बजारमा अभाव छैन,चिन्ता नगरौँ

बजारमा अभाव छैन,चिन्ता नगरौँ

आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा उपभोग्य वस्तुको अभाव नदेखिएकाले चिन्ता नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

निषेधाज्ञाको समयमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न गरिएको अनुगमनका क्रममा पर्याप्त मात्रामा खाद्यान्न लगायतका उपभोग्य वस्तु पाइएको विभागले जनाएको छ ।

खाद्यान्न,औषधी,मेडिकल इक्विपमेन्ट,मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री पर्याप्त मात्रामा स्टक रहेकाले अफवाहको पछि नलाग्न विभागले भनेको छ ।

विभागले निषेधाज्ञाका बेला काठमाडौँ उपत्यकालगायत देशैभरि दैनिक उपभोग्य वस्तुको आपूर्ति एवं उपलब्धता र स्टकको अवस्थाबारे अनुगमनलाई थप प्रभावकारी बनाई तीब्रता दिएको पनि बताएको छ । अनुगमनका क्रममा स्वास्थ्य सामग्री पर्याप्त मात्रामा उपलब्ध रहेको पाइएको विभागको भनाइ छ ।

उपत्यकाका ठूला आयातकर्ता, वितरक एवम् थोक विक्रेता गोदाम तथा पसलहरुको अनुगमन गर्दा दैनिक उपभोग्य खाद्यान्न वस्तुहरू (दाल,चामल,घ्यु,तेल,चिनी,नून) पर्याप्त मात्रामा स्टक रहेको पाइएको र तरकारी तथा फलफूलहरुको आपूर्ति सहज रुपमा भैरहेको पनि विभागले जनाएको छ ।

अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ विपरित गलत कारोबार गर्ने उद्यमी व्यवसायीहरुलाई कसुर अनुसारको कारबाही गरिएको विभागको भनाइ छ ।

टिप्पणीहरू