चुनाव कसले गराउने अनि कहिले गराउने ?

चुनाव कसले गराउने अनि कहिले गराउने ?

कोरोना संक्रमणको दोस्रो लहरले मुलुकलाई कुन अवस्थामा पुर्याएर छाड्छ अहिले नै भन्न सकिने स्थिति छैन । तर पनि मुलुकको राजनीतिले कुनै न कुनै ठाउँमा गएर निर्वाचन गराई छाड्ने विश्लेषण गर्न थालिएको छ ।

निर्वाचन नगराउने होइन तर निर्वाचन गराउनको लागि सरकार कसको नेतृत्वमा गठन गर्ने भन्ने मात्र अहिलेको पेचिलो प्रश्न हो । मुलुकको आन्तरिक राजनीतिमा निकै प्रभाव जमाउँदै आएको दक्षिण र जसपाको आगामी भूमिकाले त्यसको निर्धारण गर्ने बताइन्छ ।

भारतको रणनीति र मधेशवादी दलहरूको विगतलाई हेर्दा उनीहरूले जुनसुकै नाम र बहानामा रेशम चौधरीलाई छुटाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई चटक्कै छाडिदिने एकथरिको ठोकुवा थियो तर अहिले परिस्थिति अर्कैतिर बिकसित भएर जसपा बिभाजनतिर उन्मुख छ ।

जसपाभित्रको अन्तरविरोध चर्केर माइन्युट च्याताच्यात,अल्पमत,बहुमत र फरक फरक पत्राचारको अवस्थामा पुगेकाले उसले पूरै समर्थन गर्ने वा फिर्ता लिने भन्ने अवस्था नै नआउने बताइन्छ ।  उपेन्द्र यादव कुनैपनि हालतमा भारत र प्रधानमन्त्रीको पक्षमा नदेखिने गरी वातावरण बन्दै गएको छ ।

सूत्रका अनुसार केही समयअघि उपचारार्थ नयाँ दिल्ली जाँदा डा.बाबुराम भट्टराईले प्रधानमन्त्री मोदीबाहेक सबैजसो भारतीय नेतासँग भेट गरेका थिए । भारतीयहरूको पछिल्लो धारणा सबैभन्दा धेरै थाहा पाउने नेपाली राजनीतिज्ञमध्ये बाबुराम पनि हुन् । त्यसैले काठमाडौं फर्केपछि उनले सर्वदलीय सरकारको धारणा राखेको अवस्था थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थहरूमध्येका एकथरीले सरकार नढल्ने र चुनाव पनि नहुने अवस्थामा माधव नेपालहरूलाई कारबाही नगरौं भनेपछि उक्त विषय थाती रहेको छ । एमालेको अपानि १० जारी हुँदासम्म उक्त कारबाही रोकिएको देखिन्छ ।

बालुवाटारकै खाँटी ओली पक्षीयहरूले भने कारबाही गरे पनि नगरे पनि वरिष्ठ नेता माधव नेपालको आगामी निर्वाचनमा जित्ने कुनै निश्चित निर्वाचन क्षेत्र नभएको बताउन थालेका छन् ।

रौतहटमा प्रभु साह र काठमाडौंमा आफूहरूले सजिलै परास्त गरिदिने उनीहरूको क्याल्कुलेशन देखिन्छ ।

टिप्पणीहरू