटिल रहेको बताउनुभयो । बिरामीहरूमा कोभिड जस्तो लक्षण देखिए पनि उपल्लो डोल्पामा परीक्षणको कुनै माध्यम नभएकाले यकिन गर्न नसकिएको बताइन्छ ।

टिप्पणीहरू