गण्डकीमा लफडा यथावत, सर्वदलीय बैठक बोलाइयो

गण्डकीमा लफडा यथावत, सर्वदलीय बैठक बोलाइयो

जनमोर्चाका एक सांसद ‘गायब’ भएपछि अचानक स्थगित भएको गण्डकी प्रदेशसभा बैठक तत्काल नबस्ने देखिएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभा बैठक सुचारू गर्न सभामुख नेत्रप्रसाद अधिकारीले गरेको प्रयास असफल भएपछि अनिश्चितता बढेको हो ।

कार्यव्यवस्थाले निर्णय गर्न नसकेपछि सर्वदलीय बैठक बोलाउने निर्णय भएको छ । प्रदेशसभा बोलाउनेबारे सहमति खोज्न सर्वदलीय बैठक बोलाउने निर्णय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँच वटै दलका संसदीय दलका नेताहरुको सहभागी हुने गरी सर्वदलीय बैठक बोलाउने निर्णय भएको सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा टेबल भएको अविश्वासको प्रस्तावमाथि मतदान गर्ने कार्यसूची रहेकै दिन राष्ट्रिय जनमोर्चाका एक सांसद ‘गायब’ भएपछि प्रदेशसभाको बैठक स्थगित भएको थियो । आफ्ना सांसद हराएको भन्दै जनमोर्चाले बैठक रोक्न माग गरेपछि सभामुखले अनिश्चितकालका लागि बैठक स्थगित गर्नुभएको थियो ।

दलीय सहमति नजुटेका कारण स्थगित बैठक सुचारु गर्न थालिएको प्रयास सफल नभएको हो । प्रदेशसभामा टेबल भएको अविश्वासको प्रस्ताव अगाडि बढाउने पहिलो कार्यसूची छ । तर, सभामुखको भूमिकाप्रति असन्तुष्ट रहेको एमालेले संसद बैठक बोलाउन सहमति नदिँदा बैठकबारे अन्योलता बढेको बताइन्छ ।

आज कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख, उपसभामुख, माओवादी केन्द्रका प्रमुख सचेतक गायत्री गुरुङ, एमालेका प्रमुख सचेतक मायानाथ अधिकारी र सांसद कृष्ण थापा, काँग्रेसका प्रमुख सचेतक मणिभद्र शर्मा र सांसद कुमार खड्का, जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र जसपा संसदीय दलका नेता हरिशरण आचार्य सहभागी हुनुहुन्थ्यो ।

टिप्पणीहरू