बालक मर्ने गाडी ल्याएर किन अलपत्र छाडियो ?

बालक मर्ने गाडी ल्याएर किन अलपत्र छाडियो ?

दाङको तुलसीपुर उपमहानगरपालिका–६, स्याउली बजारमा चार महिनादेखि पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको कारभित्र तीन जना बालकको शव फेला परेपछि प्रहरीले कार मालिक र चालकलाई म्याद थपेर मुध्दा चलाउँदै छ ।

स्थानीय विपन्न परिवारका तीन जना बालक कसरी भारतीय नम्बर जे ०१६६०८८५ नम्बरको निशान कारभित्र छिरे भन्नेबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय,तुलसीपुरले बताएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा कारको तीन वटा ढोका लक भए पनि एउटा लक नभएकाले सोही खुल्ला ढोकाबाट बालकहरू तास खेल्ने गरी छिरेपछि गाडी लक भएको हुनसक्ने अनुमान गरिएको छ । त्यसपछि उनीहरू निसास्सिएर बिते र दुई तीन दिनसम्म भित्रको भित्रै परेको हुनसक्छ ।

गाडी बालकहरूको घर छेउमा भएपनि एकान्त ठाउँ थियो । त्यसैले उनीहरू गाडीभित्र चिच्याए पनि कसैले नदेखेको वा नसुनेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रहरीले सवारी धनी र चालकलाई हिरासतमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । जिल्ला अदालतबाट म्याद थप भैसकेको छ ।

सार्वजनिक स्थानमा गाडी पार्क गरेर राखेपछि त्यसमा भएको दुर्घटनाको जिम्मेवारी पनि सवारी धनी र चालकले लिनुपर्ने प्रहरीको धारणा छ । चार महिनादेखि भारतीय नम्बर प्लेटको गाडी भन्सार र राजश्व नतिरी ल्याइएकाले त्यो विषयमा पनि छुट्टै अनुसन्धान गरिने प्रहरी स्रोतले बताएको छ ।

टिप्पणीहरू