हम तो डुबेंगे ही सनम्, आपको भी ले डुबेंगे

हम तो डुबेंगे ही सनम्, आपको भी ले डुबेंगे

खनाल-नेपाल पक्षलाई पेलेर कर्नरमा पार्ने अध्यक्ष केपी शर्मा ओलीको रणनीति उहाँ स्वयंका लागि प्रतुत्पादक हुने सो पक्षका नेताहरुले चेतावनी दिएका छन् ।

संसदीय गतिविधिमा ओलीविरुद्ध विपक्षी गठवन्धनमा उभिने संकेत गरेको खनाल-नेपाल समूहका नेताहरुले बैशाख २७ को सन्दर्भमा यस्तो चेतावनी दिन थालेका हुन् ।

संघीय सांसदसमेत रहेकी सो समूहकी प्रभावशाली नेतृ रामकुमारी झाँक्रीले २७ गतेको सामना गर्न अध्यक्ष ओलीलाई चुनौती दिनुभएको छ । आफूहरुलाई पेल्न खोजे स्वयं पतन हुने कुराको हेक्का राख्न उहाँले ओलीलाई सचेत गराउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै झाँक्रीले भन्नुभएको छ, हामी त डुब्छौं नै । हामी सत्यानाश हुनु नै छ,तिमीलाई पनि लिएरै डुब्छौँ । यदि सत्यानाश हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर,दम्भ, अहङ्कार र जिद्दी छोड ।

हिन्दीको एउटा उखान जोड्दै उहाँले आफूहरु सकिए ओली पनि बाँकी नरहने कडा चेतावनी दिनुभएको छ । हिन्दीमा एउटा कहावत छ( हम तो डुबेंगे ही सनम्, आपको भी ले डुबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढोुं,उहाँले लेख्नुभएको छ ।

आगामी सोमबार (२७ गते) प्रधानमन्त्री ओलीले विश्वासको मत लिन संसदमा जानुअगावै खनाल-नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने चर्चा चलिरहेका बेला सो समूहकी एक प्रभावशाली नेतृको यस्तो चेतावनी आएको हो ।

हिजो यहि समूहका अर्का प्रभावशाली नेता घनश्याम भुसालले पनि त्यस्तै चेतावनी दिनुभएको थियो ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलाले नेकपाको एकता खारेज गरी एमाले र माओवादी पुरानै हैसियतमा फर्किए पनि सोअनुसार पार्टी संचालन नगरिएको खनाल-नेपाल पक्षको गुनासो छ ।

पार्टीमा फर्किन स्पेस खोजिरहेको सो पक्षलाई बाहिरै राखेर पधानमन्त्री ओली विश्वासको मत लिने तयारीमा हुनुहुन्छ । प्रधानमन्त्री ओलीलाई विश्वासको मत चाहिने भए आफूहरुलाई समेटेर लैजान खनाल-नेपाल समूहको सुझाव छ ।

टिप्पणीहरू