दाङमा अक्सिजनको हाहाकार,४५ जना संक्रमितको चित्कार

दाङमा अक्सिजनको हाहाकार,४५ जना संक्रमितको चित्कार

दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव भएको छ । यसबाट आजै उक्त अस्पतालमा एक जनाको ज्यान गएको कोरोना अस्पतालका व्यवस्थापक डाक्टर द्रोणबहादुर ओलीले बताउनुभयो । आज अक्सिजन अभावकै कारण एक जना सङ्क्रमितको ज्यान गएको बताइएको छ ।

उहाँका अनुसार ४२ शैयाको कोरोना विशेष अस्पतालमा प्रत्येक १२ घण्टाको अन्तरालमा अक्सिजन अभाव हुन थालेको छ । अक्सिजनमा आत्मनिर्भर नहुँदा आज बिहानदेखि देखेको र सुनेको बिरामीहरुको चित्कार खपिनसक्नु छ ।उहाँका अनुसार अस्पतालसँग राती ९ बजेसम्मलाई पुग्ने अक्सिजन मात्र छ ।

यसअघि साँझ ६ बजेसम्मलाई मात्र पुग्ने अक्सिजनका कारण घोराही सिमेन्ट कारखानाबाट ४,तुलसीपुर उपमहानगरपालिकाबाट १६, सोनापुर सिमेन्टबाट ११,गणपति प्लाई उद्योगबाट २ तथा जिल्ला प्रशासन कार्यालयबाट ४ वटा अक्सिजन सिलिण्डर संकलन गरिएको थियो ।

अस्पतालसँग हाल ७६ वटा सिलिण्डर रहेपनि सबै बिरामीलाई एकैसाथ चलाउँदा राती १० बजेसम्ममा सकिने बताइएको छ । ओलीका अनुसार डिपोबाट साढे १२ बजेभन्दा अगाडि अक्सिजन आएन भने ४० देखि ४५ जनाको ज्यान जान सक्छ । प्रशासन र स्थानीय निकायले सहयोग गरेपनि ढुक्कसँग निदाउने अवस्था नरहेको बताए ।

प्रशासनले सिलिण्डर अभाव नहुने प्रतिबद्धता जनाएको छ । तर, सर्वत्र अभाव देखिएकोले अक्सिजन भनेजति परिमाणमा पाउनसक्ने सम्भावना न्यून छ ।

टिप्पणीहरू