मधेशका मान्छे बिकाउ हुन्छन् भन्ने भ्रम तोड्छौं : जसपा नेता

मधेशका मान्छे बिकाउ हुन्छन् भन्ने भ्रम तोड्छौं : जसपा नेता

पछिल्लो समय सत्ता राजनीतिको ‘कि फ्याक्टर’ का रुपमा अगाडि देखिएको जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । केन्द्रीय सत्ता समीकरणमा लामो आन्तरिक विवादमा फसिरहेका बेला पार्टीको निर्णय विपरित लुम्बिनी प्रदेशका चार जना सांसद मन्त्री बनेपछि बढेको विवाद कारबाहीसम्म पुग्दा जसपा फुटको नजिक पुगेको हो ।

लुम्बिनी सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसद सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझी एकाएक सरकारको समर्थनमा उभिएका थिए । पार्टीको निर्णय विपरित आफ्ना सांसद मन्त्री बनेपछि जसपाले चारै जनालाई स्पष्टीकरण सोधेको थियो । तर, स्पष्टीकरणको जवाफ नदिएको भन्दै हिजो उनीहरुलाई सांसद पदबाटै निलम्बन गरिएको छ ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले हिजो जारी गरेको सूचनामा चार सांसदलाई प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्कासन गरिएको सूचना राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम हाल प्रदेशसभाको बैठक चालू नरहेकाले सचिवालयको सूचनापाटीमा आदेशअनुसार टाँस गरिएको उल्लेख छ ।

मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव लैजान एकमत भएको जसपामा एकाएक सांसदहरु मन्त्री बनेपछि चुलिएको विवाद कारवाहीसम्म आइपुग्दा छरपष्ट भएको हो । अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा चार जनालाई मन्त्री बनाइएको आरोप लगाएको छ । महन्थ पक्षले भने रातारात संसदीय दलको नेता फेरेर मन्त्री बनेका चार जनाको बचाउ गरेको छ ।

केन्द्रीय राजनीतिमा उपेन्द्र (पूर्वसमाजवादी) र महन्थ (पूर्वराजपा) खेमाबीच नयाँ सत्ता समीकरणलाई लिएर तिब्र विवाद छ । उपेन्द्र पक्ष काँग्रेस–माओवादीसँग मिलेर प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छ भने महन्थ खेमा ओलीलाई नै समर्थन गरेर जाने तयारीका साथ छलफल वालुवाटारसँग निकट छ । केन्द्रीय राजनीतिमा देखिएको दुईपक्षीय विवादको बाछिटा लुम्बिनीसम्म आइपुग्दा देखिने गरि सतहमा प्रकट भएको हो । बालुवाटारको योजना र महन्थको निर्देशनमा चार जनालाई मन्त्री बनाएर मुख्यमन्त्री पोखरेलले सरकार टिकाउन षड्यन्त्र गरेको उपेन्द्र पक्षको आरोप छ ।

पार्टी नीतिविपरित जाने सबैलाई कारबाही हुन्छ : सहसराम यादव (नेता, लुम्बिनी प्रदेश संसदीय दल)

पार्टीको अनुशासन तोडेपछि सांसदहरुमाथि कारवाही गर्नुपर्ने बाध्यता परेको जसपा लुम्बिनी प्रदेश संसदीय दलका नेता सहसराम यादवले दाबी गरे । दलीय प्रणालीमा दलको निर्णय र निर्देशन सबैले मान्नुपर्ने बताउँदै उनले नमान्नेलाई कारवाही गरिएको प्रष्ट पारे । पार्टी र संसदीय दलको बहुमतले कारवाहीको सिफारिस गरेको भन्दै उनले व्यक्तिगत धारणाले अर्थ नराख्ने बताए ।

संघ र प्रदेश सबैतिर पार्टी फुटाएर सरकार टिकाउने फोहोरी खेल चलिरहेको बताउँदै उनले अनुशासनमा बस्न सक्नुपर्ने बताए । ‘देशको राजनीति तलदेखि माथिसम्म हेर्नुभयो भने यस्तै चलिरहेको छ । पद भनेको प्राविधिक र अस्थायी कुरा हो । मुख्यतः पार्टी, बिचार, सिद्धान्त नै हो । त्यसैले पार्टीको निर्णयविरुद्ध कोही उभिन्छ भने उ स्वभाविक रुपमा कारबाहीमा पर्छ । यो कुनै नौलो कुरा होइन’, उनले भने ।

यादवले मुख्यमन्त्री शंकर पोखरेलले आफ्ना सांसदहरु किनेर सरकार जोगाएको आरोप पनि लगाए । करोडौँको चलखेल गरेर सत्ता जोगाएको भन्दै उनले जसपाका केही सांसदहरु पोखरेलले फ्याँकेको जालोमा परेको बताए ।

बैशाख ५ गते आफ्नै अध्यक्षतामा बसेको दलको बैठकले अविश्वासको प्रस्तावका पक्षमा उभिने निर्णय गरेको स्मरण गराउंदै उनले सर्वसम्मतिले निर्णय गरेको पनि उल्लेख गरे । ‘सबैको सहमतिमा निर्णय भएको हो । पछि के-के खेल भयो । बालुवाटारबाट के–के प्रस्ताव आयो । महन्थजीहरुले के–के निर्देशन दिनुभयो । आफैंले गरेको हस्ताक्षरको मसि सुक्न नपाउंदै उहाँहरु मन्त्री खान पो जानुभयो,’ उनले भने, ‘यति अनुशासनहीन र आराजक गतिविधि गर्नेलाई त्यसै छोड्न मिल्छ ?’

मन्त्री भइसकेपछि ६ गते चार जनाले ५ गतेको मितिमा संसदीय दलको नेता चयनको किर्ते निर्णय गरेको भन्दै यादवले आक्रोश पोखे । एकचोटी नेता छानिसकेपछी २ वर्षसम्म अर्को नेता छान्न नपाउने विधानको व्यवस्था उल्लंघन गरेर महन्थ खेमाले सन्तोषकुमार पाण्डेलाई नयाँ नेता तोकेर किर्ते निर्णय गरेको उनको दाबी छ ।

उनले आफ्ना चार सांसद कारवाहीमा परेपछि पनि लुम्बिनीमा दर्ता भएको अविश्वासको प्रस्ताव पास हुने बताए । ‘उहाँ (मुख्यमन्त्री) लाई आफैँभित्र थेग्न गाह्रो छ । जम्मा ६ जना सांसद भएको दलका ४ जनालाई त मन्त्री नै बनाउनुभयो । यसले उहाँलाई कति असुरक्षित महसुस भएको रहेछ भन्ने देखाउँछ । अहिले नै धेरै कुरा नभनौं तर अविश्वासको प्रस्ताव पास हुन्छ । बरु उहाँले सामना पो नगर्ने हो कि भन्ने हामीलाई डर छ’, नेता यादवले भने ।

महन्थ ठाकुर सबैतिर अल्पमतमा छन्, लफडा गरे हटाइन्छ : अशोक यादव (अध्यक्ष) जसपा लुम्बिनी 

जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुले विधान विपरित आफूखुशी गर्न थालेपछि पार्टीमा संकट आएको बताए । पार्टी हित विपरित हुने गतिविधिलाई साथ दिन नसकिने भन्दै उनले अनुशासनमा नबस्नेलाई पार्टी छाड्न चेतावनी दिए ।

‘नीति, विधि र सिद्धान्तका आधारमा एकता हुनुपर्छ । भाग्नेलाई कसैले रोक्न सक्दैन, मान्छेलाई बाँध्ने हैन । नीति, बिधि र सिद्धान्तले बाँधिने हो । कसैलाई अन्तै जान मन छ भने हामी रोक्न सक्दैनौं’, उनले भने ।

लुम्बिनीमा देखिएको समस्या समाधान गर्न बैठकमा बोलाउँदा महन्थ पक्ष भागेको उनको भनाइ छ । ठाकुर पक्षका नेता बैठकबाट भागेपछि बहुमतले निर्णय गरेको दाबी गर्दै यादवले अल्पमतले बहुमतको सम्मान गर्नुपर्ने बताए । ‘हामीले चार जनामाथि स्पष्टिकरण सोधेका थियौं । केन्द्रले पनि स्पष्टिकरण सोध्न निर्देशन दिएको थियो । तर उहाँहरु बैठकमा नआउने । जवाफ पनि नदिने पूरै बेवास्ता गरेपछि बहुमत सदस्यको बैठक बसेर कारबाहीको सिफारिस गरिएको हो’, उनले भने ।

९९ सदस्यीय प्रदेश कमिटीका ५७ जनाले निर्णयमा हस्ताक्षर गरेको र अन्य १० जनाले कारवाहीको प्रक्रियाप्रति समर्थन जनाएको उनले बताए । ‘निर्णयमा कतिजनाको हस्ताक्षर छ हेर्न मन भए आउनुहोला’, उनले भने ।

सत्ता राजनीतिमा मधेस, मधेसी र मधेसवादी दललाई लाग्दै आएको आरोप तोड्नु आवश्यक भएको पनि उनको भनाइ छ । उनले भने, ’मधेशका मान्छे बिकाउ हुन्छन्, लोभी हुन्छन् भन्ने जुन आमबुझाइ बनेको छ, त्यसलाई तोड्न पनि कारवाही गर्ने पथ्र्यो । हामीले गर्यौँ ।’

लुम्बिनी प्रदेशसभामा हाल ८१ सांसद रहेका छन् । ८७ सांसद रहेकोमा माओवादी केन्द्रका दुई र जसपाका चार सांसद कारबाहीमा परेपछि हाल ८१ सांसद छन् । जसमध्ये एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका दुई र जनमोर्चाका एक सांसद छन् । सरकार गठनका लागि ४१ सांसद आवश्यक हुन्छ, जुन संख्या एमालेसँग एक्लै छ ।

तर, एमाले नेताहरुलाई फ्लोर क्रसको चिन्ता छ । कर्णालीमा जस्तै पार्टीकै सांसदले फ्लोर क्रस गर्नसक्ने आँकलन गरेर मुख्यमन्त्री पोखरेलले सरकार जोगाउन रातारात जसपाका सांसदलाई मन्त्री बनाएको बताइन्छ । एमालेमा माधव नेपाल पक्षका केही सांसदले फ्लोर क्रस गर्ने आन्तरिक सहमति जुटेपछि विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव ल्याएको कतिपयको दाबी छ । जे भए पनि पछिल्लो घटनाक्रमले मुख्यमन्त्री पोखरेललाई राहत दिएको छ ।

जसपाका चार सांसद कारबाहीमा परेपछि सरकार जोगाउन पोखरेलाई अब एमालेलाई एकताबद्ध गरे पुग्ने भएको छ ।

टिप्पणीहरू