अक्सिजन सिलिण्डर फर्काउन आग्रह

अक्सिजन सिलिण्डर फर्काउन आग्रह

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले कोरोनाको डरले घरमा जगेडा राखिएको अक्सिजन सिलिण्डर फिर्ता गर्न अपिल गर्नुभएको छ ।

कोरोना संक्रमण भइहाले अक्सिजनले बचाउने भन्दै सर्वसाधारणले आफूसँग भएको अक्सिजन सिलिण्डर फिर्ता नगरेपछि अहिले अभाव देखिएको बताउँदै सिलिण्डर व्यक्तिको घरमा,जलविद्युत आयोजनामा, ठूला गाडीको वर्कसपमा र सुनका गरगहना बनाउने कारखानामा जगेडा राखिएको बताउनुभयो ।

‘सिलिण्डर घरमा राख्ने सबैलाई कम्पनीमा फिर्ता गरिदिन आग्रह गर्नुभएका उहाँले यस्तो बेला सिलिण्डर घरमा राख्नु अपराध भएको र सिलिण्डरको अभावले कोही मान्छे छट्पटाएर मर्ने अवस्था आयो भने पाप गरेसरह हुने बताउनुभएको हो ।’

बस्नेतले ठूला जलविद्युत आयोजनामा पनि अक्सिजन सिलिण्डरको भण्डारण र मौज्दात धेरै रहेकाले फिर्ता ल्याउनुपर्ने बताउनुभयो । ती आयोजनामा फलाम काट्न र जोड्न अक्सिजनको आवश्यकता पर्छ ।

उहाँले भन्नुभयो ‘अधिकांश जलविद्युत आयोजनामा अक्सिजनका सयौँ सिलिण्डर होल्ड भएर बसेको छ । ती सबै फिर्ता गर्नुपर्छ । मान्छेको जीवन बचाउनु अहिलेको पहिलो काम हो ।’

अहिले अक्सिजन उत्पादन गर्ने उद्योगहरूले आफ्नो उत्पादन अस्पताललाई मात्र दिनुपर्ने अध्यक्ष बस्नेतको भनाइ छ । अक्सिजन उत्पादन गर्ने उद्योगहरूलाई सरकारले सबै सहयोग गर्ने आश्वासनसमेत उहाँले दिनुभएको छ ।

टिप्पणीहरू