ग्राभेल गर्ने बेला अस्पताल जाने बाटो बन्द, बिरामीलाई सास्ती

ग्राभेल गर्ने बेला अस्पताल जाने बाटो बन्द, बिरामीलाई सास्ती

बिरामीलाई अस्पताल पुर्याउन बनाईएको बाटो अबरुद्ध भएको लामो समय बितिसक्दा पनि कहिकतैबाट खुलाउने प्रयास भएको छैन । गत चैत २६ गते देखि चौरजहारी बजारबाट मिसन अस्पताल जाने बाटो बन्द अवस्थामा छ । अस्पताल जाने बाटोमा केहि स्थानीयले तारबार लगाएर बन्द गरेपछि एम्बुलेन्स तथा गाडिमा अस्पताल ल्याईने बिरामीहरुले थप सास्ती खेप्नु परेको छ ।

अस्पताल आउने मुल बाटो बन्द भएपछि बिरामी बोकेर आएका एम्बुलेन्स तथा गाडिहरु कि लामो बाटो घुमेर आउनु पर्ने कि त गाडिबाट झारेर बोकेर अस्पताल भित्र ल्याउनुपर्ने अवस्था रहेको अस्पतालका प्रशासक डिल बहादुर गिरीले बताए । आफ्नो घर तथा पसल पायक स्थानबाट बाटो नबनाएको झोकमा केहि स्थानीयले बाटो अबरुद्ध गरेको प्रशासक गिरीले जनाए ।

‘पहिले नयाँ बाटोको लागि जग्गा उपलब्ध गराउँन उहाँहरु सहमत हुनुभएको हो’ प्रशासक गिरीले भने –‘अहिले आएर केहि व्यक्तिहरुले आफ्नो व्यापार व्यवसाय कम भएको भन्दै आफनो जग्गा भएर जाने बाटो बन्द गरेको अवस्था हो ।

स्थानीयहरुले लामो समयसम्म अस्पतालले मुल प्रवेशद्वारको टुंगो नलगाएको र चलनचल्तीमा रहेको गोरेटो बाटो बन्द गरेकोले निकाशको लागि नयाँ बाटो बन्द गरेको बताएका छन् । पुरानो बाटो साँघुरो भएपछि नयाँ बाटो खोल्नु राम्रो भएपतापनि पुरानो बाटोलाई बन्द गरेर अस्पतालले स्थानीय व्यापार व्यवसायलाई वेवास्ता गरेको स्थानीयको आरोप छ ।

अस्पताल जाने बाटो बन्द भएको तीन हप्ता बित्दा पनि कहि कतैबाट बाटो खुलाउने प्रयास भएको छैन । यस बिषयमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले तत्काल सम्बन्धित निकायसँग समन्वय गरेर बाटो सञ्चालन गरिने बताए । यस अघि बाटो अवरुद्ध भएको जानकारी आफुलाई प्राप्त नभएको समेत सिडियो गैह्रेले जनाए ।

सुरुमा अस्पताल नजिकैको बजार एरियामा सानो बाटो चल्तिमा रहेको थियो । अस्पतालमा बिरामीको चाप बढेसँगै एम्बुलेन्स, गाडि समेतको आवाज जावत बढेपछि स्थानीयकै सहमतिको अर्को बाटो सञ्चालन गरिएको थियो ।
सडक ग्राभेल गर्ने बेला बाटो बन्द

चौरजहारीको मुल सडक देखि मिसन अस्पताल सम्मको करिब १ किलोमिटर उक्त सडक यसै बर्ष ग्राभेल गरिसक्ने योजना चौरजहारी साना शहर आयोजनाको रहेको छ । तर, स्थानीयले नै बाटो अबरुद्ध गरेपछि पूर्ण रुपमा समयमै काम सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएको छ । आयोजनाका प्रमुख धिर फडेराले असार मसान्त सम्म बाटो ग्राभेल गरिसक्ने बताए ।

स्थानीयको अवरोध कायमै रहेमा बाटो बन्द गरिएको स्थान सम्म भएपनि ग्राभेल गरिसक्ने फडेराले जनाए । स्थानीय स्तरमा छलफलको वातावरण भएमा बाटो खुल्ने विश्वास उनको रहेको छ । बाटो ग्राभेल गर्नलाई आयोजना कार्यालयले क्याराभान कन्ट्रक्सन प्रालिसँग करिब ३२ लाख बजेट सहितको ठेक्का सम्झौता गरिसकेको छ ।

टिप्पणीहरू