रेम्डेसिभिरको कालोबजारी गर्नेलाई सरकारले नछाड्ने

कोभिडका सिकिस्त बिरामीलाई आवश्यक मानिएको औषधि रेम्डेसिभिरको कार्टेलिङ गर्ने, लुकाउने र बढी मूल्य लिनेलाई औषधि व्यवस्था विभागले कडा कारबाही गर्ने भएको छ ।

मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको कोभिड–१९ सम्बन्धी उपसमितिको छलफलमा विभागका महानिर्देशक भरत भट्टराईले रेम्डेसिभिरको सहज पहुँचको लागि बजार अनुगमन कडा बनाइएको बताउनुभएको छ ।

कुनै पनि बिक्रेताले औषधिको मूल्यलगायत बिक्रिमा अवैध काम गरे लाइसेन्स रद्ध गनेसम्मको कारबाही गर्न सकिने महानिर्देशक भट्टराईले बताउनुभयो । उक्त औषधिको बजारमा सामान्य अभाव भए पनि आपूर्ति नियमित गर्न तीन हजार भाइल रेम्डेसिभिर बनारसबाट मगाइएको बताउनुभयो ।

कोभिड अस्पतालको मागको आधारमा आवश्यक रेम्डेसिभिर र अत्यावश्यक औषधिको व्यवस्थापन गर्न विभागले सबै पक्षसँग समन्वय गरेर काम गरिरहेको महानिर्देशक भट्टराईको भनाई छ ।

विभागले ५५ हजार रेम्डेसिभिर ल्याउन आयातकर्ताहरुलाई अनुमति दिएको बताएको छ । औषधि अभावमा कसैले पनि मृत्यूवरण गर्न नपरोस् भनेर आफूहरुले काम गरिरहेको महानिर्देशक भट्टराइले बताउनुभएको छ ।

टिप्पणीहरू