निर्णायक नेपाल समूहका तीन रणनीति

निर्णायक नेपाल समूहका तीन रणनीति

नयाँ सत्ता समिकरणमा एमालेको माधव नेपाल समूह ‘गेम चेन्जर’ को रुपमा अगाडि आएको छ । उक्त समूहले चाल्ने कदमले भावी राजनीतिको दिशा छिनोफानो गर्ने प्रष्ट चित्र देखिँदा सत्ता राजनीतिमा निर्णायक बनेर आएको हो ।

आगामी सोमवार २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला नेपाल समूहले गर्ने निर्णयले सरकार र सिंगो राजनीतिको भविश्य निर्धारण गर्ने विश्लेषण गरिएको छ ।

प्रधानमन्त्री ओलीले निकै चतुर्याईका साथ विश्वासको मत लिन लागेको ठहर गर्दै नेपाल समूह भावी रणनीति तय गर्न आन्तरिक छलफलमा जुटेको छ । नेपाल समूह तीन वटा रणनीति बनाएर अघि बढ्ने तयारीमा जुटेको बताइन्छ ।

६ महिनापछि सकिने पदका लागि किन आत्मसमर्पण गर्ने भन्ने हाम्रो कुरा हो,बिश्वासको मत नै पाए पनि झन उनले उग्र बनेर हामीलाई पेल्ने हो,अहिले सत्ता जोगाइदिए पनि लम्पसार नपरी टिकट दिने होइन’,नेपाल समूहका नेताले भने ।

सत्ता समीकरणमा यसअघि ‘की रोल’मा रहेको जसपा विभाजित भएपछि नेपाल समूहका कम्तिमा २५ सांसद निर्णायक बनेका हुन् । नेपाल पक्षका एक नेताले बताएअनुसार अहिले तीन विकल्पमा छलफल चलिरहेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने,फ्लोर क्रस गर्ने या त्यसअघि नै राजीनामा दिने भन्नेमा छलफल भैरहेको उनले बताए । उनका अनुसार सामूहिक राजीनामा दिने सम्भावना बढेर गएको छ ।

विश्वासको मत लिने प्रधानमन्त्री ओलीको निर्णय आफूहरुलाई आत्मसमर्पण गराएर जाने रणनीतिका साथ आएको नेपाल पक्षको बुझाइ छ । विश्वासको मत लिएपछि तुरुन्तै कारवाही गर्ने बालुवाटार बैठकको योजना कसैले नेता कानमा पारिदिएपछि नेपाल समूह सशँकित बनेको बताइन्छ ।

विश्वासको मत लिने,अनि लगत्तै कारवाही गर्ने उहाँ (प्रधानमन्त्री) हरुको तयारी हामीलाई थाहा भयो । त्यसैले हामी त्यसअगाडि नै राजीनामा दिने कि भन्ने सोचमा पुगेका हौँ’, नेपाल समूहका ती नेताले भने ।

नेपाल समूहले फ्लोर क्रस गरेर सरकार ढालेको या पार्टी फुटाउन बाटो खोलेको आरोप खेप्नुभन्दा पुस ५ को प्रतिनिधि सभा विघटनले खाएर फागुन ११ को अदालती आदेशका कारण प्राप्त नाफाको जिन्दगीबाट राजीनामा दिएर जाने विकल्पलाई उत्तम मानी त्यसैमा छलफल गरिरहेको बताइन्छ ।

अदालतको फैसलाअनुसार प्रधानमन्त्री ओलीले ०७५ जेठ २ मा फर्किएर एमालेलाई एकताबद्ध बनाउने भन्दा पनि आफूहरुलाई लतारेर आत्मसमर्पण गराउने रणनीति अख्तियार गरेपछि ‘काउन्टर जवाफ’ फर्काउने नेपाल समूहको तयारी छ । ‘मर्ता क्या नहीं कर्ता’ भनेजस्तै आवश्यक परे जस्तोसुकै कठोर निर्णय लिन पनि तयार रहेको ती नेताले बताए ।

नेपाल समूहले अहिलेको सांसद पदलाई ‘नाफाको पद’ भएकाले जतिबेला पनि छाड्न तयार रहेको बताएको छ । ‘पुस ५ गते नै एक हिसाबले पद गएको थियो । त्यसयता अहिले भएको नाफाको पद हो । पद जाला भन्ने कुनै डर छैन । अझै पनि पार्टीलाई एकतावद्ध बनाउन सकिन्छ कि भन्ने प्रयास मात्र हो’,ती नेताले भने ।

विश्वासको मत लिने नाममा प्रधानमन्त्री ओली फेरि संसद विघटन भन्दै सत्ता लम्ब्याउने दिशातर्फ अघि बढेको नेपाल पक्षको बुझाइ छ । संसद्को अंकगणितले एमालेका सबै सांसदले विश्वासको मत दिँदा पनि सरकारलाई बहुमत जुटाउन कठिन हुन्छ । १२१ सिट रहेको एमालेलाई बहुमत पुर्याउन कम्तिमा थप १४ सांसद चाहिन्छ ।

जसपाको महन्थ-राजेन्द्र खेमाले कति मत जुटाउन सक्छ सरकार जोगिने या जाने फैसला त्यसैले गर्छ । यद्यपि प्रधानमन्त्री ओलीको जोड चुनाव भन्दै मधेसी यौटा खेमा,नेमकिपा र राप्रपाको बलले सत्तामै टिक्ने देखिन्छ ।

‘सके बहुमत जुटाएर चुनावमुखी बजेट र नीति तथा कार्यक्रम ल्याउने,नसके प्रतिनिधिसभा भङ्ग गर्ने प्रधानमन्त्रीको योजना देखिन्छ । ६ महिनापछि सकिने पदका लागि किन आत्मसमर्पण गर्ने भन्ने हाम्रो कुरा हो,बिश्वासको मत नै पाए पनि झन उनले उग्र बनेर हामीलाई पेल्ने हो,अहिले सत्ता जोगाइदिए पनि लम्पसार नपरी टिकट दिने होइन’,नेपाल समूहका नेताले भने ।

देउवाका सालाको घरमा चार नेताको जमघट

यसैबीच हिजो काँग्रेस सभापति शेरबहादुर देउवाको सालो प्रमोद राणाको घरमा देउवा,प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटघाट भएको थियो । भेटघाटमा २७ गते संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल भएको बताइएको छ ।

चारै नेता सरकारविरुद्ध एकै ठाउँमा उभिन सहमत भएको पनि दाबी गरिएको छ । यद्यपि गोप्य छलफलको विषय अहिलेसम्म बाहिर आएको छैन ।

आजै नेता नेपालले सांसद सोमप्रसाद पाण्डे र राष्ट्रियसभाका सांसद रामनारायण विडारीसँग छलफल गर्नुभएको बताइएको छ । उक्त छलफलमा नेपाल समूहले चाल्ने सम्भावित कदम र त्यसको कानुनी पक्षका बारेमा छलफल भएको बुझिएको छ ।

टिप्पणीहरू