आगलागीबाट धनमाल नष्ट, ३ जनाको अवस्था गम्भिर

आगलागीबाट धनमाल नष्ट, ३ जनाको अवस्था गम्भिर

झापा, ललितपुर, खोटाङ र पर्सामा आगलागीबाट करोडौँ रुपैँया बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आज झापाको मेचीनगर नगरपालिका–१५, लालझोडास्थित भगवती प्रालि उद्योग (प्लाई फ्याक्ट्रीमा) बिहान आगलागी भएको थियो । आगलागीबाट फ्याक्ट्रीमा रहेका मेसिनलगायत सामानहरू जल्दा करिब ३ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले बताएको छ ।

यस्तै, ललितपुरको बागमती गाउँपालिका–४, प्युटारस्थित हिरामणि बजगार्इं र रामहरी बजगाईंको रामहरी फर्निचर पसलमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा काठपात, मेशिन र फर्निचरका सामानहरू जल्दा करिब ३५ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।

उता खोटाङको रावाबेशी गाउँपालिकामा चट्याङ परी बुधबार साँझ आगलागी भएको प्रहरीले बताएको छ । रावाबेशी–६ भैंसेका ज्ञानबहादुर खड्काको घरमा चट्याङ परी आगलागी हुँदा घरभित्र रहेको नगद ५० हजार रुपैयाँ, ५ तोला सुन, ३० तोला चाँदी, अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपातलगायतका सामान जलेको थियो ।

चट्याङबाट लागेको आगोबाट करिब १५ लाख २६ हजार रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको बताइएको छ । त्यस्तै, पर्साको कालिकामाई गाउँपालिका–२, भेडियाही बस्ने रुपेश शाहको किराना पसलमा आज बिहान आगलागी हुँदा पसलका सामानहरू जलेर नष्ट भएको बताइएको छ ।

प्रहरीका अनुसार उनको पसलबाट करिब २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट हुनुका साथै आगलागीमा परेर रुपेशकी छोरी ४ वर्षीया अर्पणाकुमारी साह, सोही ठाउँका हरि किशोर चौरसियाका छोरा १४ वर्षीय प्रमेश्वर चौरसिया र पसलमा पेट्रोल किन्न आएका जगन्नाथपुर गाउँपालिका–२ लक्ष्मीपुर बस्ने ४० वर्षीय श्याम सुन्दर चौहान गम्भीर घाइते भएको प्रहरीले बताएको छ । घाइते सबैको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू