जब कमरेडहरु कम रेटका भए…

जब कमरेडहरु कम रेटका भए…

– सुजन प्रेमी

देशमा राणा शासन हुँदै बहुदल आएपछि कम्युनिष्ट पार्टीको एकाएक चर्चा चल्न थाल्यो । नेपालमा भइरहेको व्यवस्थाभन्दा फरक विचारधारा बोकेको कम्युनिष्ट पार्टीलाई अवसर र चुनौती दुवै थियो ।

देशको शासनसत्तामा हात पुर्याएको नेपाली काँग्रेसलाई पुँजीवादी पार्टी भनिन्थ्यो भने कम्युनिष्टलाई सर्वहारा पार्टी अर्थात् दुःखी र निमुखाहरुको पार्टी भन्न थालियो । काँग्रेसको ‘जय नेपाल’ को सम्बोधनमा कम्युनिष्टको ‘लाल सलाम’ र ‘अभिवादन’ मिसिए । देशमा फरकपनको स्वाद चखाएका कम्युनिष्टले आफ्ना सहयात्री आस्थावानहरुलाई ‘कामरेड’ वा ‘कमरेड’ भनेर सम्बोधन गर्न थाले । साधारणतयाः ओइ फलानो भन्नुभन्दा सगोलमा कमरेडभन्दा साइनो खुट्याउनु नपर्ने र सबैलाई समान हुने भएकाले ‘कमरेड’ शब्द पनि ओजिलो थियो ।

साधारणतयाः ओइ फलानो भन्नुभन्दा सगोलमा कमरेडभन्दा साइनो खुट्याउनु नपर्ने र सबैलाई समान हुने भएकाले ‘कमरेड’ शब्द पनि ओजिलो थियो ।

धेरै टाढा जानु पर्दैन तर, कम्युनिष्टका धरोहर मानिएका तत्कालीन एमाले नेता मदन भण्डारीसम्म चैँ पुग्नैपर्छ । जनआन्दोलन २०४६ मा वाममोर्चाबाट सक्रिय रहेका भण्डारीले कम्युनिष्टको साख जोगाउन ठूलै भूमिका खेल्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) र मनमोहन अधिकारीद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) एकीकरण गरी नेकपा (एमाले) बनाउन भण्डारीको महत्वपूर्ण भूमिका देखिन्छ । कम्युनिष्ट आएपछि जनताको स्वतन्त्रता खोसिन्छ रे भन्दै एक पक्षले हल्ला फिजाउँदै गर्दा मदन भण्डारीको उदय हुनुले जनतामा आशा पलाएको थियो ।

देशमा अशक्त, अपाङ्ग, बृद्धवृद्धाहरुलाई सरकारले पाल्नुपर्छ भन्ने हेतुले कम्युनिष्टले नै सामाजिक सुरक्षा भत्ताको थालनी गरे । दुई पैसा देख्न गोठ रित्याउनुपर्ने गाउँका बूढाबुढीले सित्तैमा पैसा पाउने भएपछि मख्ख मात्रै परेनन् युगौँदेखि काँग्रेसको रुखमा ल्याप्चे लगाएकाहरुले कम्युनिष्टहरुले गर्छन् भन्न थाले र भोट पनि उतै धस्काइदिए ।

जुट र फुटको पीडा मज्जाले भोगेका कम्युनिष्टहरु नेकपा मसाल, नेकपा एमाले, नेकपा माओवादी नाम धारण गरी कामरेड बनिरहे । कम्युनिष्टको साझा उद्देश्य सामन्तवाद, दलाल–नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने हो तर एउटै उद्धेश्य बोकेका कामरेडहरुको विचार चाँहि किन फरक बन्यो ? कम्युनिष्टकै खोल ओडेर सैयौँ नामधारी कम्युनिष्ट भएर लाल सलाम र अभिवादन गर्दा इतिहासलाई कता हुत्यायौँ त्यो भने उनीहरुलाई नै थाहा छैन ।

जहाँबाट कम्युनिष्ट शासन जन्मियो त्यो देशको विकास हेर्दा नेपाली पनि लोभिए अनि भन्न थाले विकासले मुहार फेर्न कम्युनिष्ट व्यवस्था अनिवार्य छ । त्यहि आवश्यक देखेर कम्युनिष्टको नारामा बत्तिको उज्यालोमा पुतली होमिएझैँ जनता होमिए । एमालेपछि माओवादीको पालो आयो चर्चा कमाउने ।

२०६४ सालको चुनावमा सर्लप्पै मत ल्याएर माओवादी ठूलो पार्टी बन्यो । नबनोस् पनि कसरी ? देश समृद्ध बनाउने महान् नारा यसैले बोकेको थियो । सत्ता प्राप्तिपछि माओवादीले ती नारा भुल्दै गयो अनि माओवादीको नारामा लोभिएकाहरुले दिनदिनै पछुताउन थाले । कम्युनिष्टले बाँडेको खोक्रो नाराले समृद्धी आउँदैन भनेर जनताले सोच्न थाले तर अब विकल्प पनि के छ त ? पुँजिवादी र समाजवादीको नारा बाहेक सबै आचरण मिलेपछि ।

फरक नाराले उचाइ बढाएका कमरेडहरुको महत्व दिनानुदिन कम हुन थाल्यो । सर्वहाराको नारा बोक्नेहरु नै स्वार्थमा लिप्त भएपछि जनताको मन छियाछिया भयो । जनताको पार्टी भनेर जनतामाथि नै शासन गर्ने कम्युनिष्टहरुको महत्व अरुले घटाएका होइनन् यिनै कम्युनिष्टका खोल ओडेर पुँजीवादमा लिप्त शासकहरु आफैँले घटाएका हुन् ।

जनताले राजनीतिलाई महत्व दिनै छाडेका छन् । राजनीतिलाई घृणित खेलको रुपमा हेरिन थालेको छ । कम्युनिष्ट शासनलाई जहानिया शासनको रुपमा परिभाषित गर्न थालिएको छ । यसो गर्दा कमरेडहरुको उचाई र महत्व पनि घटिरहेको छ । कमरेडहरु अहिले कमरेट अर्थात न्यून मूल्यको अझै भन्दा कम मल्यविहीन भएका छन् ।

राजनीतिप्रति नै वितृष्णा फैलाएको काँग्रेसको प्रवृत्तिबाट विछिप्त भएर कम्युनिष्ट शासन ल्याएको देशमा जनता अहिले आफूले आफैँलाई धिक्कारिरहेका छन् । यस्तो अवस्थामा सर्वहारा वर्गको राजनीति गर्छु भन्नेले लाज मान्नुपर्ने होइन र ? खोई त मूल्याङ्कन गरेको ?

टिप्पणीहरू