देशभरि नै भयावह अवस्था आउँदैछ « janaaastha.com
२ जेष्ठ २०७८, आईतवार

देशभरि नै भयावह अवस्था आउँदैछ



– डा. लोचन कार्की, अध्यक्ष, नेपाल चिकित्सक संघ
१२ हजार चिकित्सक आबद्ध छन् नेपाल चिकित्सक संघमा । तिनैका नेता हुन् डा. लोचन कार्की । तीन वर्षे कार्यकालका लागि अघिल्लो वर्ष निर्वाचित उनले यसअघि नै कार्यकारिणी समितिको महासचिव भएर संघ चलाए ।

राष्ट्रपति विद्यादेवी भण्डारीकै गृहजिल्ला भोजपुरबाट विराटनगर झरेका उनी एउटा सामान्य खेती-किसानी गर्ने परिवारका सदस्य हुन् । विराटनगरबाट क्याम्पस पढ्न काठमाडौं टेक्दासम्म डाक्टर बनेर सानै उमेरमा नाम कमाउँछु भन्ने त सोचेकै थिएनन् । घट्टेकुलोको डेरामा स्टोभमा दम दिँदै भात पकाएर पढेको त्यो संघर्षको जीवन र आज ४० वर्षकै उमेरमा देशभरिका निजी चिकित्सकहरूको संगठनमा अध्यक्ष हुने दिनका बीच संघर्षको ठूलो कथा बुनेका मान्छे हुन् उनी ।

अहिले मुलुकमा कोरोनाको दोस्रो लहर छ । काठमाडौंजस्ता ठूला शहर हटस्पट बन्दै छन् । सरकारका अगुवाहरूले भिड, भेला गर्दै हिँडेको देख्दा आजित छन् उनी । बेलैमा सरकार र सर्वसाधरण सजग नहुने हो भने अस्पतालको बेडसमेत नपाउने भयावह स्थिति आँखाअगाडि नाचिरहेको छ ।

– हरि गजुरेल

कोरोनाको दोस्रो लहर अहिले शहरकेन्द्रित छ । यो लहर गाउँ-गाउँमा पुग्ने खतरा कत्तिको देख्नुहुन्छ ?
-कुनै पनि सरुवा रोग, मान्छेबाट मान्छेमा सर्ने हो । कोरोना पनि शहरबाट गाउँ-गाउँसम्म पुग्न धेरै बेर लाग्दैन । मान्छेको गतिबाटै कोरोना सर्ने हो । श्वासप्रश्वास, एकअर्कोलाई छुँदा भाइरस सर्ने हो जसरी अरु सरुवा रोग एकबाट अर्कोमा सर्छ । मुभमेन्ट जति हुन्छ, उति नै यो भाइरस अर्कोमा सर्ने खतरा बढी हुन्छ । अहिले गाउँ सुरक्षित देखिएको कारण त्यहाँ मान्छे कम, मुभमेन्ट कम भएर मात्र हो । जब शहरबाट गाउँतिर मान्छे फर्कन थाल्छन्, तिनले भाइरस बोक्ने खतरा बढी रहन्छ ।

संक्रमणको पहिलो र दोस्रो लहरमा के भिन्नता छ ? असर कस्तो हुन्छ ?
– पहिलो लहरमा एक किसिमको भाइरस थियो । त्यो चाइनाको वुहानबाट युरोप, अमेरिका, भारत हुँदै नेपाल छिर्योे । भाइरस यस्तो चिज हो, यसले आफ्नो रुप परिवर्तन गर्दछ । जसलाई हामी जिन भन्छौं, जिनको सिक्वेन्स चेञ्ज भएपछि यसले खतरनाक रुप लिन्छ । कहिले पहिलेभन्दा साधारण हुन्छ । अहिले भारत हुँदै नेपाल छिरेको कोरोना भाइरसको दोस्रो लहरलाई हामी युके भेरियन्ट भन्छौं । साउथ अफ्रिकन भेरियन्ट, ब्राजिलियन भेरियन्ट पनि छ तर नेपालमा चाहिँ युके भेरियन्ट धेरै छ । पहिलेको भन्दा यसको संक्रमण गर्न सक्ने क्षमता उच्च छ । पहिलाको भाइरसले एक जनाबाट आठ वा दश जनालाई सार्न सक्थ्यो भने अहिलेकोले १५ जनालाई सार्छ अर्थात् पहिलाको भन्दा ५० प्रतिशत संक्रमण दर बढी छ । मृत्युदरचाहिँ कम छ भनिन्छ तर संख्यामा बढी फैलिने भएपछि नम्बरमा बढी आउने देखिन्छ ।

पहिलाको भाइरसले दीर्घरोगी,बृद्धबृद्धा बढी संक्रमित देखिन्थे तर अहिलेको युवा तथा बालबालिकामा संक्रमणदर बढी देखिनुको कारणचाहिँ के हो ?
– पहिलाको संक्रमणले बच्चाहरूलाई छोएको देखिएको थिएन, अहिले १६ वर्षमुनिका संक्रमित भएका छन् । भाइरसले रुप फेरेसँगै यसको क्यारेक्टरमा पनि परिवर्तन आउँछ । अहिलेको भाइरसले बच्चालाई असर गर्ने खालको रुप लिएर आयो ।

स्वास्थ्य मन्त्रालयले हालै गरेको एक प्रक्षेपणले भन्छ, केही महिनामै ६ लाख, दैनिक कोरोना संक्रमित हुनेको संख्या १० हजार हाराहारी पुग्दै छ । हाम्रो स्वास्थ्य प्रणालीले कतिसम्म बिरामी धान्न सक्छ ?
– खुलेर कुरा गर्ने हो, काठमाडौंका अधिकांश अस्पतालको बेड फुल भएको छ । बेड मिलाइदिनुहोस् भनेर चिकित्सक संघका साथीहरूलाई दैनिकजसो फोन आउन थालिसक्यो । आजै हामीले बेड संख्या थपेनौं, अक्सिजन बेड, अक्सिजन प्लान्ट थपेनौं भने हस्पिटल नपाएरै मानिसको मृत्यु हुने सम्भवना बढ्दो छ । यसलाई हल्का रुपमा नलिई तत्काल थप्नुपर्ने अवस्था छ । अहिले भटाभट चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित भइरहेको अवस्था छ । जनशक्ति तयार गर्ने, थप गर्न पर्ने अवस्था छ । अन्यथा भयावह स्थिति आउँछ ।

हामीसँग बेड संख्या कति छ ?
– पहिला १ हजार भनिएको थियो, सरकारले ५ सय थपेपछि १५ सयदेखि २ हजार आइसियु बेड होला । कोभिड कम हुँदै गएपछि सरकारले यतातिर ध्यानै दिएन । कोभिड हामीले कन्ट्रोल गर्यौंे भन्ने झुटा विश्वासमा बस्यो । विश्वका कतिपय मुलुकमा दोस्रो लहर आइरहेको देख्दादेख्दै पनि सिक्न सकेनौं । पहिलो लहर आएजस्तै दोस्रो लहर पनि आउँछ भनेर तयारी अवस्थामा बस्नुपथ्र्यो । भएका आइसोलेसन वार्ड व्यवस्थित गर्नुपर्नेमा बन्द गर्दै गयौं । अक्सिजन प्लान्ट थप्ने काम भएन । सरकारले २ हजार हाइ डिपेन्डेन्सी युनिट खोल्छु भनेकोमा अहिलेसम्म ६ सय मात्र खोल्न सकेको स्थिति छ । पैसा छुट्ट्याइएको थियो । त्यो पैसा के भयो थाहा छैन । जति काम हुनुपर्ने हो त्यो भएको छैन । अहिले आत्तिएर मात्र केही हुँदैन । हामीले पटक-पटक स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यकै पृष्ठभूमिका सचिव राखौं भन्यौं तर सुुनुवाइ भएन । अरु मुलुकमा हेर्ने हो भने विज्ञको टिम बनाएर काम गरिएको छ तर हाम्रा स्वास्थ्यका एकसेएक डाक्टर त्यहींभित्र हुँदाहुँदै बाहिरबाट ल्याएर सचिव बनाइएको छ ।

तर, अस्पतालहरूले बेड लुकाए भन्ने आरोप लाग्दै छ नि ?
– यो गलत कुरा हो । हामीले चिकित्सक र स्वास्थ्यकर्मी फ्रन्ट लाइनमा खटिने भएका कारण उनीहरूको जोखिमलाई ध्यानमा राख्दै कम्तीमा दश प्रतिशत बेड छुट्ट्याइदिन भनेका थियौं । प्रयास पनि गर्यौंि । आँखैअघि बेड नपाएर कोही मृत्युको मुखमा छ भने तपाईं टुलुटुलु हेरेर बस्न सक्नुहुन्न । हामी नेपाली र हस्पिटल सञ्चालक त्यति धेरै असंवेदनशील छौं जस्तो लाग्दैन ।

विगतमा सक्रिय संक्रमितको संख्या १० प्रतिशतभन्दा तल थियो, अहिले २५ प्रतिशतभन्दा बढी छ । यो तथ्यले हामीकहाँ भारतको जस्तै आइसियु, भेन्टिलेटरको अभाव हुने स्थिति देखाउँदैन र ?
– यसको अर्थ टेस्टको संख्या अझै बढाउनुपर्छ भन्ने हो । जतिको टेष्ट गरिरहेका छौं, त्यसमध्ये १५ प्रतिशतभन्दा बढीमा पोजेटिभ आइरहेको छ भने टेष्टको संख्या पुगिरहेको छैन भनेर बुझ्नुपर्छ । संक्रमितहरू तपाईं हाम्रै वरिपरि घुमिरहेका र धेरैमा संक्रमण फैलाइरहेका हुन सक्छन् । त्यसकारण टेष्टको संख्या बढाउन सक्यौं भने अहिले पहिचान नभएका संक्रमितलाई पनि छुट्ट्याएर राख्न सक्छौं । यदि, टेष्टको संख्या नबढाउने हो भने संक्रमितको प्रतिशत घट्दैन, कोरोना नियन्त्रणमा लिन गाह्रो हुन्छ ।

नेपालगञ्जकै कुरा गर्ने हो भने कर्मचारी कोरोनाका कारण अस्पताल बन्द भएको स्थिति छ तर यहाँ प्रधानमन्त्री र सरकारी मान्छेहरू नै भीड जम्मा गर्दै, ताली खाँदै हिँडिरहनुभएकोलाई कसरी हेर्नुहुन्छ ?
– यो बडो दुःखलाग्दो कुरा हो । जो अगुवा उही बाटो…. भनेजस्तो भयो । बेलायतमा प्रिन्स फिलिपको मृत्यु हुँदा जम्मा ३० जना मात्र मलामी गए, प्रधानमन्त्री मलामी जान सक्नुभएन । अनुशासन भनेको लिडरसीपले देखाउनुपर्ने हो । नेतृत्व जस्तो बाटो हिँँड्छ अनुयायीले उही बाटो पछ्याउने हो । ठूला बडाले गर्दा हुने रहेछ, हामीले किन गर्न नहुने भनेर तलका मान्छेले सोच्छन् । उहाँहरू उदाहरणीय व्यक्ति तर कोभिडमा चासो नदिएर राजनीतितिर ध्यान केन्द्रित छ । देश रहे न नेता रहने हो । जनता रहे न चुनाव पनि हुने हो । देश र जनता नरहने स्थिति आए उहाँहरूले के गर्ने हो ?

सर्वसाधारणको व्यवहार छाडा भइरहेको हो वा नेतृत्वको ?
– सबैलाई एउटै बास्केटमा हाल्न हुन्न । हामी यही समाजका उत्पादन हौं, समाजको जुन सोचाइ छ त्यही नै कमजोरी छ । मलाई लाग्छ हामी नेपालीको सर्ट टर्म मेमोरी छ । भुइँचालो आयो, केही दिन सबै जना टेन्टमा बसे । भुइँचालो साम्य भएपछि त्यही घरलाई दुई तला थपेर अझै अग्लो बनाए । फेरि भुइँचालो आउँदैनजस्तो व्यवहार गरे । कोभिडको पनि पहिलो लहरमा बीचमा डराए,कम भएपछि कोरोना सकिएझैं व्यवहार भइरहेको छ । सोचाइ, व्यवहारमै परिवर्तन ल्याउनुपर्छ । सबैभन्दा बढी जिम्मेवारीचाहिँ नेतृत्व, सरकारमा बस्ने अगुवाहरूका छ । नियम-कानुन बनाउने, त्यसलाई पालना गर्ने र एउटा उदाहरणीय बनेर बस्ने हो । सर्वसाधारणलाई किन मास्क लगाउने, किन घरमै बस्नुपर्छ भनेर बुझाउने हो भने ऊ घरमै बस्छ । तर यसरी बुझाउन सकिएन । नेतृत्व कठोर पनि बन्न सकेन कोरोना रोकथाम तथा नियन्त्रणमा । बेलायतमा दोस्रो चरणको कठोर लकडाउन गरिएको छ । सिनियर मेडिकल अफिसरलाई आफ्नो घरबाट निस्केर, अर्को घरमा गएको कारण लकडाउन तोडियो भनेर जागिरबाटै बर्खास्त गरिएको छ । विदेशतिर नियम, कानुन सबैलाई बराबर छ । जहाँ जहाँ मान्छे अनुशासित, कठोर भएका छन् त्यहाँ छिटोभन्दा छिटो कोरोना नियन्त्रणमा आएको छ ।

संक्रमण व्यवस्थापनको सरकारी तदारुकतालाई कस्तो पाउनुभएको छ ?
– यसमा थुप्रै कमिकमजोरी छन् । शुरुमा बहानाबाजी मिल्यो नयाँ भाइरस भन्ने । अहिले पनि विगतकै कमजोरी कन्ट्र्याक्ट ट्रेसिङ, टेष्ट, बाहिरबाट आउनेको डाटा राख्नेदेखि होल्डिङ गर्नेलगायत कमजोरी दोहोरिरहेको छ । बेड थपिएका छैनन्, अक्सिजन पर्याप्त छैनन् । स्वास्थ्यकर्मी थपिएनन्, टे्रनिङ भएनन् । यो दुःखलाग्दो कुरा हो ।

अब कति संक्रमित थपिए भने नेपालमा कोरोना संक्रमण नियन्त्रण बाहिर जाला ?
– हरेक घण्टा नयाँ मान्छे मरिरहेको छ । हरेक बेडमा मान्छे थपिरहेको छ । टेष्ट पर्याप्त नभएर हो, पर्याप्त टेष्ट हुने हो भने अझै धेरै संक्रमित भेटिन्थे । अहिलेकै स्थितिले हेर्दा तत्काल संक्रमण दर उच्च भएको ठाउँ, अस्पताल प्याक भएको स्थानमा तत्काल लकडाउन गर्नुपर्छ ।

लकडाउन र निषेधाज्ञा मात्र कोरोना रोकथाम नियन्त्रणको अचुक औषधि हो ? वा अरु केही विकल्प पनि छन् ?
– लकडाउन औषधि होइन तर हाम्रोजस्तो देश जहाँ अस्पताल प्याक भइसके । जहाँ अक्सिजनको अभाव छ । त्यहाँ दुई चार हप्ता लकडाउन गर्ने हो भने मान्छेको मुभमेन्ट कम हुन्छ । त्यतिबेलासम्म हस्पिटलमा भएका बिरामी संक्रमणमुक्त भएर बाहिर निस्कन्छन् । हामी बाहिर निस्किँदा संक्रमित भइहाल्यौं भने पनि अस्पताल होलो हुन्छ, त्यही कारण लकडाउन अनिवार्य छ । त्यो भनेको अस्पतालको बेड, अक्सिजन प्लान्ट थप गर्ने समय पनि हो । लकडाउन गरी चुप लागेर सुत्ने होइन । लकडाउन भनेको समय किन्ने हो, अहिले भइरहेको मृत्युदर घटाउने हो ।

यो संकटको घडीमा तपाईंहरूजस्ता विज्ञको सुझाव बालुवाटारले कत्तिको खोज्छ ?
– पहिलो लहरमा बालुवाटार, सीसीएमसी, स्वास्थ्य मन्त्रालयमा बोलाइयो र सुझाव दियौं । सल्लाह दिएर मात्र हुँदैन रहेछ, त्यसलाई ग्रहण गरेर कार्यान्वयन पनि गर्नुपर्दोरहेछ । अहिले त त्यसरी सुझाव मागिएन, बोलाइएन । एक वर्षको कोभिड हेरेका कारण उहाँहरू नै विज्ञ भएजस्तो गरिरहनुभएको छ । स्वास्थ्य क्षेत्रका स्टेक होल्डरलाई लिएर सुझाव ग्रहण गर्दा कोरोना जित्न अझै सहज हुन्थ्यो किनकि यो सबैको सामूहिक लडाइँ हो । बाँच्दा सबै बाँच्ने, मर्दा सबै मर्ने हो ।

कोरोनाको दोस्रो लहरबाट बच्न सरकार र सर्वसाधारणको भूमिका के हुनुपर्छ ?
– हस्पिटल प्याक भएका कारण पछि गर्दा हुने सर्जरी बन्द गरिनुपर्छ । इमरजेन्सी बिरामीलाई मात्र अस्पताल जान आग्रह गर्नुपर्दछ । राज्यको सबै शक्ति कोरोना रोकथाममा लगाउनुपर्छ । अस्पतालको क्षमता वृद्धि गर्ने, स्वास्थ्यकर्मीका लागि चाहिने सुरक्षाका सामग्रीको व्यवस्था गर्ने, चिकित्सक, स्वास्थ्यकर्मीको मनोबल बढाउने, जनशक्ति प्रशस्त थप गर्ने, जहिल्यै करार र अस्थायीमा स्वास्थ्य चलाउने नभई द्रुत गतिमा स्थायी डक्टर थप्ने, सर्वसाधारणमा चेतना जगाउने, हटस्पटमा लकडाउन गरी चेन ब्रेक गर्ने र सर्वसाधारणले खेलाँची नठान्ने,एउटा ग्रुप छ कोरोना केही हैन, हौवा हो भन्ने त्यस्तो भ्रमलाई स्वास्थ्य मन्त्रालयले चिर्ने काम गर्नुपर्छ । जनतालाई सचेत गराउने, सेल्फ लकडाउनमा जाने । सरकारले जनताले मानेनन् भनेर लाजैमर्दो कुरा गर्न भएन, बुझाएपछि त मान्छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रेसको आवरणमा लागुऔषधको धन्दा,पत्रकार महासँघ र प्रेस काउन्सिल तात्नुपर्यो
कोरोनाका कारण वरिष्ठ चिकित्सक आचार्यको निधन
राजदूत नियुक्ति :थोरै भित्र,धेरै बाहिर,शर्मिलाको दिल्ली जाने सुर
चलचित्र कलाकारहरुलाई पनि कोरोना संक्रमण