कोरोनाले छेकेन कर असुलीलाई

कोरोनाले छेकेन कर असुलीलाई

सरकारले गत बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएको छ । निषेधाज्ञा तीन दर्जनभन्दा बढी जिल्लामा लगाइ सकिएको छ ।

अन्य धेरै वटा स्थानीय तहले पनि क्षेत्र तोकेर निषेधाज्ञा घोषणा गरेका छन् । यस्तो अवस्थामा पनि सरकारले राजश्व उठाउने भन्दै कर,भन्सार, बैंक सबै खुल्ला राखेको छ ।

कर्मचारी संख्या घटाएर भए पनि कर असुली जारी छ । करदाता पनि फाट्फुट्ट आएको बताइन्छ । यस्तोमा कसरी आउँछन् ? भनेर सोधिएको जिज्ञासामा कर कार्यालयका एकजना अधिकृतले भने ‘१० बजेदेखि कार्यालय खुल्छ,त्यसपछि सडकमा हिँड्नेलाई प्रहरीले रोकेको छ । तर पनि उनीहरूमध्ये केही हिँडेरै आएका छन् । सम्भवतः नजिक र वरपरका होलान् ।’

करमा तोकिएको समय घर्केपछि धेरै जरिवाना लाग्ने भएकाले मानिसले समयमा तिर्ने गर्छन् । अर्कोतर्फ सरकारले तोकिएको समयमा कर नतिर्नेलाई छाड्दैन भन्ने उनीहरूलाई थाहा छ ।

अघिल्लो वर्ष पनि सरकारले बन्दाबन्दीको नाममा ढिलै भएपनि एक सुको छाडेको थिएन ।
यता,चौमासिक रुपमा तिरिने कर र राजश्वको चैतमा भएको असुली सरकारको लक्ष्यभन्दा बढी देखियो । तर बैशाखमा नसोचेको अवस्था उत्पन्न भएपछि व्यापारी तथा व्यवसायी निकै अप्ठेरोमा परेको बताइन्छ ।

उता,चीनका बहुराष्ट्रिय कम्पनीहरूले तीन महिनाअघि नै विश्वभरका आफ्ना कम्पनी कार्यालयलाई कोरोनाको भयावह पुनः देखापर्न सक्ने भन्दै ‘हाइ अलर्ट’ गराएका थिए ।

हुवावेइ, जेडटीईजस्ता कम्पनीले विश्वका सबैजसो देशमा रहेका आफ्ना कम्पनीलाई अप्रिल महिनापछि भयावह अवस्था आउनसक्ने भन्दै सतर्क रहन बारम्बार सम्झाएका थिए । यो मामिलामा विश्वका अन्य देशका ठूला कम्पनी भने प्रक्षेपणमा निकै पछाडि परेका छन् ।

हाम्रो सन्दर्भमा पूर्वराजा–रानी महामारीको दोस्रो लहर शुरु भइसक्दा हरिद्वारको कुम्भ मेलामा सहभागी भएर संक्रमित बनेपछि अहिले अस्पतालमा भर्ना हुनुभएको छ । भारतमा दुई साता अघिसम्म राज्यसभा चुनावको विशाल र्याली भइरहेको थियो ।

चाडपर्व,सांस्कृतिक मेला र राजनीतिक कार्यक्रम भन्दै भारत र नेपालमा भएका पछिल्ला गतिविधिले अहिले देखिएको संक्रमणको बिगबिगीलाई बल मिलेको बताइन्छ ।

टिप्पणीहरू