कोरोनामा धुमधाम विवाह गर्नेलाई गलहत्याउने प्रहरी अधिकारी निलम्बित

कोरोनामा धुमधाम विवाह गर्नेलाई गलहत्याउने प्रहरी अधिकारी निलम्बित

भारतको त्रिपुरा राज्यका डिस्ट्रिक्ट मजिस्ट्रेट (डिएम) शैलेशकुमार यादवलाई राज्य सरकारले कानुन हातमा लिएर अभद्र व्यवहारको आरोपमा निलम्बन गरेको छ ।

कोभिड–१९ रोकथामका लागि सरकारले घोषणा गरेको स्वास्थ्य मापदण्ड विपरित एउटा परिवारले बिबाह कार्यक्रम गरेको भन्दै यादवले पार्टी स्थलमा मच्चाएको वितण्डाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा डिएम यादवले दुलाहा र दुलहीका साथै उनीहरूका परिवार र पाहुनाहरूमाथि अभद्र व्यवहार गर्नुका साथै रुखो स्वरमा उनीहरुलाई पार्टीस्थलबाट निकालेका थिए ।

उनले आफू मातहतका प्रहरीलाई बिबाहका पाहुनाहरूलाई कोभिड–१९ को प्रोटोकल उल्लंघन गरेको भन्दै कार्यक्रम स्थलबाट बाहिर निकाल्न र पक्राउ गर्न आदेश दिएका थिए । त्यसैगरी बिबाहस्थलमा रहेका पण्डितलगायत अन्य केहीमाथि हातपातसमेत गरेका थिए ।

बेहुला पक्षले बिबाह समारोह आयोजनाको लागि आफूहरुले प्रशासनबाट अनुमतिपत्र पाएको देखाउँदासमेत पुलिसका हाकिमले सबैको सामुन्ने धरधरी च्यातिदिएका थिए ।

डीएम यादवको हर्कतलाई लिएर सर्वत्र आलोचना भएपछि त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देववर्माले दुई वरिष्ठ आईएसएस अधिकारीहरू सम्मिलित छानबिन समिति गठनको आदेश दिएका हुन् ।

समितिसमक्ष बोल्दै यादवले भनेका छन् ‘कानून र सुव्यवस्था लागू गर्नु, कोभिड–१९ फैलनबाट रोक्नु मेरो कर्तव्य हो । मैले त्यो रात जे गरेँ ठीक गरेँ ।’ उक्त बैबाहिक समारोह मुख्यमन्त्रीका नातेदारको भएको बताइएको छ ।

टिप्पणीहरू