बुध्दको जन्मभूमिमा चार मन्त्रीको कन्तबिजोग

बुध्दको जन्मभूमिमा चार मन्त्रीको कन्तबिजोग

सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर रातारात मन्त्री बनेका चार जनाको बिजोग हुने भएको छ । पार्टीको निर्णयविपरित जसपाको तर्फबाट हालै मन्त्री बनेका चार जनाले सांसदसंगै मन्त्री पद पनि गुमाएका छन् ।

सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था भएपनि आज मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि उनीहरुको कन्तबिजोग हुने भएको जसपाका एक नेताले बताए । ‘मन्त्रीकै लागि रातारात उता लागेका थिए,उनीहरुसँग अब न टेक्ने ठाउँ रह्यो न समाउने हाँगा । कन्तबिजोग पो हुनेभयो त’,ती नेताले भने ।

गत वैशाख ६ गते कांग्रेस, माओवादी र जनमोर्चासँग मिलेर जसपाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेको थियो । उक्त प्रस्तावमा जसपाका ५ जनाको हस्ताक्षर थियो । जसमध्ये सन्तोषराज पाण्डे,विजयबहादुर यादव,सुमन शर्मा रायमाझी र कल्पना पाण्डे मन्त्री बनेका थिए ।

आफैंले गरेको हस्ताक्षरको मसी नसुक्दै पार्टीको निर्णय विपरित मन्त्री खान गएका उनीहरुलाई जसपाले पार्टी सदस्य र सांसद नरहने गरी कारवाही गरिसकेको छ ।

पोखरेल आफैं तनावमा

दिउँसो सपथ लिने तयारीका साथ सबेरै राजीनामा दिनुभएका मुख्यमन्त्री शंकर पोखरेललाई नसोचेको धक्का लागेको छ । पोखरेलको विश्वासपात्रसमेत भनिएकी दाङकी प्रदेशसभा सदस्य विमला ओलीले एमाले छोडेर माओवादी प्रवेश गरेपछि सत्तासमीकरणमा नयाँ ट्वीस्ट आएको छ।

‘अरुको चोर्दाचोर्दै आफ्नै गुमाउनु परेको छ। यसले नैतिकताको राजनीति नगर्दा कस्तो परिणाम भोग्नुपर्छ भन्ने सबैलाई सिकाएको हुनुपर्छ’,जसपाका ती नेताले भने ।

यसअघि आज बिहान राजीनामा दिएलगत्तै संसदीय दलको बैठक बोलाएर पोखरेलले एकल बहुमतको सरकार बनाउने निर्णय गराउनुभएको थियो । बैठकको निर्णय बोकेर प्रदेश प्रमुखको कार्यालयमा पुग्दै गर्दा यता विमला माओवादीतिर लागेको खबर सुनेपछि पोखरेल बीचबाटै फर्किनुभएको बताइन्छ । त्यसलगत्तै उहाँले संसद्को विशेष अधिवेशन अन्त्य गर्नुभएको हो ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका २ र जसपाका ४ गरी ६ सांसद कारवाहीमा परेपछि ८१ मा सीमित छ । जसमध्ये एमाले एक्लैको ४१ सांसद थियो,जुन सरकार बनाउन पुग्ने संख्या हो । तर,एक सांसद विपक्षी गठवन्धनमा लागेपछि पोखरेलले बहुमत गुमाउनुभएको छ ।

विपक्षी गठवन्धनमा नेपाली कांग्रेसका १९,माओवादी केन्द्रका १७,जसपाका २ र जनमोर्चाका १ सांसद छन् । अब प्रदेशसभामा सभामुखबाहेक ४०-४० को अवस्था बनेको छ । सभामुख पूर्ण घर्ति माओवादीका तर्फबाट निर्वाचित हुनुभएको हो । प्रदेशसभामा मत बराबर भएको अवस्थामा उहाँले निर्णयक मत दिन पाउनुहुन्छ ।

टिप्पणीहरू