पूर्व मन्त्री र ल क्याम्पस स्टाफको निधन,काँग्रेस प्रवक्तालाई पनि कोरोना

पूर्व मन्त्री र ल क्याम्पस स्टाफको निधन,काँग्रेस प्रवक्तालाई पनि कोरोना

ल क्याम्पसका लाइब्रेरियन रबिन्द्र बसी र रूपन्देहीमा उपचाररत पूर्व राज्यमन्त्री प्रकाश चित्रकारको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा चित्रकारको मृत्यु भएको हो । उहाँ शाही शासनकालमा भूमिसुधार राज्यमन्त्री हुनुहुन्थ्यो ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण देखिएको छ । शर्मालाई आज बिहान संक्रमण पुष्टि भएको हो । प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई लक्षणसहितको कोरोना लागेको जानकारी दिनुभएको छ ।

‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएँ ! बिहानीपख रिपोर्ट आयो-पोजिटिभ’,शर्माले भन्नुभएको छ । उहाँले औषधि सेवन गरिरहेको र डेरामै आइसोलेशनमा बसेको पनि बताउनुभयो ।

‘टेकु´का डा. मित्र अनुप बांस्तोलाको निर्देशनअनुरूपको औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ । सबैलाई विनम्र आग्रह छ – सजग बनौं !’

पछिल्ला दिनमा भिआइपीहरुलाई कोरोनाले भटाभट समातिरहेको छ । हिजो मात्र पर्यटनमन्त्री भानुभक्त ढकालमा कोरोना संक्रमण भेटिएको थियो । उर्जामन्त्री टोपबहादुर रायमाझी,उद्योगमन्त्री लेखराज भट्ट र खानेपानी मन्त्री मणिचन्द्र थापा यसअघि नै सँक्रमित हुनुभएको छ ।

त्यस्तै,पूर्वराजा–रानी ज्ञानेन्द्र शाह र कोमल,पूर्वप्रधानसेनापति रूक्माङ्गत कटवाल संक्रमणको शिकार भएर अस्पतालमा उपचाररत हुनुहुन्छ ।

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई संक्रमण देखिएपछि अस्ति साँझ नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।

टिप्पणीहरू