उपत्यकाका अस्पताल संक्रमितले भरियो,स्वास्थ्य संयन्त्र ठप्प

उपत्यकाका अस्पताल संक्रमितले भरियो,स्वास्थ्य संयन्त्र ठप्प

कोरोना संक्रमण बढ्दै जाँदा देशभरका अस्पतालमाझैँ काठमाडौं उपत्यकाका अस्पतालहरू समेत संक्रमितले भरिएका छन् । कोरोनाका गम्भीर बिरामीहरूको संख्यामा बृद्धि हुँदा अस्पतालमा बेड र अक्सिजन पाउनुलाई ठूलै लडाईं जितेको रूपमा लिनुपर्ने अवस्था देखिएको छ ।

सोमबार शुक्रराज ट्रपिकल टेकु अस्पतालको आइसोलेसनमा ४८, आइसीयुमा १९ तथा भेन्टिलेटरमा ९ जना संक्रमित बिरामीहरूको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार आज १८ जना नयाँ बिरामी भर्ना भएका छन् । अस्पतालबाट १३ जना डिस्चार्ज हुँदा एक जना संक्रमितको निधन भएको छ । अहिले अस्पतालमा ७६ जना बिरामी उपचाररत छन् ।

यस्तै,आयुर्वेदिक अस्पताल, कीर्तिपुरमा पनि संक्रमितको संख्यामा बृद्धि भएको छ । आज आइसोलेसनमा १ सय ४ पुरुष र ३४ महिला गरी १ सय ४१ जनाको उपचार भइरहेको छ । अस्पताल प्रशासनले जनाएअनुसार आज त्यहाँ २० जना नयाँ संक्रमित भर्ना भएका छन् भने १२ जना डिस्चार्ज भएका छन् ।

वीरेन्द्र सैनिक अस्पताल छाउनीको आइसोलेसनमा आज ५७ जना बिरामी रहेको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले जनाएअनुसार आइसीयुमा ५ जनाको उपचार भइरहेको छ भने भीआइपी वार्डमा ९ जना तथा हाइकेयर आइसीयुमा ९ जनाको उपचार भइरहेको छ ।

अस्पतालमा १९ जना नयाँ संक्रमित थपिएका छन् भने ८ जना डिस्चार्ज भएको अस्पतालको भनाई छ । आज उक्त अस्पतालमा २ जना बिरामीको मृत्यु भएको छ । उक्त अस्पतालमा हाल ८० जना संक्रमितको उपचार भइरहेको छ ।

उता शहिद मेमोरियल अस्पताल कलंकीमा पनि आइसोलेसन भरिन थालेको छ । आज त्यहाँको आइसोलेसनमा ३५ जना उपचारार्थ बसेका छन् । कलंकीकै नेशनल अस्पतालको आइसीयुमा ३ जनाको उपचार भइरहेको छ ।

उता राजधानी अस्पताल बल्खुमा ४ जनाले उपचार गराइरहेको अस्पताल श्रोतले बताएको छ । त्यस्तै,बयोधा अस्पताल,बल्खुमा १५ तथा मनमोहन मेमोरियल अस्पताल,स्वयम्भुमा २१ जनाको आइसोलेसनमा उचार भइरहेको छ ।

मुलुकको स्वास्थ्य संयन्त्रले धान्नै नसक्ने गरी अस्पतालमा बिरामीको संख्या बढ्न थालेको भन्दै सरकारले गत साता सार्वजनिक रुपमै ‘बेड नरहेको’ व्यहोरासहित सार्वजनिक अपिल जारी गरिसकेको छ । सिकिस्त बिरामीले अस्पतालहरू भरिभराउ हुन थालेपछि सरकारले हात उठाएको हो ।

टिप्पणीहरू