कलकत्ताको चुनावी परिणाम किन उल्टो ?

कलकत्ताको चुनावी परिणाम किन उल्टो ?

पश्चिम बंगालमा हालै भएको विधान सभाको निर्वाचनमा ममता बनर्जी स्वयम् र उनको दल पुनः विजयी हुने निश्चित देखिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (बिजेपी) ले पनि ७० देखि ८० सिटको आसपासमा जित्ने बताइन्छ ।

पछिल्लो पाँच वर्षमा बीजेपीसमेत पश्चिम बंगालमा सशक्त हुँदै गएको छ । यसअघिको निर्वाचनमा बिजेपीले पश्चिम बंगालमा मुश्किलले १० सिटको हाराहारीमा जितेको थियो । अहिले सात गुणा बढी जित्ने निश्चित छ ।

कलकत्ताबाट प्राप्त विवरणअनुसार बीजेपीले पछिल्ला वर्षमा त्यहाँ एउटा ठूलै अभियान चलाएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टी अध्यक्ष अमित शाह पालैपालो हरेक हप्ता त्यहाँको भ्रमण गर्नेगरी मिसनमा नै खटिएका थिए ।

बिजेपीले मूलतः ममता र उनको पार्टी तृणमूललाई कमजोर बनाउन निकै ठूलो लगानी र प्रयास गरेको थियो । त्यो प्रयास स्थानीयदेखि केन्द्रसम्मकै थियो । तर,ममता त्यहाँको विपन्न,सीमान्तकृत र निमुखा वर्गसम्म पुगेकी हुँदा बिजेपीलाई पनि त्यति सहज हुन सकेन । उनको पार्टीको नाम नै त्यहि अर्थमा राखिएको छ जहाँ तृणमूल भनेको तीन पाते घाँस हो ।

आज साँझ कलकत्ताबाट प्राप्त विवरणमा जनाइएअनुसार ममता अर्को कार्यकालको लागि पनि विजयी हुने निश्चित झैँ देखिएको छ । यो विजय उनको ह्याट्रिक हुनेछ । ममताको आफ्नो निर्वाचन क्षेत्र भने नन्दीग्राम हो ।

त्यहाँ टाटा मोटर्सको कारखाना स्थापना गर्ने नाममा तत्कालीन कम्युनिष्ट पार्टी मार्क्सवादीले अघि सारेको योजनालाई परास्त गर्न उनले त्यो बेला नन्द्रीग्रामका किसानलाई घरबास उठ्न नदिने प्रतिबद्धता र आश्वासन व्यक्त गरेकी थिइन् ।

अहिले पनि उनी त्यहि क्षेत्रबाट चुनाव उठेर जित्ने तरखरमा लागेकी हुन् । त्यहाँ उनीसँग बिजेपीका सुबेन्दु अधिकारीले टक्कर दिएका छन् । यसअघि अधिकारी ममताकै पार्टीमा थिए । अघिल्लो सरकारमा अधिकारी ममतापछिको शक्तिशाली थिए । आज अबेरसम्ममा ममताले त्यहाँ झिनो मतले अग्रता लिइरहेकी छन् ।

पूरै पश्चिम बंगालमा भने तृणमूलले दुई तिहाई बहुमत ल्याउने निश्चित रहेको बताइन्छ । कुनै बेलाको सीपीएमको सामान्य उपस्थितिसमेत देखिएको छैन । भारतीय काँग्रेसको पनि उही हालत छ ।

पछिल्लो निर्वाचनको विश्लेषण गर्दै बीजेपीले केन्द्रबाट खटाएका कैलाश विजयवर्गेले भनेका छन् ‘मार्क्सवादी र काँग्रेस किन शून्यमा झरे भन्ने कुरो बीजेपीलाई नै अनौठो लागेको छ ।’

त्यहाँ आठ चरणमा अप्रिल महिनाभरि चुनाव भएको थियो । पहिलो चार चरणमा भएको चुनावमा वीजेपीले सर्लक्क जितेको छ । त्यसपछिका चार वटा चरणमा बीजेपीले सोचेझैँ बहुमत नआउनुमा मार्क्सवादी र भारतीय काँग्रेसले तृणमूल पार्टीसमक्ष आत्मसमर्पण गरेको कैलाशको ठहर छ ।

उनका अनुसार बंगालको समस्या पछि मिलेर गरौंला अहिले बिजेपीलाई पश्चिम बंगालमा छिर्न नदिऔं भन्दै काँग्रेस र मार्क्सवादीहरूले तृणमूललाई मतदानको निम्ति आग्रह गरेपछि बिजेपी पछि परेको हो ।

पश्चिम बंगालको नेपाली भाषी क्षेत्रमध्ये कालिम्पोङबाट स्वतन्त्र उम्मेदवारले जितेका छन् । सम्भवतः पश्चिम बंगालको अन्तिम परिणाम आज मध्यरातसम्ममा आउने अनुमान गरिएको छ । नयाँ सरकार आगामी साताभित्र गठन हुने छ ।

विजयी दलका प्रमुखले निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरेपछि पश्चिम बंगालका गभर्नरलाई भेट्ने चलन छ । त्यसपछि गठन हुने राज्य सरकारलाई गभर्नरले शपथ गराउने छन् ।

टिप्पणीहरू