पत्रकार १४ वर्षसम्म जेल जान सक्ने

पत्रकार १४ वर्षसम्म जेल जान सक्ने

आफ्नै घरमा संरक्षण दिएर राखेकी किशोरीलाई बलात्कार गरेको अभियोगमा उच्च अदालत पाटनले आइतबार पत्रकार केदार कोइरालालाई दोषी ठहर गरेको छ । कोइरालालाई कति जेल सजायँ होला ? भनेर विभिन्न अड्कलवाजी चलिरहेको छ ।

उच्च अदालतका न्यायाधीश अच्युत विष्ट र डा.नवराज थपलियाको संयुक्त इजलासले कोइरालालाई दोषी ठहर गरेको छ । मुलुकी फौजदारी संहिताको व्यवस्थाअनुसार उनलाई के-कति सजायँ ठेक्ने भन्ने निणर्य भने २७ गतेको पेशीमा तय गरिनेछ ।

काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश तेजनारायण पौडेलको इजलासले कोइरालालाई सफाइ दिँदै पीडित किशोरीलाई १० लाख क्षतिपूर्ति भर्न आदेश दिएपछि पीडित पक्ष उच्च अदालत पुगेको हो ।

मुलुकी अपराध संहिता दफा २१९ को ३ (ग) मा चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्ष भन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म जेल सजायँ हुने प्रावधान छ । यही प्रावधानअनुसार अब कोइरालालाई १४ वर्षसम्म जेल सजायँ हुने गरी फैसला आउन सक्छ । पीडित नाबालिका भएकाले उक्त संहिताको दफा २२८ अनुसार मनासिव क्षतिपूर्ति भराउनसमेत आदेश हुन सक्नेछ । उनले अन्तिम फैसलाको पूणर् पाठ आएपछि जेलभित्र बसेर मात्र सर्वोच्चमा पुनरावेदन गर्न पाउनेछन् । न्यायको अन्तिम खुड्किलो भने कोइरालाका लागि बाँकी नै छ ।

२०७४ जेठ १२ गते पीडित किशोरीका दाजुले प्रहरीमा किटानी जाहेरी दिए । शारीरिक परीक्षण गर्दा गर्भसमेत रहेको पाइएको दाबी अभियोगपत्रमा छ । न्यायाधीश पौडेलको फैसलामा भनिएको छ, वैज्ञानिक परीक्षणबाट ९ साताभन्दा बढीको गर्भ रहेको पुष्टि भयो । घटना भएदेखि पीडितको शारीरिक परीक्षणको मितिसम्म गणना गर्दा १३ साताभन्दा बढी देखिन आयो ।’ ‘त्यो दिनपछि पनि करणी गरेको भनी पीडितले खुलाएको नदेखिँदा केदार कोइराला उपरको कसुर स्थापित हुन नसकी अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ,’ जिल्ला अदालतको फैसलामा उल्लेख छ ।

किशोरीमाथि कोइरालाबाट जबर्जस्ती करणी भएको विषयलाई जिल्ला अदालतले अस्वीकार गरेको छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले भ्रुणबाट डिएनएको नमुना छुट्टिन नसकेको भन्दै परीक्षण गर्न नसकिने जानकारी दिएको थियो ।

पत्रकार कोइरालाले भने त्यो भ्रुण नै आफ्नो नभएको दाबी गर्दै आफूलाई सम्पत्ति, क्षतिपूर्ति र बदलाको भावनाले सुनियोजित रूपमा फसाइएको जिकिर लिँदै आएका छन् । जिल्लाबाट सफाइ पाएपछि कोइरालाले पत्रकारबीचमा एनजिओकर्मी महिलाले आफ्नो व्यवसाय फस्टाउन आफूलाई बलिमा चढाएको बताउने गरेका थिए ।

टिप्पणीहरू