अबको राजनीतिमा झन् अचम्म, व्यवस्था नराम्ररी बदनाम

अबको राजनीतिमा झन् अचम्म, व्यवस्था नराम्ररी बदनाम

अस्वस्थ,अनैतिक र अमर्यादित सत्ता राजनीतिको खेलले संसदीय राजनीति बद्नाम हुँदै गएको छ। सरकार टिकाउन र गिराउनका लागि जुनसुकै हदमा उत्रिएर दलहरु घृणित खेलमा लागेपछि राजनीति साँच्चै ‘डर्टी गेम’ बनेको छ।

संवैधानिक व्यवस्था,दलीय अनुशासन,नीति,सिद्धान्त, मान्यता,अभ्यास र परम्पराकै धज्जी उडाएर भएका सत्ता राजनीतिको अस्वस्थ प्रतिस्पर्धाले व्यवस्थामाथि नै प्रश्नउठ्न थालेको छ । राज्य संचालनमा रहेकाहरुले बिधि,पद्दति,संविधान,कानुन हेरेर होइन आफ्ना स्वार्थअनुसार भूमिका खेल्न थालेपछि आगामी राजनीति थप जटिल बन्ने विश्लेषण हुन थालेको छ ।

हिजै प्रचण्ड,माधव नेपाल र उपेन्द्रबीच ललितपुर,हात्तीवनमा भेटवार्ता भएको बताइन्छ।

राष्ट्रपति र प्रधानमन्त्री एउटै दलको हुँदाको परिणाम असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन हुन पुग्यो । बालुवाटारले गरेको सिफारिस शीतल निवासको दैलो नछिर्दै अनुमोदन हुँदा मुलुकले कति राजनीतिक क्षति व्यहोर्नु पर्यो घामजत्तिकै छर्लंगै छ। यता, सभामुख र प्रधानमन्त्री फरक पार्टीको हुँदा संसदले बिजनेश नपाएर बेकामे बन्नुपरेको तीतो यथार्थ छ। एमसीसी सदनमा टेबल नहुनु र दुई उच्चपदस्थवीच सार्वजनिक कटाक्ष हुनुलाई यसैको परिणाम मानिन्छ ।

संघीय सरकारमा देखा परेको यो रोग प्रदेशहरुमा पनि सरेको छ। आफूविरुद्ध आएको अविश्वासको प्रस्ताव रोक्न गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई अर्को दलको सभामुख टाउको दुखाइ बनेको प्रष्टै देखियो । किनभने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेको रातारात संसद अधिवेशन अन्त्यको घोषणाले सक्दा केसम्म गर्दैनन् भन्ने पुष्टि भैसकेको छ। त्यहाँ माओवादीका नेत्र अधिकारी सभामुख छन् । अधिकारीको ठाउँमा ओली पक्षका सभामुख भएको भए हिजो अविश्वासको प्रस्ताव फेल हुने धेरैको विश्लेषण छ ।

लुम्बिनीमा पनि त्यस्तै देखिएको छ । अविश्वासको प्रस्तावमा सहि धस्काएको मसी सुक्न नपाउँदै जसपाका चार सांसद मन्त्री खान गएपछि शुरु भएको लफडा उत्कर्षमा पुग्दा चारै जनाको पद खुस्किएको छ । त्यो पनि पछिल्लो राजनीतिक ध्रुवीकरणकै कारण सम्भव भएको हो । लगभग विभाजित भैसकेको जसपाका दुई खेमाले सभामुखलाई आज दुई फरक-फरक पत्र पठाएकोमा अध्यक्ष उपेन्द्र यादवले पठाएको कारवाहीको सिफारिस सभामुख पूर्ण घर्तीले अनुमोदन गरेका छन्। घर्ति माओवादीको तर्फबाट सभामुख बनेका थिए । घर्तीको ठाउँमा ओली पक्षका सभामुख भएको भए फरक निर्णय हुनसक्ने कतिपयको विश्लेषण छ।

सत्ताको यो खेल अरु प्रदेशमा पनि पुग्ने निश्चितजस्तै छ। घटनाक्रमले सभामुख र मुख्यमन्त्री एउटै दलको हुँदा र फरक दलको हुँदा परिणामको सहजै अनुमान गर्न सकिन्छ । १ नम्बर प्रदेशमा सभामुख एमालेको माधव नेपाल पक्षका छन् भने मुख्यमन्त्री ओली पक्षका छन् । २ नम्बर प्रदेशमा सभामुख जसपाको महन्थ पक्षका छन् त मुख्यमन्त्री उपेन्द्र खेमाका हुन् । दुवै प्रदेशमा सत्ता समीकरणको खेलमा सरकारका दुई अंग टकराउने निश्चितजस्तै छ ।

घटनाक्रम यसरी विकसित हुँदै जाँदा अबको राजनीति झन् जटिल हुने विश्लेषण गर्न थालिएको छ। सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा रहेका काँग्रेस,माओवादी केन्द्र र जसपाको उपेन्द्र पक्षले प्रतिनिधिसभामा कुनै पनि बेला प्रस्ताव टेबल गर्ने निश्चित छ। केही दिनमै संसदमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने अवस्था छ। सरकारमाथि अविश्वासको प्रस्ताव छल्न हठात् संसद अधिवेशन अन्त्य गरेको आरोप छ। अबको अधिवेशन बजेट अधिवेशनसमेत भएकाले सरकार संसद छलेर भाग्नसक्ने अवस्था छैन।

यता,माधव नेपाल पक्षका २७ सांसदको पद खाइदिने प्रधानमन्त्री केपी ओलीको तयारीमा सभामुख बाधक बन्न सक्ने बताइन्छ। नेपाल पक्षले सर्वोच्च अदालतमा हालेको रिटमा सभामुखलाई पनि विपक्षी बनाइएको छ। यस्तो अवस्थामा सभामुखले अदालतमा विचाराधीन मुध्दा भनेर कारवाहीका लागि पत्र आए रोकिदिने सम्भावना देखिन्छ।

घटनाक्रम हेर्दा काँग्रेसबाहेक सबै पार्टी धुजाधुजा हुने परिस्थिति देखिएको छ । तुलनात्मक रुपमा विचार,सिद्धान्त र निष्ठाको राजनीति गर्ने भनिएको राष्ट्रिय जनमोर्चा समेत सत्ताको घिनलाग्दो खेलमा नराम्रोसँग प्रवेश गरेको छ। अविश्वासको प्रस्तावका पक्षमा उभिएको जनमोर्चाका सांसद खिमविक्रम शाही मतदान प्रक्रिया शुरु हुनै लाग्दा अचानक गायव भएपछि गण्डकी सरकार जोगिएको छ । सत्ताको खेल कतिसम्म घिनलाग्दो देखिएको छ भने हिजो कोरोना संक्रमणका कारण आइसीयूमा भर्ना गरिएको भनिएका शाहीलाई आज जनरल वार्डमा सारिएको छ। यसले गण्डकीमा भएका सत्ताका दाउपेचको पटाक्षेप गरेको छ।

हिजै प्रचण्ड,माधव नेपाल र उपेन्द्रबीच ललितपुरमा भेटवार्ता भएको बताइन्छ। तरल राजनीति र सत्ताका लागि अस्वस्थ गतिविधि भैरहेका बेला तीन नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

-साहस न्यौपानेबाट

टिप्पणीहरू