धनगढीको जितमा बुटवल र बिराटनगरले बाँडे अङ्क

राजधानीमा जारी नेपाल सुपर लिगमा सम्हालिएको खेल प्रदर्शन गर्न नसक्दा शनिबार एफसी चितवन धनगढी फुटबल क्लबसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा धनगढीले चितवनलाई ३–० गोल अन्तरले हराएको हो । पहिलो हाफमा दबाब दिएर खेले पनि दोस्रो हाफमा सम्हालिएको खेल देखाउन नसक्दा चितवनले पराजय भोग्नुपरेको थियो ।

पहिलो हाफमा चितवनले गरेका केही प्रयास गोलपोष्टको बारमा लागेर फर्किएका थिए भने धनगढीका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै विफल पार्द चितवन अभागी साबित भएको हो । तर, दोस्रो हाफमा आक्रामक रणनीतिका साथ मैदान प्रवेश गरेको धनगढीले अन्तिम १६ मिनेटभित्र तीन गोल गर्दै स्पष्ट तीन अंक जोड्न सफल भएको हो ।

धनगढीको जितमा निशान लिम्बु, ओलावाले आफिज र बुद्ध तामाङले दोस्रो हाफमा एक एक गोल गरेका थिए । यसअघि पहिलो हाफ गोल रहित बराबरी खेलेको धनगढीले दोस्रो हाफमा प्राप्त मौकालाई भरपुर सदुपयोग गरेको थियो ।

६४ औं मिनेटमा निशानको गोलबाट धनगढीले १–० को अग्रता बुनेको थियो भने ६९ औं मिनेटमा ओलावालेले गोल गर्दै धनगढीको अग्रता दोब्बर पारेका थिए । ८० औं मिनेटमा बुद्धले गोल गर्दै धनगढीलाई ३–० को जित निश्चित गरेका थिए ।

खेलमा धनगढीका निशान लिम्बु प्लेयर अफ दि म्याच चुनिएर २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । इमर्जिङ प्लेयर अफ दि म्याच धनगढीकै बुद्ध बल तामाङ घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै, जारी लिगमा दोस्रो जित निकालेको धनगढीले ४ खेलमा ७ अंक जोडेको छ । उता पहिलो हार भोगेको चितवनले ३ खेलमा मात्र २ अंक जोडेको छ । चितवनले पहिलो खेलमा ललितपुर सिटीसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा बुटवलसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

लिग अन्तर्गतकै दोस्रो खेलमा बुटवल लुम्बिनी फुटबल क्लबले विराटनर सिटी फुटबल क्लबलाई इन्जुरी समयमा रोक्न नसक्दा २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

बुटवलले दुई पटक लिएको अग्रतालाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो । बुटवलका लागि छैटौं मिनेटमा ओमोलाजा नुरिन करिमले पहिलो र ६८औं मिनेटमा लक्ष्मण रुचालले दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफ बराबरी खेल्दा लुम्बिनीको अग्रता बिराटनगरले ४२ औं मिनेटमा पेड्रो मान्जीको गोलबाट तोडेको थियो ।

त्यस्तै, दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गर्न केही चुकेको बिराटनगरले इञ्जुरी समयमा भने फ्रिकिकमार्फत् गोल गरेर बराबरीको अवस्थामा आएको थियो । उक्त गोल फर्काउँदै बिराटनगरले अंक खोस्न सफल भयो । इञ्जुुरी समयमा विराटनगरका लागि सन्तोष तामाङले फ्रिकिकबाट गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याउँदा टोलीलाई हारबाट जोगाउन सफल भएका थिए ।

प्रतियोगितामा भोलि पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

टिप्पणीहरू