श्रमकानुन कार्यान्वयनमा नेता नेपालको जोड

श्रमकानुन कार्यान्वयनमा नेता नेपालको जोड

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना महामारीका कारण श्रमिकले भोग्दै आएका समस्या सम्बोधनका लागि गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभएको छ ।

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले श्रमजीवी तथा मजदुर वर्गका समस्याप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।‘श्रमजीवी तथा मजदुर वर्गले उठाउँदै आएको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा तथा श्रम कानुनमा गरिएका व्यवस्थाको कार्यन्वयन जस्ता मागप्रति गम्भीर बन्न र कोरोना महामारीका कारण श्रमिकले भोग्दै आएका समस्या सम्बोधन गर्न सरकारको विशेष ध्यानाकर्षण गराउँछु’, नेता नेपालले भन्नुभएको छ ।

समाजवादउन्मुख अर्थव्यवस्थाको आधार नै श्रमिक वर्ग भएकाले श्रमको सम्मान र मर्यादा कायम गर्न उहाँले सबैलाई आग्रह पनि गर्नुभएको छ । सक्रिय युवा जनशक्ति विदेशीले क्रम बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दौ उहाँले स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।

नेता नेपालले भन्नुभएको छ, ’स्वदेशमा रोजगारीको अवसर उपलब्ध गराई उनीहरुको ज्ञान र सीप देश विकासमा लगाउन, वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई वैदेशिक रोजगारीमा जाने श्रमिकको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न पनि आग्रह गर्दछु ।’

नेपालको कम्युनिष्ट आन्दोलनको एकता र रक्षाका लागि श्रमिक वर्ग एकजुट भएर अगाडि बढ्ने नेता नेपालको विश्वास छ ।

टिप्पणीहरू