फेरि आयो अर्को अध्यादेश,देउवा आगो,ओलीसङ्ग कट्टी

फेरि आयो अर्को अध्यादेश,देउवा आगो,ओलीसङ्ग कट्टी

राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी काँग्रेसले कडा आपत्ति जनाएको छ ।

अध्यादेश जारी भएलगत्तै काँग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर आपत्ति जनाउनुभएको हो । देउवाले संसदलाई छलेर विवादास्पद अध्यादेश ल्याइएको भन्दै सरकारको कडा आलोचना गर्नुभएको छ । उहाँले प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै आपत्तिजनक भन्नुभएको छ ।

‘संसद्को बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ । संवैधानिक परिषदसम्बन्धी अध्यादेशलगायत सात वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ’, देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

काङ्ग्रेसले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने निर्णय पनि गरेको छ । आज बसेको पदाधिकारी बैठकले ओलीले विश्वासको मत लिन संसदमा आउँदा असफल तुल्याउने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिदैँ हुनुहुन्छ । माओवादी केन्द्र र जसपाको उपेन्द्र-बाबुराम पक्षले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताइसकेका छन् ।

यता, एमालेकै माधव नेपाल समूहका सांसदहरुले प्रधानमन्त्री विश्वासको मत लिन संसदमा जानुअगावै सामूहिक राजीनामा दिने तयारी गरिरहेको पनि बताइएको छ ।

टिप्पणीहरू