बाँकेबाट शुरु भएको निषेधाज्ञा २० जिल्लामा

बाँकेबाट शुरु भएको निषेधाज्ञा २० जिल्लामा

सरकारले पहाडी र हिमाली जिल्लामा दुई सय र काठमाडौँ उपत्यका तथा तराईमा पाँच सय सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएपछि सबैभन्दा पहिले बैशाख १३ गतेदेखि बाँके जिल्लाबाट निषेधाज्ञा शुरु भएको हो ।

सोही अधिकार प्रयोग गर्दै आजसम्म निषेधाज्ञा जारी गरेका जिल्लाको संख्या २० पुगेको छ । कोरोनाको दोस्रो लहरको कहर भारतसँग सीमा जोडिएको बाँके जिल्लामा देखिएको हो । यसको कहर नेपालका विभिन्न शहरमा बढेसँगै ‘संक्रमण चेन बेक्र’ गर्न निषेधाज्ञा जारी गरिएको बताइन्छ ।

हिजोदेखि काठमाडौँका तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर) ले बिहान ६ बजेदेखि आगामी एक साताको लागि निषेधाज्ञा जारी गरेका छन् । सरकारले उक्त आदेशलाई लम्ब्याएर बैशाख अन्तसम्म पुर्याएको छ ।

यसरी आदेश जारी गर्ने अन्य जिल्लामा सुर्खेत, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, कालीकोट, बर्दिया, सल्यान, सुनसरी, दार्चुला र जाजरकोट रहेका छन् ।

कालिकोटमा १० गते, बाँकेमा १३ गते, सुर्खेतमा १४ गते, कास्कीमा १५ गते, कैलालीमा १६ गते, पर्सामा १६ गते, कञ्चनपुरमा १६ गते, रुपन्देहीमा १६ गते, चितवनमा १६ गते, बाग्लुङमा ७ गते, दार्चुलामा १६ गते र बर्दियामा १३ गतेबाट निषेधाज्ञा जारी गरिएको छ ।
पाल्पा, दाङ र सुन्सरीमा १७ गतेबाट आदेश कार्यान्वयनमा गएको छ भने जाजरकोटमा १८ गतेबाट र सल्यानमा १९ गतेबाट आदेश कार्यान्वयनमा जाँदैछ ।

उता, बाग्लुङ नगरपालिकाको १२, १३ र १४ वडा तथा साबिक अमलाचौर, पैयूँपाटा र नारायणस्थान क्षेत्रमा ७ गते राती १२ बजेदेखि लागू गरिएको छ । त्यस्तै कालिकोटमा खाँडाचक्र नगरपालिका ११ को रेङ्गिलमा निषेधाज्ञा लागू गरिएको छ ।

बर्दियाको गुलरिया नगरपालिका–५ र ६ को सम्पूर्ण क्षेत्र, बाँसगढी नगरपालिकाको बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर, कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लाली बजार, ओराली बजार क्षेत्र, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भूरी गाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजापुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र तथा गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू