एमालेको फेरि फुट र मालेको हविगत

एमालेको फेरि फुट र मालेको हविगत

बालुवाटारमा अघिल्लो बिहीबार राति केपी ओलीलाई वामदेव गौतमले भन्नुभयो, ‘तपाईंले पहिले आफ्नो पार्टीभित्र एकता गर्नुभयो भने मात्र त्यसपछि अरु जोसुकैसँग मिलेर या भिडेर जान सकिन्छ ।

त्यस्तोमा चुनाव जित्न सकिन्छ, नभए पनि सबैभन्दा लार्जेस्ट पार्टी त पक्कै होइन्छ । अनि त्यसैले सरकार चलाउँछ । अनि योजना बनाएर अघि जाउँला । डेढ, दुई वर्ष त्यसरी चलाउँला । होइन, बहुमतको सरकार बनाउनुपर्छ, लार्जेस्ट पार्टीलाई कुनै पनि बेला ढाल्छन् भन्ने लाग्छ भने माहौल आफ्नोतिर ल्याउनुस्, त्यसको लागि जिम्मा दिनुस् ।’

गौतमको भनाइ सुनिरहनुभएका प्रधानमन्त्रीले न जवाफ फर्काउनुभयो, न मुण्टो नै हल्लाउनुभयो । तैपनि, गौतमले आफ्ना कुरा राख्न छाड्नुभएन ‘कस्तो अवस्थामा पार्टी एकता गरिएको थियो भन्ने कुरा हामी दुबैलाई थाहा छ । आजको अवस्थामा छुट्टाछुट्टै पार्टी भए पनि कार्यगत एकता गरेर किन जान सकिँदैन ? एकपटकको शत्रु सधँैको शत्रु, एक पटकको मित्र सधैँको मित्र हुँदैन, परिवर्तन भइरहन्छ । यसतर्फ ख्याल राख्नुहोस् ।’

त्यसपछि प्रधानमन्त्रीले गौतमलाई विगत सम्झाउने र वर्तमानबारे जानकारी गराउने आशयले भन्नुभयो ‘हेर्नुस् कमरेड, फुटिसकेपछि के हालत हुन्छ भन्ने कुरा तपाईंलाई पनि थाहा छ । सहाना प्रधान, सीपी मैनाली, आर के मैनाली, देवी ओझाजस्ता अनेकौं जल्दाबल्दा व्यक्तिले राष्ट्रवादलाई मुख्य नारा बनाएका बेलासमेत तपाईं जिरोमा झर्नुभयो । नेपाली जनताले चाहने एमाले हो । त्यो मसँग रहन्छ । अरु कसैले केही गर्न सक्दैन ।’

गौतमले पनि जवाफ फर्काउनुभयो ‘त्यो बेला म हार्नुका पछाडि मेरा आफ्नै केही कमजोरी थिए । हिजो त मैले पार्टी फुटाउने काम गरेँ, त्यो राम्रो भएन, मैले फुटाउन हुँदैनथ्यो । दोस्रो, गिरिजाको सरकारमा म सामेल भएको । त्यहाँबाट बढी क्रान्तिकारी हुन खोजियो । तेस्रो कारण चाहिँ एमाले, कांग्रेस र सरकार पूरै विरोधमा थिए’ गौतमले त्यो बेलाको सन्दर्भ प्रष्ट पार्न कोसिस गर्नुभयो ।

आफूलाई पराजित गराइएको थप सन्दर्भ उल्लेख गर्दै गौतमले भन्नुभयोे, ‘भारत सरकार खुलेआम विरोधमा लाग्यो । त्यसको प्रमाण वीरगञ्जबाट जितेर आएका कृष्णप्रसाद भट्टराईले सबैभन्दा पहिले बीबीसीलाई दिनुभएको अन्तर्वार्ता हो ।

नक्कली राष्ट्रवाद खडा गरेर भारतविरोधी अभियान चलाउने माले शून्य सिटमा पराजित भएकामा म निकै खुशी भएको छु भनेर भट्टराईले दिएको अन्तर्वार्तामा त्यसलाई यसपटकको निर्वाचनको उपलब्धि हो भनेर लाजै नमानी भन्नुले भारतको हात रहेको पुष्टि हुन्छ ।’

सबै शक्ति एकातिर हुँदा नेपालमा कसैले थेग्न सक्दैन भन्दै गौतमको दाबी थियो, ‘हामीले त्यत्रो शक्ति लाग्दा पनि पाएको ६ लाख भोट साह्रै सम्मानजनक छ । त्यसप्रति म आज पनि गौरव गर्छु । पराजित भएर के भयो ? राष्ट्रवादको उक्त झण्डामा आज पनि हामी अगाडि बढिरहेका छौं ।’

त्यतिबेलाको राजनीतिलाई सूक्ष्म ढंगले विश्लेषण गर्न गौतमले प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । प्रधानमन्त्रीलाई उहाँले हार्नका निम्ति एक भोट काफी हुने र त्यस्तो अवस्थामा एमाले उम्मेदवारले भन्दा कांग्रेसले एक भोट मात्र बढी ल्याउँदा सबै खेल खत्तम हुने अवस्थालाई नभुल्नसमेत सझाव दिनुभएको बताइन्छ ।

हाल एमालेभित्रको समीकरणलाई पनि उहाँले प्रस्ट पार्नुभएको थियो । उहाँले ‘तपाईंसँग पहिलो र दोस्रो पुस्ताका नेता थोरै छन् तर माधव कमरेडतिर सबैभन्दा धेरै पहिलो र दोस्रो पुस्ताका नेता छन् । तपाईंसँग ताली बजाउने समूह अलि बढी छ ।

त्यसैले होला बाहिरबाट हेर्दा सतही रूपमा तपाईंको प्रभाव बढी देखिएको छ । तर, एमालेको पूरै पंक्ति तयार भएको अवस्थामा चुनाव जितिन्छ, नत्र जितिँदैन’ भनेर सम्झाउनुभएको थियो ।

उहाँको विश्लेषण थियो, ‘पार्टी फुटेको अवस्थामा हुने निर्वाचनमा निर्णायक मत कांग्रेसले लैजान्छ । निर्वाचनको लहर पनि त्यतै लाग्छ । एमालेभित्रका दुईवटै लड्छन् । अनि बीचमा बसेको काँग्रेस फुत्त उठ्छ ।’ तर, त्यहीबेला प्रधानमन्त्रीले आत्मविश्वास देखाउनुभयो ‘त्यसो होइन, म देखाइदिन्छु । जितेरै देखाउँछु ।’

प्रधानमन्त्रीले त्यसो भनिरहँदा गौतमले केही बोल्नुभएन । बरु विगतमा दुईपटक आफूले अविश्वास प्रस्ताव ल्याउनबाट जोगाएको सन्दर्भ उठाउनुभयो । प्रचण्डको गुटमा लागेको प्रधानमन्त्रीको आरोप चिर्दै भन्नुभयो ‘म उहाँको गुटमा सामेल हुन चाहँदिनथेँ तर अध्यक्षले बोलाएपछि जानुपथ्र्यो ।

जाँदा अरु पनि आइरहेका हुन्थे । त्यसरी एउटा समूहको स्वरूप बन्यो । यता तपाईंतर्फ पनि त्यसैगरी गुट बनाइयो, यसनिम्ति तपाईंले समेत आत्मालोचना गर्नुपर्छ ।’

टिप्पणीहरू