अवैध लागुऔषध र हतियार राख्ने रंगेहात पक्राउ

अवैध लागुऔषध र हतियार राख्ने रंगेहात पक्राउ

अवैध हतियारसहित हिँडेकालाई प्रहरीले समातेको छ । कैलाली, पाँचथर र स्याङ्जाबाट हतियार र लागुऔषधसहित ६ जना समातिएका हुन् ।

प्रहरीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका-२ मोतीपुरका १९ वर्षीय निसान भन्ने दिपक मल्लसमेत ५ जना १ थान कटुवा पेस्तोल, १९ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट, ५ ट्याब्लेट ट्रामाडोल, ५ ट्याब्लेट एभिल र ४ थान मोबाइलसहित हिजो दिउँसो पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले सोही ठाउँका काषिराम देवकोटाको घरमा लुकेर बसेका बेला उनीहरुलाई पेस्तोल र लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

यता, पाँचथरमा पनि अवैध हतियारसहित एक जना पक्राउ परेका छन् । फालेलुङ गाउँपालिका-७ का ३६ वर्षीय कुबेर राई १ थान भरुवा बन्दुकसहित हिजो बिहान पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले राईको घर तलासी गर्नेक्रममा बन्दुक फेला पारेपछि उनलाई पक्राउ गरेको हो ।

हिजो नै स्याङ्जामा भरुवा बन्दुक बेवारिसे अवस्थामा भेटिएको प्रहरीले बताएको छ । हरिनाश गाउँपालिका-३ कुसिनडाँडास्थित जङगलमा वेवारिसे अवस्थामा रहेको ३ थान एकनाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू