माधव पक्षका थप तीन सांसदलाई म्यासेन्जरबाटै स्पष्टिकरण

माधव पक्षका थप तीन सांसदलाई म्यासेन्जरबाटै स्पष्टिकरण

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका थप तीन सांसदलाई स्पस्टिकरण सोध्नुभएको छ । ओलीको निर्देशनमा कार्यालय सचिव शेरबहादुर तामाङमार्फत फेसबुक म्यासेन्जरबाट सांसदहरुलाई प्रस्टिकरण सोधिएको हो ।

सांसदहरु गङ्गा चौधरी,कलिला खातुन र समीना हुसेनलाई वैशाख १६ गते ‘अर्को पार्टीमा लाग्नु भएको हो ?’ भनेर स्पष्टिकरण सोधिएको हो । सांसद समिनाले १६ गते म्यासेन्जरबाट स्पष्टिकरण सोधिएको बताउनुभयो । ‘स्पष्टिकरण सोधिएको रहेछ । मलाई त थाहा पनि थिएन,कलिला माननीय ज्यूले भनेपछि थाहा पाएँ’, उहाँले भन्नुभयो ।

तीन दिनको समयसीमा तोकेर पठाएको स्पष्टिकरणको आफूले भोलिपल्टै जवाफ दिएको खातुनले बताउनुभयो । स्पष्टिकरणमा विधि,पद्धति र पार्टी हित विपरितका गतिविधिमा संलग्न रहेको र समानान्तर कमिटी बनाएको आरोप लगाइएको उहाँले जानकारी दिनुभयो ।

‘धेरै लामो छ । अहिले सबै भन्न सकिदैन । सार कुरा चैं पार्टी हित विपरित काम गरेको र समानान्तर गतिविधिमा लागेको भनिएको छ’, हुसेनले भन्नुभयो ।

आफू समानान्तर गतिविधिमा नलागेको र एमालेमै प्रतिवद्ध रहेकाले गलत प्रश्न उठाएर स्पष्टिकरण सोधिएको उहाँको तर्क छ । आफूले त्यहि व्यहोराको जवाफ पठाएको उहाँले बताउनुभयो ।

किन तपाईंहरु तीन जनालाई मात्र स्पष्टिकरण सोधियो भन्ने प्रश्नमा सांसद खातुनले आफूलाई पनि अचम्म लागेको जवाफ दिनुभयो । ‘खै किन सोधियो मलाई पनि थाहा छैन । म एमालेमै छु । पार्टीमै काम गरिरहेको छु । उहाँहरुलाई मनमा के लाग्यो । किन सोधियो कसरी भनौँ’,उहाँले भन्नुभयो ।

पार्टीको कुरालाई व्यक्तिगत जस्तो गरेर स्पष्टिकरण सोधिएकोमा उहाँले आपत्ति जनाउनुभयो । कर्णालीमा जस्तै फ्लोर क्रस हुनसक्ने आशंकाले स्पस्टिकरण सोधिएको हुनसक्ने उहाँको भनाइ छ । उहाँले २७ वैशाखमा आफूले प्रधानमन्त्रीलाई विश्वासको मत दिने पनि बताउनुभयो ।

यसअघि पनि अध्यक्ष ओलीले नेता नेपालसहित २७ सांसदलाई स्पष्टिकरण सोध्नुभएको थियो ।

टिप्पणीहरू