एमालेले जनमोर्चाको निष्ठा निल्यो : पौडेल

एमालेले जनमोर्चाको निष्ठा निल्यो : पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चाका सांसद लुकाउन केन्द्र सरकारले शक्ति प्रयोग गरेको दाबी गर्नुभएको छ । संघीय सरकार र सत्ताधारी एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षडयन्त्र गरी लुकाएको पौडेलले दाबी गर्नुभयो ।

गण्डकीका मुख्यमन्त्री तथा एमाले नेता पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदानको प्रक्रिया शुरु हुनलाग्दा जनमोर्चाका एक जना सांसद एकाएक गायब भएका थिए । विपक्षी गठबन्धनका एक सांसद तटस्थ बसे सरकार जोगिने अवस्थाकाबीच जनमोर्चाका सांसद खिमविक्रम शाही गायब भएका थिए ।

शाहीलाई सत्तापक्षको योजना र संरक्षणमा लुकाइएको जनमोर्चाको जिकिर छ । नक्कली पीसीआर रिपोर्ट बनाएर कोभिडको बिरामी भन्दै अस्पतालमा बन्दी बनाएको आरोपसहित जनमोर्चाले शाहीको जीवन रक्षाको मागसमेत गरेको छ । जनमोर्चाले एमालेले आफ्नो सांसद अपहरण गरेको दाबी गरिरहेका बेला काँग्रेस नेता पौडेलले पनि त्यस्तै आशंका व्यक्त गर्नुभएको छ । उहाँले सांसदको नक्कली पीसीआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि पनि कारबाहीको माग गर्नुभयो ।

गण्डकी घटनामाथि टिप्पणी गर्दै नेता पौडेलले एमालेले जनमोर्चाको सतित्व हरण गरेको पनि बताउनुभयो । सांसद शाहीलाई अपहरण शैलीमा अस्पतालमा लगेर बन्धक बनाउनु राजनीतिक सिद्धान्त र निष्ठामा रहेको जनमोर्चा जस्तो पार्टीको आदर्शमाथि प्रहार भएको उहाँको ठहर छ । खिमविक्रम शाही प्रकरणको स्वतन्त्र छानबिन गर्न पनि नेता पौडेलले माग गर्नुभयो ।

‘किर्ते पीसीआर रिपोर्ट बनाएर, अघिल्लो दिनमा कोरोना नेगेटिभ भएको मान्छे भोलिपल्ट कसरी पोजेटिभ हुन्छ ?’ उहाँले प्रश्न गर्नुभयो, ‘यसमा षड्यन्त्र छ । मैले भन्ने गरेको छु,सत्तामा जाने, अन्धाधुन्द पैसा कमाउने र त्यही पैसाले आफूलाई टिकाउने । गण्डकीमा अहिले एमालेले त्यहि गरेको छ,यस्ता हर्कतले लोकतन्त्रको धज्जी उडाउने काम भयो ।’

नेता पौडेलले जनमोर्चाले आफ्नो निष्ठा जोगाउनका लागि पनि सांसद शाहीमाथि तत्काल कारबाही गर्नुपर्ने बताउनुभयो । स्थानीय प्रशासन,गण्डकी सरकार र संघीय सरकार यसमा सहभागी भएको नेता पौडेलको दाबी छ । ‘यहाँ त सिडियो पनि लागेको, माथिल्लो सत्ता पनि लागेको, अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै संसद नै स्थगित गरेर मुख्यमन्त्री काठमाडौँ आएको,यो सबै खेल र प्रपञ्चले नक्कली खेल सबैको पर्दाफास भएको छ । नेकपा एमालेको षड्यन्त्र गण्डकीको संसदमा पर्दाफास भएको छ ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद शाही अस्पतालको ‘आईसीयू’ मा भर्ना भएका थिए । मंगलबारसम्म सकुशल रहेका शाही मत विभाजन हुनुअघि अस्पतालको आइसीयुमा भेटिनुलाई शंकास्पद मानिएको छ ।

राष्ट्रिय जनमोर्चाको ३ जना सांसदले प्रस्तावको पक्षमा मतदान गर्दा गुरुङ सरकार ढल्ने निश्चित थियो । चरक अस्पताल एमालेका प्रदेशसभा सदस्य राजीव पहारीको हो । त्यहाँको निर्देशक पहारीकी पत्नी सिर्जना हुन् । गण्डकी घटनाको पूर्वसन्ध्यामा पहारीसँगै यसअघि मधेसवादी दलका सांसद अपहरणको आरोप लागेका एमाले नेता महेश बस्नेत अस्पतालको रिसेप्सनमा सँगै देखिएका थिए ।

टिप्पणीहरू