साहसी मन्जुश्री को आउला यो शहरमा « janaaastha.com
२ जेष्ठ २०७८, आईतवार

साहसी मन्जुश्री को आउला यो शहरमा



-केशव थापा
नेकपा नाम अर्कैलाई दिने सर्वोच्च अदालतको फैसलापछि त्यसअघिका सबै राम्रा नराम्रा घटना,परिघटनालाई तीतोपाठको रूपमा विस्मृतिमा राखी लाखौं कार्यकर्ता तथा शुभेच्छुकहरूको मनोभावनाको कदर गर्दै एक मन एकताले नेकपा (एमाले) लाई अझ सुदृढ र बलियो बनाउनु शीर्ष नेतृत्वको पहिलो र अनिवार्य कर्तव्य थियो ।

युगिन महत्वको यो दायित्व निर्वाह गर्न नेतृत्व नमज्जाले चुक्दैछ । दलको नाम एउटै जपेर आफूलाई मात्र आधिकारिक ठान्ने दुवैथरिले अब मिलौं भनी पुनर्मिलनको लागि अपिल गरिएको कतै देखिएन । संस्थापन भनिनेले उदार हृदयले बाहिरिएकालाई आमन्त्रण गर्ने र आफूलाई बाहिर पारिएको भनी रोइलो गर्नेले हामी त हक लाग्ने आफ्नै घर फर्की आयौं भन्ने आँट समेत गरेको देखिएन । बरु कसरी अझ पर धकेल्ने वा के बहानाले घरको आँगन नै नटेक्ने भन्ने धृष्टता गरेको पो देखियो ।

कसैलाई घचेटेर पर पुर्याएपछि कथम् भविश्यमा आफू त्यहाँ पुग्नुपर्यो भने उसलाई मात्र नभएर आफूलाई टाढा हुने तथ्य र अहिले साथमा हुनेहरू पनि कहिले घचेट्याइमा परिने हो भनी संशयमा रहने तथ्यमा नेतृत्वले ध्यान पुर्याएको देखिँदैन ।

आफूलाई मात्र निर्विकल्प देख्ने, दोष अरुमाथि थोपरेर आफूलाई मालीगाईको शुध्द दूधले नुहाएको ठान्ने,सत्तालाई साधन नदेखेर कसै गुमाउन नहुने अजम्मरीबुट्टी ठान्ने,अरुको अस्तित्व किञ्चित पनि नस्वीकार्ने नेताहरूको दम्भले नेपाली कम्युनिष्ट आन्दोलनलाई चाँडै नै गहिरो दलदलमा फसाउने संभावना टड्कारो बन्दैछ । अप्रत्यासित अप्राकृतिक एकता, एकताप्रति दुवैतर्फको खेलाँची, एकतालाई थप समुन्नत र व्यवस्थित बनाउनुको सट्टा एकले अर्कालाई थचार्ने हतियारको रुपमा दुरुपयोग गर्ने मतिले वामआन्दोलन करिव विसर्जनको भुमरीमा पर्दै गएको आभाष हुन्छ ।

घेरो बनाउँदै गरेको भुमरीले चरम रुप लिन पायो भने यसले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको रथलाई उँधोमुण्टो पार्ने निश्चित छ । मुश्किलले जुटेका अन्य दलहरूमा भकाभक विभाजनको बाढी आउनेछ । समावेशी,समानुपातिक र समाजवादका पँखेटा छिनालिने छन् । पुनरुत्थानवादीहरू जुँगामा ताउ लाउँदै धमिलो पानीमा माछा मार्न दौडिने छन् । संभवतः मुलुक उत्तर–दक्षिण तथा समुद्र पारवालाहरूको खेलमैदान हुनेछ । स्वार्थका लागि अहिले नेताको वरिपरि घुम्नेहरू एकाएक गायब भएर अर्को कित्ताको मसिहा बनिसकेका हुनेछन् । जुन बेला नेताहरू झल्याँस्स हुनेछन्, त्यतिबेला निकै ढिलो भैसकेको हुनेछ ।

जतिसुकै अप्रिय लागे पनि यो भयावह अवस्थाको पहिलो जिम्मेवार नेकपा एमालेको शीर्षस्थ नेतृत्व नै हो । त्यसपछिको जिम्मेवार भनेको शीर्षनेताहरूले कम्युनिष्ट आन्दोलन नै सङ्कटमा पर्नेगरी ताण्डव मच्चाई रहँदा पनि चुँइक्क नबोल्ने बरु उल्टो मातहतका कार्यकर्तालाई आफूलाई मन नपरेको नेतालाई खुइल्याउन बुध्दि पैंचो दिने दोस्रो पुस्ताका नेताहरू हुन् । हिजो प्रतिकूल अवस्थामा जोखिम मोलेका,निरङ्कुशताविरुध्द सिंहझैँ गर्जेका प्रायः सबै नेताले २०४६ देखि अहिलेसम्म मनग्गे अवसर प्राप्त गरिसकेका छन् ।

सत्ताको पिँढी,मझेरी,चोटो,बुइँगल सबैसबै लोटाई सकेर देश,जनता, कार्यकर्ता र अझ भनूँ अन्तर्राष्ट्रियसामु आफ्नो क्षमता र सीमा प्रदर्शन गरिसकेका छन् । अन्यथा नहुञ्जेल जसोतसो निर्वाह त होला तर अब शीर्ष नेतृत्वले तरक्की गर्न नसक्ने निश्चित छ । विद्यार्थी वा अन्य जनवर्गीय सङ्गठनमा रहेर आफ्नो कुशाग्रता प्रदर्शन गरेका,आगो ओकल्ने भाषणले प्रतिक्रियावादीको मुटुमा ढ्याङ्ग्रो ठोकेका,अवसर पाए केही न केही गर्छन् भनी देश र दुनियाँले आशा गरेका नेताहरूले आफूभित्रको अन्तर्निहित क्षमतामा विश्वास नगरेर चाकडी गर्दै शीर्ष नेतृत्वलाई थप उध्दण्डताको लागि उक्साएको,उध्दण्डताको मतियार भएको देख्दा मन कुँडिएर आउँछ ।

यस मानेमा अहिलेको कहालीलाग्दो उपद्रवको अन्तर्यमा दोस्रो पुस्ताका नेताको भूमिका पनि कम छैन भन्न करै लाग्छ । यदि यस्तो नहुन्थ्यो भने यत्रो विधि हर्कत् र उत्ताउलो गतिविधि उहाँहरूलाई सह्य नहुनुपर्थ्यो । इतिहासप्रति न्याय गर्न,देश र जनतालाई दुःखी नबनाउन, कार्यकर्ताको मन नरुवाउन, सहिदहरूको बलिदानको अवमूल्यन नगर्न नेताहरूलाई तर्कसहित खबरदारी गर्नुपर्थ्यो । यसरी दोस्रो पुस्ता पनि कर्तव्यबाट चुक्दैछ । र,कम्युनिष्ट आन्दोलन विसर्जनको निरीह साक्षी बन्दैछ । आशा गरेकाहरूले निराश तुल्याउनु अचम्मलाग्दो विडम्बना हो ।

नेकपाको कार्यकर्ता पंक्तिको नपुंशकता पनि वामआन्दोलन सङ्कटमा फस्नुको अर्को कारण हो । कम्युनिष्ट पार्टीको सदस्य भएर वर्षौंसम्म कमिटीहीन हुँदा पनि चुँक्क नबोल्ने,पार्टीका नीति र विचारहरू जान्न बुझ्न नखोज्ने, नेताहरूलाई मिल्न दवाव दिनुको सट्टा बेमेल चर्काएर विभाजनको डीलमा पुर्याउने,व्यक्तिगत लाभको लागि सामूहिकतालाई सजिलै आफाल्ने,नभएको बनावटी कुरा लगाएर नेताहरूको फाटो बढाउने, सर्वसाधारणको घरबस्ति गर्न छाडेर दलाल,नोकरशाहहरूलाई काँधमा बोकी नेताका निवास धाउने,श्रमले धन आर्जन गर्न छाडेर दलालीलाई पेशा बनाउने प्रवृत्तिले पनि कम्युनिष्ट आन्दोलनलाई रुग्ण बनाउँदैछ ।

नेतृत्वको अकर्मण्यताविरुध्द भद्रअवज्ञा आन्दोलन गर्नुको सट्टा कर्णाली प्रदेशमा चार जना प्रदेश सांसदहरूको फ्लोरक्रस गर्ने धृष्टतालाई पार्टी एकताको लागि उठाएको कदमको रुपमा ग्रहण गरी संभावित भावी दुर्घटनालाई मध्यनजर गर्दै अविलम्ब पार्टी एकताको कामलाई सुचारु राख्नुपर्नेमा लुम्बिनी प्रदेशमा प्रतिपक्ष दलको सांसदलाई मन्त्री बनाएर सत्ताको आयु बढाउने, गण्डकी प्रदेशमा त्यस्तै जात्रा देखाउने क्रम बढ्दो छ । सायद, अन्य प्रदेशहरूले अवलम्बन गर्ने मार्ग पनि यस्तै नै होला ।

अहिले मुलुकको राजनीतिले २०४६ पछिको संसदीय व्यवस्थाको फोहोरी खेलको पुनरावृत्तिको झझल्को दिएको छ । असफल संसदीय व्यवस्थाको शकुनीदाउ सापट लिएर नवस्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको मर्यादा कायम हुन्छ र ? आशालाग्दा दोश्रोपुस्ताका नेताहरूले पनि आफ्नो इज्जत र प्रतिष्ठाभन्दा स्वाभाविक नदेखिने यस्ता फोहरी खेलको आडमा सत्तामा टाँसिइरहने प्रवृत्ति देखाएपछि अब आशालाग्दा दोश्रोपुस्ताका नेताहरूले पनि आफ्नो इज्जत र प्रतिष्ठाभन्दा स्वाभाविक नदेखिने यस्ता फोहरी खेलको आडमा सत्तामा टाँसिइरहने प्रवृत्ति देखाएपछि अब कोसँग आशा गर्ने ? उखानकै सहायता लिएर भन्नुपर्ने भो ‘जुन नेता आए पनि सत्ताकै लोभी’ । आफ्ना सहकर्मी वा पछिल्ला पुस्ताका नेताहरूले सत्ता जोगाउन जोसँग पनि घाँटी जोडेको देखेपछि निष्ठाको लागि ज्यानको बाजी लगाउने झापा आन्दोलनका अमर सहिदहरू, सहिद रत्नकुमार बान्तवाको आत्माले गौरवबोध गर्दो होला कि हीनताबोध ?

दल भनेकै विविधताको सङ्गम हो । निश्चित मूल्य मान्यताको लागि एकले अर्काको अस्तित्व स्वीकार गरेर अघि बढ्ने उपक्रम हो । दलको स्थायित्वको लागि तथ्य र सत्यको आधारमा कि आफ्नो तर्कले उसलाई चित्त बुझाउने कि आफू उसको तर्कमा सहमत भएर अघि बढ्न संस्कृति अनिवार्य हुन्छ । मेरै गोरुको बाह्रै टक्काले दललाई दीर्घजीवी तुल्याउँदैन । अर्कालाई खेद्नको लागि अहिले मन मिलेकाहरूको पनि भोलिका दिनमा कतिपय विषय र सवालमा दन्तबजान हुने निश्चित छ । एकथरिलाई खेद्ने काम सकिएपछि त फेरि अर्को बेमेलको खेल प्रारम्भ हुनु अवश्यमेवभावी छ ।

नेकपा एमालेकै सन्दर्भमा हेर्दा पनि २०३९ देखिको घटनाक्रमले यस्तै परिदृश्यलाई दर्शाउँछन् । नीति त के भन्नु स्वार्थानुसार कहिले चाटाचाट कहिले काटाकाट । अझ अहिलेको घटनाक्रमलाई कित्तामा नउभिइकन तटस्थ भएर नियाल्ने हो भने नीति,सिध्दान्त,विचार, कार्यक्रमको तहमा नभएर वैमनश्यता एकातिर उसले घेराउ गरेर म र मेरालाई काम गर्न दिएन भन्ने छ भने अर्कातिर म र मेराको तृणबराबर पनि भाउ भन्ने विलाप छ । जलप जे लगाइए पनि तथ्यको भट्टीमा खार्दा भेटिने चुरो यत्ति हो ।

अतः वर्तमान परिस्थितिले अहिले फुटको लागि तयार भएका नेताहरूलाई एक ठाउँमा राखेर उहाँहरूका सबल र निर्बल पक्ष, उहाँहरूको अहिलेको उमेर र तागत,उहाँहरूले अन्यथा गर्दा हुने ठूलो हानी,देश,जनता र कार्यकर्तालाई हुन जाने धोका र इतिहासले उहाँहरूलाई कहिल्यै क्षमा नगर्ने आदि सत्य बुझाउने र धाँजा फाट्न आँटेको पार्टीलाई बलियोसँग जोड्ने साहसी मञ्जुश्रीको माग गरिरहेको छ । हेरौं,विलम्ब नगरी नेकपा एमालेलाई भीरबाट खस्न जोगाउन को कम्मर कसेर आउँदो रहेछ ? भनाबैरीको क्रम एकहदसम्म रोकिएको र कोभिड–१९ को नयाँ भेरियन्ट मृत्यु अन्तिम सत्य भएको तथ्य घरिघरि सम्झाई रहेको बेला शीर्ष नेतृत्वले जीवनको क्षणभङ्गुरतालाई आत्मसात र विगतको त्यो न्यानो मीठो साथलाई एकैपटक स्मरण गरेर जमेको बरफ फुटाउने पो हुन् कि ? वा आँधी कुरिरहेको सन्नाटाझैँ पार्टी विनाश वा अर्को उपद्रवको लागि मौनता साँधेका हुन् पटाक्षेप हुन बाँकी नै छ ।

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राजदूत नियुक्ति :थोरै भित्र,धेरै बाहिर,शर्मिलाको दिल्ली जाने सुर
यो चाँहि किन पर्दैन महोदय ?
महामारीमा उता बेहाल अस्पताल, यता बबाल उद्घाटन (भिडियो)
जसपा कहाँ,बबरमहल,बालकुमारी कि डोलेश्वरमा ?(भिडियो)