घरमालिक अस्पताल भर्ना हुँदा पनि साथ नछाड्ने कुकुर

घरमालिक अस्पताल भर्ना हुँदा पनि साथ नछाड्ने कुकुर

मानवीय समवेदना हराउँदै गएको हाम्रो समाजको लागि गतिलो शिक्षा दिने गरी टर्कीमा एउटा कुकुरले आफ्नो मालिकप्रति देखाएको अगाध भक्ति र स्नेहको भिडियो पश्चिमा सञ्चारमाध्यममा भाइरल भएको छ ।

मालिक बिरामी भएर अस्पतालमा भर्ना हुँदा पनि एउटी बफादार कुकुरले टर्कीको अस्पताल बाहिर पर्खेर धेरै दिन बिताएको भिडियोमा देख्न सकिन्छ ।

बोनकुक नाम गरेकी उक्त कुकुर मालिक सेमाल सेन्टुरकलाई १४ जनवरीमा अस्पताल लैजाँदा एम्बुलेन्सको पछि लागेर गइन् । सेन्टुरकलाई कृष्ण सागर अर्थात् ब्ल्याक सी नजिकै ट्राब्जोनको अस्पतालमा भर्ना गरिएपछि बोनुकुक हरेक दिन बिहान ९ बजे आएर अस्पतालको ढोका बाहिर बस्थिन् । मध्यरातसम्म मालिकको प्रतिक्षामा बेलाबेखत ढोकाबाट चियाएर हेर्थिन् ।

समाचार एजेन्सी डीएचएका अनुसार सेन्टुरककी छोरी ऐनुर इगेलीले भनिन् ‘मैले बोन्कुकलाई राती घरमा लिएर जान्थेँ तर बिहान ऊ आफैँ अस्पताल आउँथी ।’

अस्पतालको सुरक्षा गार्ड,मुहम्मत अक्डेनिजका अनुसार ‘उनी हरेक दिन बिहान ९ बजेतिर आउँथिन् र रातीसम्म ढोकामै कुर्थिन् तर, भित्र चाँहि नछिर्ने । ढोका खुल्दा टाउको भित्र छिराएर हेर्ने ।’

चार दिनपछि सेन्टुरक अस्पतालबाट डिस्चार्ज भए । त्यसपछि ह्वीलचेयरबाट बाहिर निस्कँदै गरेका मालिकलाई हेरेर खुशी हुँदै बोनकुकले आफ्नो प्रतिक्रिया दिएकी थिइन् । सेन्टुरकले भने ‘उनी मलाई औधी पछ्याउँछिन् । म पनि उनलाई निकै सम्झन्छु ।’

त्यसपछि बोनकुक पनि मालिकसँगै रमाउँदै घर फर्किएको दृश्य निकै रोचक देखिन्छ ।

टिप्पणीहरू