ललितपुरका सिडिओलाई पनि कोरोना,आजको बैठक के होला ?

ललितपुरका सिडिओलाई पनि कोरोना,आजको बैठक के होला ?

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना लागेको छ । अस्तिको पीसीआर परीक्षणमा उहाँलाई संक्रमण पुष्टि भएको हो ।

प्रजिअ अधिकारीले कोरोना लागेको बताउनुभयो । ‘हो,मलाई कोरोना देखिएको छ । अस्ति पीसीआर गरेको थिएँ,रिपोर्ट पोजेटिभ देखियो’,जनआस्थासँग कुरा गर्दै उहाँले भन्नुभयो ।

खोकी लाग्ने,खाना नरुच्ने, खानाको स्वाद थाहा नपाउने जस्ता लक्षण देखिएपनि प्रजिअ अधिकारी अस्पताल भर्ना हुनुभएको छैन । बेड अभाव भएका बेला आफूभन्दा सिकिस्त बिरामीलाई प्राथमिकता दिन अस्पताल नजाने निर्णय गरेको उहाँले बताउनुभयो।

‘अलिअलि खोकी लागेको छ । खाना नरुच्ने,स्वाद नपाउने जस्ता लक्षण देखिएका छन् । अस्पताल जानुपर्छ भन्ने सल्लाह थियो । तर मलाई मात्र हैन धेरैलाई समस्या छ । अस्पतालमा बेड पाउन सर्वसाधारणलाई गाह्रो परेको अवस्था छ । यस्तो बेला बरु घरमै बसेर उपचारगर्नु ठीक होला भन्ने लागेर अस्पताल गएको छैन’, उहाँले भन्नुभयो ।

प्रजिअ अधिकारीलाई कोरोना देखिएपछि आज हुने भनिएको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक भाइबरमार्फत हुने भएको छ । अधिकारीले भन्नुभयो,’सहायक सिडियो सापलाई पठाउने कुरा भएको छ । आवश्यक परे म पनि भाइबरबाट बस्छु भनेको छु ।”

पास लिनका लागि प्रशासन कार्यालयमा आउने भीडभाडका कारण कोरोना लागेको उहाँको अनुमान छ । भीडभाड नगर्न र निषेधाज्ञाको पूर्ण पालना गरी स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित बस्न उहाँले सबैलाई आग्रह पनि गर्नुभयो ।

टिप्पणीहरू