नेतृत्व घिनलाग्दो खेलमा लाग्यो,म बाहिरिएँ : पाण्डे

नेतृत्व घिनलाग्दो खेलमा लाग्यो,म बाहिरिएँ : पाण्डे

नेकपा एमालेका तर्फबाट निर्वाचित कपिलवस्तु २ (क)का सांसद दीर्घनारायण पाण्डेले सत्ताको घिनलाग्दो खेलको साक्षी बस्नै पर्ने भएपछि पद त्यागेको बताएका छन् ।

सत्ताको घिनलाग्दो खेलमा लाग्ने पार्टी नेतृत्वको कदम अनैतिक देखेर आफूले पार्टी र सांसद पदबाट राजीनामा दिएको उनले बताए । आफ्नै दलका नेता शंकर पोखरेल मुख्यमन्त्रीमा पुन: नियुक्त भएको केहीबेरमै पद त्यागेका पाण्डेले सत्ताको घिनलाग्दो खेल देखेर आजित भएको प्रतिक्रिया दिए ।

कोभिडले गाउँ-गाउँमा जनता मरिरहेका बेला सांसदहरुलाई सत्ता समीकरणको पात्र बनाइएको भन्दै उनले विवेकपूर्ण निर्णय गरेर आफू त्यस्तो खेलबाट बाहिरिएको दाबी गरे । जनआस्थासँगको कुराकानीमा उनले भने,’कोभिडले गाउँ-गाउँमा जनता मरिरहेका छन् । यस्तो बेला नेतृत्व तलदेखि माथिसम्म सत्ता जोगाउनका लागि अनेक खेलमा लागेको छ । मलाई चित्त बुझेन त्यसैले राजीनामा दिएँ ।’

जनताको माग र चाहनाअनुसार काम गर्न नसकिएको भन्दै उनले पटक-पटक सदन र दलको बैठकमा कुरा उठाउँदा कुनै सुनुवाई नभएको बताए । ‘सत्ता फेरबदल गर्ने बेला हो यो ?’,प्रश्न गर्दै उनले भने, ‘नेतृत्व अनैतिक खेलमा लागेपछि मैले पद छोडेको हुँ ।’

पाण्डे एमालेमा प्रधानमन्त्री ओलीनिकट मानिन्छन् । ओलीका विश्वासपात्र पोखरेललाई अप्ठेरो पार्नेगरी पाण्डेले पद छोडेपछि धेरैले अचम्म माने । पाण्डेले आफू ओलीनिकट भएपनि सत्ता समिकरणका अनैतिक खेलको समर्थन गर्न नसक्ने बताए । ‘हो म प्रधानमन्त्री ओलीनिकट भनेर चिनिएको हुँ । म त्यहि समूहमा थिएँ । तर अहिले तलदेखि माथिसम्म जे-जे भएका छन् त्यसलाई स्वीकार गर्ने अवस्था रहेन ।’

पार्टी र सांसद पद एकैचोटी छाडेर स्वतन्त्र हैसियत बनाएका उनले अब नयाँ ढंगले राजनीति गर्ने बताए । ‘राजीनामा गरेर स्वतन्त्र हैसियतमा जनतामा जाने निर्णय गरेको छु । जनताका वीचमा गएर फेरि राजनीतिमै क्रियाशील रहन्छु ।’

पाण्डेले एमाले छाडे पनि राजनीति नछाडेको बताए । यद्यपि अहिले कुनै दलमा प्रवेश गर्ने सोच नबनाएको उनको भनाइ छ । ‘स्वतन्त्र रहेर पनि जनताको पक्षमा काम गर्न सकिन्छ । कुनै दलमा रहनै पर्छ भन्ने छैन’, उनले भने ।

आफूले पार्टी र सांसद छोडेपछि केन्द्रीय नेतृत्वले सोधखोज नगरेको पनि उनले बताए ।

टिप्पणीहरू