गण्डकी र लुम्बिनीमा माधव नेपाल किन कमजोर ?

गण्डकी र लुम्बिनीमा माधव नेपाल किन कमजोर  ?

सत्तारुढ दल एमालेभित्रको आन्तरिक राजनीति सतहमा आइपुग्दा ओली पक्षसङ्ग पूर्व,मधेस र बाग्मतीमा हाराहारी रहेको माधव नेपाल समूह लुम्बिनी र गण्डकी प्रदेशमा भने कमजोर रहेको आँकलन गर्न थालिएको छ ।

बालुवाटारको अनौपचारिक छलफलमा समेत माधव नेपाल निकट सबैभन्दा धेरै नेता लुम्बिनीमा हुँदा पनि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सँसदीय अँकगणितमा बलियो देखिँदा उनीहरू आफैँले अचम्म मानेका हुन् ।

उपाध्यक्ष युवराज ज्ञवाली,बेदुराम भुसाल,घनश्याम भुसाल र गोकर्ण बिष्ट मात्र होइन पाल्पाका सोम पाण्डे पनि नेपाल समूहको दह्रो खम्बा हुन् । तर,त्यति धेरै नेता भएको समूहको प्रदेश सभामा मुश्किलले दुई जना सांसद देखिन्छन् ।

विष्णु पन्थी र पाल्पाकी एक महिला सांसदलाई लुम्बिनीमा माधव नेपालपक्षीय भनेर चिनिन्छ । टिकट लिँदै त्यो खेमाले ध्यान नपुर्याएको अहिले प्रष्ट भएको छ ।

उक्त क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको अति निकट भनेर चिनिएका नेताहरूमा अर्थमन्त्री विष्णु पौडेल मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली हुनुहुन्छ । तीमध्ये ज्ञवालीको तल्लो तहमा खासै नेता तथा कार्यकर्ता देखिँदैनन् ।

मुख्यमन्त्री भएकाले शंकरको दाङतिर केही प्रभाव देखिन्छ । तर सोलोडोलो उक्त क्षेत्र विष्णु पौडेल एक्लैले थामेको बताइन्छ ।
यसबाट नेपाल पक्षका नेताहरूले स्थानीय राजनीति र कार्यकर्तालाई भन्दा माथितिरको राजनीतिमा बढी ध्यान दिएको कारण उक्त अवस्था आएको हो भन्न थालिएको छ ।

लुम्बिनीपछि गण्डकीमा पनि त्यहि हालत देखियो । त्यहाँ पनि प्रदेशसभामा जम्माजम्मी एक जना बागलुङका इन्द्रलाल सापकोटा मात्र हुनुहुन्छ ।

अहिले गण्डकी र लुम्बिनीमा कर्णालीमा जस्तै फ्लोर क्रस गरेर अर्काको सरकार टिकाउने अनि आफ्नो पद जाने काम गर्नु बुध्दिमत्तापूर्ण कार्य नभएको बताउन थालिएको छ ।

पार्टीभित्रको छिनाझप्टीले संसदीय राजनीतिमा एमाले एक हुँदा जुन उपलब्धि प्राप्त भएको थियो,अहिले ठ्याक्कै त्यस विपरित हुँदै गएको अवस्था छ । प्रधानमन्त्री ओलीले जे भने पनि समग्रमा दुवै पक्षको जोड घटाउले खासै काम गरेको देखिँदैन ।

टिप्पणीहरू