निषेधाज्ञामा थप कडाइ, क्वारेन्टाइन नबस्ने विदेशीलाई डिपोट गर्ने निर्णय

निषेधाज्ञामा थप कडाइ, क्वारेन्टाइन नबस्ने विदेशीलाई डिपोट गर्ने निर्णय

कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी) ले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुल्ला गरिएका ३५ नाकामध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले निषेधाज्ञा लागू भएका जिल्लाहरुमा एक चौथाइ कर्मचारी राखेर कार्यालय सञ्चालन गर्ने निर्णय समेत गरेको छ । यो निर्णयसँगै सरकारी कार्यालय र बैक तथा वित्तीय संस्थाका थोरै कार्यालय मात्र खुल्ने छन् ।

सरकारले क्वारेन्टाइनसहित खुला राखेका नाकाहरुमा काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिट्टामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, झुलाघाट, कोलुघाट, गौरीफण्टा र गड्डाचौकी रहेका छन् । बैठकले संघीय मन्त्रीलाई प्रदेशको समन्वय गर्ने गरी खटाउन मन्त्रीपरिषद्मा सिफारिस पनि गरेको छ ।

यसका साथै बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय पनि गरेको छ । निर्माण कार्य सुचारु गर्ने भए कामदार र कर्मचारीहरुलाई निर्माणस्थलमा नै राख्नुपर्ने निर्णय गरेको बताइएको छ । उद्योगहरु सञ्चालन गर्ने सम्बन्धमा मजदूर तथा कर्मचारीलाई उद्योग परिसरभित्र नै रहने गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।

बैठकले नीजि अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि गरेको छ । विदेशबाट आउने विदेशीले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने र नमाने डिपोट (निकाला) गर्ने पनि निर्णय गरिएको छ ।

यसअघि क्वारेन्टाइनको रुपमा रहेका होटलहरुलाई थप व्यवस्थित गर्ने निर्णय समेत सीसीएमसी बैठकले गरेको छ ।

टिप्पणीहरू