उद्घाटन गर्न नपाए पहाड पल्टन्छ ? « janaaastha.com
२ जेष्ठ २०७८, आईतवार

उद्घाटन गर्न नपाए पहाड पल्टन्छ ?



– वैकुण्ठ ढकाल

वैशाख ११ गते लोकतन्त्र दिवस, कोरोना संक्रमणका कारण देखाउँदै औपचारिक कार्यक्रमहरू भएनन् । तर, सोही अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नुभयो । धरहरा उद्घाटन त भयो तर निर्माण सम्पन्न भइसकेको छैन । कतिपय पूर्वाधार बनाउन बाँकी छ । साढे तीन अर्ब लागतमा धरहरा ठहरियो । प्रधानमन्त्री ओलीले धरहरा ठडिएको उपलक्ष्यमा दीपावलीको निम्ति आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीको आग्रह कसले सुने, कसले कार्यान्वयन गरे त्यसको रेकर्ड राख्नु नै भयो होला ।

त्यही दिन नेपालगञ्जमा कोरोना महामारी थेग्न नसक्ने गरी फैलियो, हामी केही गर्न नसक्ने अवस्थामा पुग्यौं भन्दै उपचारमा संलग्न चिकित्सक र नर्सहरूले हारगुहार गरे । सरकारसँग बिलौना पोखे । तर, सरकार धरहरा उद्घाटनमा व्यस्त भइदियो । अनि धेरैले सरकारको प्राथमिकता के हो भनेर बुझे । सरकारलाई फेरि एकपटक चिने । यो सरकारलाई विशेषगरी उद्घाटन र शिलान्यासमा कत्तिको दिलचस्पी छ भन्ने उदाहरण हेर्न धेरै टाढा जानै पर्दैन । प्रधानमन्त्री ओलीलाई उद्घाटन र शिलान्यास गर्न नपाए हात चिलाउँछ । कोरोना संक्रमण नियन्त्रणका लागि भनेर स्वास्थ्य मापदण्ड जारी गरिसकेपछि पार्टी कार्यालय उद्घाटन भयो । त्यसअघि पनि उद्घाटन र शिलान्यासमा व्यस्त हुनुभएकै छ ।

मेलम्चीको पानी काठमाडौंमा झार्ने कामको कति पटक उद्घाटन भयो ? सामान्य नागरिकले पनि हिसाब राखेका छन् । त्योभन्दा अलिक अगाडि प्रधानमन्त्री निवास बालुवाटारमा ठूलै तामझामका साथ राम, सीताका मूर्ति चितवन लग्ने कार्यक्रम भयो । केही दिनअघि प्रतिनिधिसभाका हरेक निर्वाचन क्षेत्रमा एउटा सडकको शिलान्यास भयो । तर अचम्म, कहाँ कुन सडक बन्ने कुनै टुंगो छैन । केही महिनाअघि सरकारले तीन सयभन्दा बढी स्थानीय तहमा अस्पताल बनाउने भनेर एक साथ शिलान्यास गर्‍यो ।

प्रधानमन्त्रीले गरेका सबै उद्घाटन र शिलान्यासका समाचार बनेका होलान् ? समाचार बनाउन लायक थिए होलान् ? यदि त्यसो हुन्थ्यो भने प्रधानमन्त्रीले सरकारले गरेका काम मिडियाले देखेनन् भनेर किन बिलौना गर्नु पथ्र्यो होला र ? हुन पनि बालुवाटारमा केही न केही कार्यक्रम भएकै छन् । कार्यक्रम खाली भएका दिन प्रधानमन्त्री ओलीलाई उत्कृष्ट गीतकारको अवार्ड दिन पनि पुगेकैै छन् । पुस्तक विमोचन भइरहेकै छन् । त्यसले जनतालाई के दियो भन्ने कुराको कसलाई के मतलब ? दैनिक २० घण्टासम्म जनताको काम गरेको दाबी गर्ने प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय त आफ्नो गुणगान गाउने मिडिया छानीछानी अन्तर्वार्ता दिइरहनुभएको छ । कोरोना महामारीले नागरिक छट्पटाई रहेका बेला बेसार पानी र अम्बाको पातको महात्य सुनाउन व्यस्त हुनुहुन्थ्यो । बाँकी रहेको समय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहित आफू विरोधीविरुद्ध र मिडियामाथि विष बमनमा खर्चन मस्त हुनुहुन्थ्यो ।

अघिल्लो यो समय देश लकडाउनमा थियो । अहिले कोरोना महामारीको दोस्रो लहर शुरु भएको छ । देश फेरि लकडाउनमा जाने देखिएको छ । परीक्षा शुरु हुने अघिल्लो दिन स्थगितको सिफारिस भएको छ । अघिल्लो वर्ष पनि एसईई परीक्षा शुरु हुने अघिल्लो दिन स्थगित गरिएको थियो । यो वर्ष आसन्न परीक्षाहरू स्थगित भएका छन् ।बाँकेमा कोरोना संक्रमणको चेन ब्रेक गर्र्न भनेर जिल्लाव्यापी लकडाउन गरिएको छ । कतिपय जिल्लामा शैक्षिक संस्था बन्द गरिएका छन् । कतिपय जिल्लामा सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ । कोभिड नाइन्टिन नियन्त्रण समितिले पहाडी जिल्लामा दुई सय सक्रिय संक्रमित र शहरी जिल्लामा ५ सय सक्रिय संक्रमित भएपछि निषेधाज्ञा जारी गर्न स्थानीय प्रशासनलाई अनुमति दिइसकेको छ । यसको मतलब अब निषेधाज्ञाबाट देश धेरै टाढा छैन ।

सरकार निषेधाज्ञा गर्न अनुमति दिनुलाई सबैभन्दा ठूलो काम ठान्छ र अब मस्त निदाउँछ । अघिल्लो वर्ष कोरोनाले केही सय मानिसको मृत्यु भएको त हो नि, खासै केही भएन भनेर केही पहल गर्दैन । अघिल्लो वर्ष कोरोनाविरुद्ध खोप आएको थिएन । यो वर्ष त खोप आएको छ तर खोप उत्पादक देशहरूलाई दोस्रो लहरले आक्रान्त पारेकाले नेपालले खोप पाउने सम्भावना कम छ । त्यहाँमाथि खोप लगाउँदैमा कोरोना संक्रमण नहुने भन्ने कुरा पनि गलत सावित भइसकेका छन् । खोपले जोखिम कम गर्नेचाहिँ पक्का हो । फेरि खोप लगाउनेभन्दा नलगाउनेको संख्या अत्यधिक हुने भएकाले कोरोनाबाट सुरक्षित भइहाल्ने भन्ने पक्कै पनि होइन । यसको लागि व्यक्तिगत सावधानी पनि महत्वपूणर् छ । प्रत्येक मानिसले आफू बाहेक सबै संक्रमित हुन् भनेर व्यवहार गर्नुपर्ने आवश्यकता टड्कारो भइसकेको छ ।

बडो गज्जबको सरकार बनेको थियो, तीन वर्षअघि । झण्डै दुई तिहाई बहुमतसहितको कम्युनिष्ट सरकार । दोस्रो पटक केपी शर्मा ओली प्रधानमन्त्रीको सिंहासनमा बस्नु भयो । ठूला सपना बाँड्नु भयो । ठूलो कुरा गर्नु भयो । सरकारले पहिलो, दोस्रो, तेस्रो वर्ष पूरा गर्‍यो । अनि आफूलाई कामै गर्न नदिएको प्रचार गर्‍यो । आफ्नै पार्टीबाट घेराबन्दीमा परेको बारम्बार प्रधानमन्त्रीले गुनासो गर्नुभयो । अनि आफूलाई अनुकूल नहुने प्रतिनिधिसभा चाहिँदैन भनेर विघटन गरिदिनुभयो । त्यसको असर अहिले सबैतिर देखिएको छ  । यसले राजनीति चरम धु्रविकृत बन्यो ।

संघदेखि प्रदेशसम्म एकले अर्कोलाई हराउने खेल शुरु भए । यसले त काम नगर्नेलाई निहुँ भयो । मुख्य काम छाडेर सरकार अन्यन्त्र मोडिन पायो । प्रधानमन्त्रीलाई कसरी आफ्नो र आफू निकटका मुख्यमन्त्रीको पद कसरी जोगाउने भन्ने पर्न थाल्यो । त्यसमै बढी व्यस्त हुनुपर्‍यो पछिल्लो समय । यही बेला कोरोनाले दोस्रो लहरको आक्रमण थाल्यो । सरकारले मुखले विशेष सावधानी अपनायो । यही सरकार असारसम्म तीन लाख नेपालीमा कोरोना संक्रमण हुन सक्छ भनेर प्रक्षेपण गरिरहेको छ । तर अहिल्यै अस्पतालहरूमा बेड अभाव भइसकेको छ ।

गम्भीर अवस्थाका संक्रमितले अक्सिजन नपाएको दारुण तस्वीरहरू सार्वजनिक भइरहेका छन् । तर बेड थपका लागि काम भएका छैनन् । गत वर्ष नै गरिएका निणर्यहरू अझै कार्यान्वयनमा आउन सकेका छैनन् । यसले सरकारले नागरिकका लागि माखो नमार्ने पक्का छ । तर नेपाली नागरिक पनि बडो अटेरी छन् । आफूलाई कसैगरी पनि कोरोना संक्रमण हुँदैनजस्तो ठानिरहेका  छन् । मास्क पनि अरुले नै लाइदियोस्, लकडाउन पनि अरुले नै पालना गरिदिउन्, आफूचाहिं फुक्काफाल भएर हिंड्न पाऊँ भनिरहेका छन् । हुन त जस्तो जनता उस्तै शासक पाइन्छ भन्ने उखान पनि छ । जस्तो जनता उस्तै शासक भनेर सबैले लत्तो छाडिदिने हो भने स्थिति के होला ? तसर्थ सबै नागरिकले कोरोनाबाट बच्नको लागि हरसम्भव प्रयास गर्नु आवश्यक छ । अघिल्लो वर्षजस्तो कोरोनालाई जित्नु कठिन छैन । किनकि अघिल्लो लहरको भन्दा अहिले गाह्रो पार्ने गरी कोरोना संक्रमण आएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राजदूत नियुक्ति :थोरै भित्र,धेरै बाहिर,शर्मिलाको दिल्ली जाने सुर
यो चाँहि किन पर्दैन महोदय ?
महामारीमा उता बेहाल अस्पताल, यता बबाल उद्घाटन (भिडियो)
जसपा कहाँ,बबरमहल,बालकुमारी कि डोलेश्वरमा ?(भिडियो)