उपत्यका छाड्नेको लर्को : हिजो मात्र ६ हजार बढि बाहिरिए

उपत्यका छाड्नेको लर्को : हिजो मात्र ६ हजार बढि बाहिरिए

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएपछि उपत्यका छाड्नेको लर्को देखिएको छ । सार्वजनिक तथा निजी सवारीसाधनहरू चल्न छाडेपछि उपत्यका बाहिरिनेहरू पोको पुन्तुरो बोकेर रातको समयमा पैदल हिँडेका छन् ।

उपत्यकाबाट पैदल हिडेर जानेको यकिन तथ्याङ्क प्रहरीसँग छैन । सम्भवतः नजिकैको जिल्लाबाट सवारी साधन पाइने आशमा उपत्यकाबाट पैदल गएको हुनसक्ने बताइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार प्रशासनको पास लिएर बिहीबार साँझसम्म १५ सय सवारी साधनबाट ६ हजार ५ सय ६४ जना उपत्यका बाहिरिएका हुन् ।

जनआस्थासँगको जिज्ञासामा अधिकारीले निषेधाज्ञामा मानिसले सास्ती खेपेरै भएपनि उपत्यका छाड्ने मानसिकता बनाएको बताउनुभयो । उहाँका अनुसार उपत्यकामा अत्यावश्यक बाहेक अन्य सवारी साधन प्रवेशलाई निषेध गरिएको छ ।

तर, हिजै १ हजार ५ सय जना उपत्यका प्रवेश गरेका छन् । ट्राफिक जामलगायतका घटनाबाट बीच बाटोमा अलपत्र परेकाहरू बिहीबार मात्र उपत्यका आइपुगेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू