‘अपहरण’ मा परेका सांसदले भने– पार्टीको निर्णय मान्छु

‘अपहरण’ मा परेका सांसदले भने– पार्टीको निर्णय मान्छु

पार्टीको निर्णयविपरित अविश्वासको प्रस्तावमा मतदान गर्ने बेला एकाएक गायब भएका जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले आफू पार्टी निर्णयलाई मानेर जाने पक्षमा रहेको बताएका छन् ।

प्रदेशसभा बैठक छाडेर अस्पताल पुगेका शाहीले आज एक वक्तव्य जारी गर्दै पार्टी र संसदीय दलको निर्णयप्रति प्रतिबद्ध रहने बताएका हुन् । आफू अचानक बिरामी परेर सदनमा उपस्थित हुन नसकेको उनको दावी छ ।

‘१५ गते सदनको कार्यसूचिबमोजिम मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने कुरा थियो । तर म सदनमा जान तयारी अवस्थामा रहेका बेला अचानक बिरामी भई भाइलाई सम्पर्क गरेर स्वास्थ्य उपचारका लागि लैजाने क्रममा बेहोस भएछु,’ शाहीको प्रष्टीकरण छ ।

शाहीले अहिले पनि उपचारकै क्रममा रहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन् । उनले पूर्ण निको भएपछि आफूमाथि उठेका प्रश्नबारे थप प्रष्ट पार्ने बताएका छन् । सामाजिक सञ्जाल र मिडियामा आफूबारे भ्रामक समाचार सम्प्रेषण भएको भन्दै उनले भ्रममा नपर्न आग्रह गरेका छन् ।

आफूसमेतको सहभागितामा अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने दलको निर्णयप्रति प्रतिवद्ध रहेको उनको भनाइ छ । उनले भनेका छन्, ‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण निर्णयहरु प्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णयप्रति प्रतिबद्ध छु ।’

बुधबार प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी भइरहँदा प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएका थिए । उनलाई सत्ता पक्षले अपहरणको शैलीमा अस्पताल पुर्याएर बन्धक बनाएको जनमोर्चाले दाबी गरेको छ ।

टिप्पणीहरू