‘राजनीति भनेको मन मिलुञ्जेल बस्ने हो,नमिलेपछि छाड्ने हो’

‘राजनीति भनेको मन मिलुञ्जेल बस्ने हो,नमिलेपछि छाड्ने हो’

सरकारले जिम्मेवार निकाय र क्षेत्रमा पारेको प्वाल हेर्दै र टाल्दै जानुपर्ने अवस्था बनेको छ । सर्वत्र नियमभन्दा बाहिर गएर काम गरिएको छ । कुनै दिन पर्नसक्ने ठूलो भ्वाँग टाल्न सकिएन भने त्यसपछि ठूलो दुर्घटना हुनुलाई अवश्यम्भावी भन्न थालिएको छ ।

कर्णाली प्रदेशसभामा हालै भएको फ्लोर क्रसपछि माधव नेपाल समूहलाई कारबाही गर्न खुट्टा उठाउनुभएका प्रधानमन्त्रीले त्यसो गर्दा आफ्नै बहुमतको सरकार गुम्ने भेउ पाएर रोकिनुभएको बताइन्छ । किनभने प्रनिधिसभाको तत्काल कायम सदस्यको बहुमत भनिएको अवस्थामा २७ जना सांसदलाई कारबाही गर्दा बहुमत नपुग्ने निश्चित छ । अब आफैँले पारेको त्यो भ्वाङलाई प्रधानमन्त्री ओलीले टाल्नुपर्ने हुन्छ,तर कसरी ?

यता, प्रधानमन्त्रीले सांसदलाई कारबाहीको प्रक्रिया अघि बढाउँदा सभामुख अग्निप्रसाद सापकोटाले प्रक्रिया मिलेन भनेर फर्काइ दिनसक्ने जोखिम पनि त्यत्तिकै छ । त्यो गौंडोले सबैभन्दा धेरै प्रधामन्त्रीलाई झस्काएको अनुमान गर्न सकिन्छ ।

पार्टीभित्रको अन्तरविरोध र तिक्तता एउटा विन्दुमा पुगेपछि कोर्स करेक्सन गरेर जाउँ भन्दै प्रधानमन्त्रीले पार्टी भित्रकाहरूसँग हात मिलाएर अघि बढेको भए परिस्थिति सहज हुने अधिकांश नेताहरूले ढिलै भएपनि बताउन थालेका छन् । त्यसो हुँदा एमाले पनि सग्लो रहन्थ्यो ।

पार्टीभित्र वा संसदीय दलमा नेपाल समूहको बहुमत थिएन । मिलेर जाँदा पनि सबै रजगज आफ्नै हुनेतर्फ प्रधानमन्त्रीले ध्यान नदिएको बालुवाटारनिकट भनिएका नेताहरूले नै बताउनुलाई पनि अर्थपूर्ण मानिएको छ । तर,एकपछि अर्को छलछामको राजनीतिका कारण परिस्थितिले कोल्टो फेर्न लागेको रुपमा बुझ्नुपर्ने अवस्था छ ।

केही दिनअघि बालुवाटारमा भएका श्रृंखलाबद्ध बैठकहरूमा ‘गज्याङमज्याङ’ कुरो उठेको थियो । स्रोत भन्छ- हालैका भेटघाटमा नेपाल र उहाँ निकट दोस्रो पुस्ताका केही नेताले पहिले एमाले बैठक राखौं,त्यसपछि मात्र सबै निर्णयमा समर्थन गरौंला भन्नेसम्मको प्रस्ताव राखेपनि प्रधानमन्त्रीले एउटा कानले सुनेर अर्कोले उडाइदिनुभएको थियो ।

ती भेटमा माधव समूहले बालुवाटारले बादलहरूलाई पार्टीमा समेट्दा हिजो एमालेबाट माओवादीमा गएर अहिले फर्कन खोजेकाहरूलाई समेत समेटौं भनेर प्रस्ताव गरेको प्रधानमन्त्री निकट भनिएका नेताहरूले नै स्वीकारेका छन् । नेपाल पक्षको भनाई उद्धृत गर्दै ती नेताले भने ‘सदस्यता नलिएका व्यक्तिलाई एकै चोटी नेतृत्वमा ल्याउँदा सम्भवतः कसैलाई पनि पच्दैन । त्यसलाई पचाउने गरी ल्याऔं मात्र भनिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सबैले पुराना गल्ती कमजोरीलाई सच्याएर अघि बढ्नुको विकल्प देखिँदैन । परिस्थितिको बारेमा बुझ पचाउँदै गल्ती नसच्याउँदा सर्बत्र भताभुङ्ग हुन बेर लाग्दैन । प्राकृतिक नियमानुसार भताभुङ्ग भएपछि नयाँ सिर्जना हुन्छ र हुनैपर्छ । परिस्थिति त्यतैतर्फ सोझिएको भन्न थालिएको छ । किनभने राजनीतिक विद्रोह र असन्तुष्टिलाई कुनैपनि राज्यको कानुनले रोक्न सक्दैन ।

त्यसैले भन्ने गरिएको छ ‘राजनीति भनेकै मन मिलुञ्जेल बस्ने हो, नमिलेपछि छाड्ने हो । यो कुनै दम्पत्तिको सम्बन्धझैँ एउटाले सहेर भएपनि अर्कोलाई अवसर दिइरहनुपर्छ भन्ने मान्यताको ठीक विपरित छ ।’

टिप्पणीहरू