के होला जेठ ६ गतेको परिणाम ?

के होला जेठ ६ गतेको परिणाम ?

माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका तर हालै एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादलले दलबदल गरेको सूचना दिएलगत्तै सांसद पद सकिएको छ ।

राष्ट्रियसभा सदस्य रिक्त भएको पैंतिस दिनभित्र निर्वाचन गर्नुपर्ने बाध्यकारी व्यवस्थाअनुसार बाग्मती प्रदेशमा जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो । माओवादीबाट एमालेमा प्रवेश गरेका गुल्मीका चन्द्रबहादुर खड्काको रिक्त पदमा पनि जेठ तेश्रो साता निर्वाचन हुँदैछ ।

कुनै हालतमा बादललाई राष्ट्रियसभा सदस्यमा निर्वाचित गराएर अकण्टक नौ वर्ष सांसद बनाउने योजनामा तुषारापात हुने भन्दै माधवका खास मान्छेहरूले उक्त निर्वाचनमा भोट नहाल्ने आँकलन बालुवाटारभित्रै गरिएको हो ।

उनीहरूको विश्लेषणअनुसार बादललाई माओवादीले भोट दिने कुरो भएन,काँग्रेसले पनि दिँदैन । बरु उनीहरूबीच लुम्बिनी र बाग्मतीको सिटमा भागबण्डा गरेर जित्ने योजना बन्न थालेको बताइन्छ ।

उक्त निर्वाचनमा जनप्रतिनिधिले मात्र मत हाल्ने भएकाले यसमा राजनीतिक तहमा हुने सहमतिले सतप्रतिशत काम गर्ने पक्का छ । त्यसमाथि पनि गोप्य मतदान भएकाले भोट क्रस हुँदासमेत कसैले थाहा पाउने अवस्था रहँदैन ।

बादल र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो व्यवहारसँग असन्तुष्ट भोटर्सहरू अहिले नै खुलिसकेका छन् । गोप्य मतदान भएकाले स्वयम् एमालेका जनप्रतिनिधिले समेत बादलको विरुद्धमा मतदान गर्ने सम्भावना उत्तिकै छ ।

अर्कोतर्फ बादल भने एक्लै एमालेमा आएका हुन् । उनको एउटा भोटर्ससमेत अहिलेसम्म एमालेमा आएका छैनन् । बरु माधव नेपालको निम्ति संगठनको हिसाबले सबैभन्दा बलियो बागमती प्रदेश देखिएको छ ।

राष्ट्रिय सभा मतदानमा प्रदेशसभा सदस्यको मतभार सबैभन्दा धेरै हुने भएकाले कोरोनाको कहरबीच हुन लागेको राष्ट्रिय सभा निर्वाचनको कारण छ गतेको परिणामबारे यसै भन्न नसकिने विश्लेषण गर्न थालिएको छ ।

टिप्पणीहरू