हात्ती वनमा तीनभाइ भेला,अब के होला ?

हात्ती वनमा तीनभाइ भेला,अब के होला ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विशेष अधिवेशन बोलाएर आगामी सोमबार विश्वासको मत लिने निर्णय गरेपछि विपक्षी दलहरु चरणवद्द छलफलमा जुटेका छन् ।

विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको निर्णयलाई ‘षड्यन्त्र’ भनेका ओलीइतर पक्षका नेताहरु विभिन्न खाले छलफलमा जुटेका हुन् ।

विश्वासको मतमा ओलीलाई असफल गराउने र वैकल्पिक सरकार बनाउने रणनीतिका साथ सघन छलफल अघि बढाइरहेको विपक्षी गठवन्धनका तीन शीर्ष नेताले आज गोप्य छलफल गरेका छन् ।

आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एमाले बरिष्ठ नेता माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको हो ।

यादवलाई भेट्न प्रचण्ड र नेपाल हात्तीवन पुग्नुभएको थियो । जसरी पनि प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्ने तयारीका साथ नेताहरु छलफलमा जुटेको बताइएको छ । छलफलमा प्रधानमन्त्री ओलीले चाल्नसक्ने सम्भावित कदम र विपक्षी गठवन्धनले अपनाउनुपर्ने रणनीतिका बारेमा कुराकानी भएको बताइएको छ ।

अस्ति सोमबार पनि विपक्षी नेताहरुले यस्तै छलफल गरेका थिए । महाराजगन्जस्थित प्रमोद राणाको घरमा भएको गोप्य भेटघाटमा काँग्रेस सभापति शेरबहादुर देउवा,प्रचण्ड,नेपाल र यादव सहभागी हुनुहुन्थ्यो । हिजो आ-आफ्नै दलभित्र आन्तरिक छलफल गरेका उनीहरु आज फेरि बहुपक्षीय भेटघाट र छलफलमा जुटेका हुन् ।

काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सबै दललाई आव्हान गर्ने निर्णय गरिसकेको छ । हिजो बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट असफल गराउने निर्णय गरेको हो ।

ओलीलाई हटाउन शुरुदेखि नै कसरत गरिरहेको माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने पत्र दर्ता गरेको छ ।

यता माधव समूहका कम्तिमा २५ सांसदले २७ गतेअगावै सामूहिक राजीनामा दिने गरी आन्तरिक छलफल चलाइरहेको बताइन्छ । दुई खेमामा विभाजित जसपाको बहुमत पक्ष ओलीविरुद्ध उभिएको छ ।

ओलीको विकल्प खोज्नुपर्ने बताउँदै आएको डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष काँग्रेस,माओवादी र नेपाल समूहसँग सघन छलफल गरिरहेको छ ।

टिप्पणीहरू