अनलाइन बिधिबाट कलेज चलाऊ भन्छ क्रान्तिकारी

अनलाइन बिधिबाट कलेज चलाऊ भन्छ क्रान्तिकारी

माओवादी भात्री संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) आरआर क्याम्पस कमिटीले अनलाइनमार्फत पठनपाठन चलाउन माग गरेको छ । लामो समय पठनपाठन बन्द हुँदा विद्यार्थीको भविश्य बिग्रने भन्दै क्रान्तिकारीले अनलाइन कक्षा संचालन गर्न माग गरेको हो।

उसले कोभिडका कारण थलिएको शैक्षिक क्षेत्रलाई उकास्न प्रभावकारी कदम चाल्न क्याम्पस प्रशासनलाई आग्रह पनि गरेको छ। अहिलेको परिस्थितिलाई ख्याल गर्दै अल्पकालीन र दीर्घकालीन योजना बनाउनुपर्नेमा क्याम्पस प्रशासन चुकेको क्रान्तिकारीको आरोप छ ।

विज्ञप्तिमा बैशाख १० गते विद्यार्थी संगठन र कलेज प्रशासनबीच भएको सहमतिअनुसार अनलाइन कक्षा सञ्चालन गर्न माग गरिएको छ । सहमतिअनुसार कक्षा संचालन गर्न क्याम्पस प्रशासनले बेवास्ता गरेको भन्दै क्रान्तिकारीले तत्काल स्नातक प्रथम,दोश्रो र तेश्रो वर्षको अनलाइन कक्षा सुचारु गर्न भनिएको हो ।

त्यस्तै,स्नातक प्रथम वर्षको परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूलाई सहयोग पुर्याउने खालको “ Carsh Course“ सञ्चालन गर्न पनि कलेज प्रशासनको ध्यानाकर्षण गराइएको छ । स्नातक दोस्रो वर्षको परीक्षा स्थगित भएको अवस्थामा पर्ख र हेरको रणनीतिमा नलागी तत्काल तेस्रो वर्षको अनलाइन कक्षा चलाउन विज्ञप्तिमा भनिएको छ ।

क्रान्तिकारीले स्नातकोत्तर तहमा नियमित अनलाइन कक्षा सञ्चालन गरेकोमा कलेज प्रशासन र सम्बन्धित विभागहरूप्रति कृतज्ञता पनि व्यक्त गरिएको छ ।

कोरोनाको दोस्रो लहरका कारण देशभरका शिक्षण संस्था बन्द छन् । कोरोनाको पहिलो लहरका बेला झन्डै १० महिना बन्द रहेका शिक्षण संस्थाहरु तँग्रिंदै गरेका बेला फेरि बन्द भएका छन् । यस्तो अवस्थामा सिंगो शैक्षिक सत्र खेर जानसक्ने खतरा रहेको भन्दै क्रान्तिकारीले अनलाइन कक्षा संचालनमा जोड दिएको हो ।

टिप्पणीहरू